मंगलबार, असोज ५, २०७८   ०४:२२:०७
गृहपृष्ठ .   फोटो ग्यालरी

सिक्टा हेडवर्कमा १८ गेट, अधिकांश जीर्ण

अगैया(बाँके) २५ मंसिर: सिक्टा संचाई आयोजनाको मूल हेडवर्कमा अहिले पनि अठार वटा गेट रहेका छन् । करोडौ लगानीमा निर्माणमा गरिएको मूल हेडवर्कमा रहेका यी गेटदेखि अन्य संरचनाहरू संरक्षणको अभावमा जीर्ण हुँदै गएका छन् । आठ हजार चार सय ५५ क्युमेक्स क्षमता रहेको सिक्टाको मूल हेडवर्कसमा रहेका ती गेट दुई वर्षअघि जडान गरिएको स्थानीय अगैयाबासीले बताएका छन् । आयोजनाको बाँकेको ढकेरीस्थित चंगाई नाला हेडर्वसदेखि १७ दशमलव ७ किमिसम्मको आइसिबी–१ ठेक्काअन्तर्गतको पहिलो खण्ड र मूल नहरको १७ दशमलव ७ किमिदेखि ३५ किमिसम्मको आइसिबी–२ ठेक्काअन्तर्गत दोस्रो खण्ड अत्यन्त जीर्ण बनिसकेका छन् । मूल नहरको संरचनामा कतै चिरा परेको देखिन्छ त कतै ठूल्ठूला खाडल परेका छन् । आइसिबी–२ ठेक्काभित्र पर्ने नहरको करिब ५ किमि क्षेत्रमा घुलनशील माटो प्रयोग भएको छ । निर्माण गर्ने क्रममा घुलनशील माटोको विषयमा जानी–जानी आयोजना कार्यालय र ठेकेदारले लापरबाहीपूर्वक काम गरेको स्थानीय बासिन्दाले बताउँदै आएका छन् । अहिलेकै अवस्थामा सिक्टाको नहरबाट पानी सञ्चालन गर्न सकिँदैन । आयोजनाको मूल नहर निर्माणका लागि सरकारले अहिलेसम्म परामर्शदाता कम्पनीका लागि ठूलो बजेट खर्च गरिसकेको छ । परामर्शदाताको भूमिका प्रभावकारी देखिँदैन । उक्त कम्पनीले पाएको जिम्मेवारी बहन गर्न सकेको छैन् । सिक्टामा काम गरेका परामर्शदाता कम्पनीहरू डिपिआर, डिजाइन रिभ्यु, सुपरभिजन जस्ता काममा गैरजिम्मेवार बनेको अनुगमनले समेत देखाएको छ । नियमअनुसार आयोजनाको सर्बे, डिजाइन र स्टिमेट तयार गर्न पहिलो चरणमा र ठेक्का सम्झौतापछि डिजाइन रिभ्यु, सुपरभिजनका लागि करोडौँ खर्चेर परामर्शदाता छनोट गरिएको हो । आयोजनामा अहिलेसम्म काम गरेका परामर्शदाताले सम्झौताअनुसार जिम्मेवारी पूरा नगर्दा ठेकेदारले लापरबाही गर्ने मौका पाएको खुलेको छ । आयोजनाको कुल ४५ दशमलव २ सय ५० किमि पश्चिम मूल नहरको डिपिआर, डिजाइन रिभ्यु र सुपरभिजनका लागि चारवटा कम्पनीले विभिन्न चरणमा सम्झौता गरी काम गरेका थिए । पूर्व–पश्चिममा फैलिएको मूल नहरलाई गलत डिजाइनका कारण चुरे क्षेत्रबाट बगेर आउने पानीले पनि वर्षेनि क्षति पु¥याउँदै आएको छ । गलत डिजाइनकै कारण नहरलाई भविष्यमा ठूलो क्षति पु¥याउन सक्ने र त्यसले गाउँ प्रभावित हुन सक्ने भन्दै स्थानीयले पहिलेदेखि नै ठूल्ठूला पानीको निकास दिनुपर्ने सुझाव दिएका थिए । स्थानीयको सुझावलाई आयोजनाका तत्कालीन निर्देशक र परामर्शदाताले चासो दिएनन् । बरु आयोजनाले झन् चुरे क्षेत्रबाट बगेर आउने खोलाको प्राकृतिक निकास बन्द गरिदिएको थियो । जिल्लामा हुने गरेका सानातिना विकास निर्माणको कामप्रति चासो राख्ने गरेका जिल्लाका राजनीतिक दल र सांसदहरू सिक्टाबारे मुख खोल्दैनन् । राजनीतिक दल र सांसदले सिक्टाकै सवारी साधन र इन्धन प्रयोग गर्ने गरेका छन् ।


  बुधबार, मंसिर २६, २०७५
थप सामाग्री