‘पर्यटन प्रर्बद्धनमा नीति एकातिर काम अर्कोतिर’


‘पर्यटन प्रर्बद्धनमा नीति एकातिर काम अर्कोतिर’

नेपालगन्ज १६ साउन : नेपाल प्राकृतिक स्रोतको धनी मूलुक भएकै कारणले पनि पर्यटन क्षेत्रको राम्रो सम्भावना छ । सम्भावना हुँदाहुँदै पनि विविध कारणबाट पर्यटन क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने थियो, त्यो भइरहेको पाइँदैन ।

नेपालको पर्यटन क्षेत्रको अवस्था, चुनौती र समस्यासँगै बोकेको प्रचुर सम्भावनाका विषयमा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल अब राजनीतिबाटै पर्यटनलाई अगाडि बढाउनुपर्नेमा जोड दिन्छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम केन्द्रित पर्यटन गतिविधि बढाउन लागि परेका सिग्देल नेपालको पर्यटन क्षेत्रको कुरा गर्दा सरकार एकातिर र पर्यटन व्यवसायी अर्कातिर रहेको तितो अनुभव साट्छन् ।

‘नीति एकातिर छ अनि काम अर्कोतिरबाट भइरहेको छ । नीति, कार्यक्रम, पर्यटन व्यवसायी तारतम्य मिलेको छैन । त्यसको लागि एकद्वार प्रणालीबाट नीति, कार्यक्रम र नेपालको परिस्थितीलाई हेरेर सरकार पनि अनुकुल भएर हिँडुनुपर्छ’ उनको जोड छ ।

व्यवसायी पनि सरकारले ल्याएका नीतिलाई अनुकुलतामा ढाल्नुपर्नेमा जोड दिदैं उनी भन्छन्–‘यो चाहिँ व्यवथापकीय पक्ष भयो । अर्को कुरा हामी कोभिडका कारण लथालिंग भएका छौं । यो वर्षमा पनि पछिल्लो समयको जस्तो आन्तरिक पर्यटन भनेर अभियान देशभर चल्यो, पर्यटन क्षेत्रमा लागेका व्यवसायीले अंगिकार गरे, त्यसले केही राहत भने भएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

‘पर्यटकीय गतिविधि भनेको घुमफिरसँगसँगै अन्त्यमा गाँस र बाँसको पनि कुरा आउँछ । यसको लागि पर्यटन र कृषिलाई सँगसँगै लिएर जानुपर्छ’ सिग्देल थप्छन्–‘नेपालमा पर्यटन व्यवसायको कुरा गर्नुपर्दा होटल व्यवसाय एक नम्बरमा आउँछ । तर, होटललाई कृषि क्षेत्रसँग बाधिदिनु पर्दछ । फाइभ स्टार होटललाई सबै मापदण्ड तोकिएको छ । तर, तरकारीहरु कहाँबाट ल्याउने, कृषि सामाग्री कहाँबाट ल्याउने, कस्तो सामग्री ल्याउने भन्ने कुरामा चाहिँ बाँधिनुभएको छैन । फाइभ स्टार होटललाई कृषिलाई पनि बाँधिदियो भने कृषि र पर्यटनसँगसँगै अगाडि जानसक्छ ।’

‘पछिल्लो समय पर्यटनको सम्भावनाबीच पर्यटन गतिविधि बढेर आएकोछ । हामीले देशभर ट्राभल मार्टहरु ग¥यौं । यसले समग्रमा नेपालको पर्यटकीय क्षेत्र भाइब्रेट गर्न मद्त पुगेकोछ । यस्तै खालका गतिविधि आगामी दिनमा पनि हुनसक्यो र नेपालका सबै गन्तव्यको पहिचान, प्रचारप्रसार गर्न सक्यौं भने नेपाल पर्यटन क्षेत्रमा १ नम्बरमा आउँन सक्छ’ सिग्देलले बताए ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि धेरै दृष्टिकोणबाट यसको सम्भावना नियाल्न सक्छौ । अहिले पश्चिमी देशमा संस्कृतिको पढाई हुन थालेको छ । संस्कृतको प्रार्दुभाव कहाँ भयो ? यस विषयमा विद्यावारिधी गर्न आउने हो भने, नेपालको आयुर्वेदको कुरा गर्नुपर्दा बेसारको यत्रो धेरै प्रचार भयो, हाम्रो पूर्वप्रधानमन्त्री बोल्दिनाले, कोरोनाको दबाई भनेर विश्वभर खाइयो । जडिबुटीकै कुरा गर्नुपर्दा यसको पनि खोज गर्ने हो भनेको हाम्रै हिमाल हो, हाम्रै पहाड हो । यी कुराको प्रचारप्रसार हुनुपर्छ उनी भन्छन् ।

‘अर्को कुरा योगविद्या हो, बाबा रामदेवको योगविद्या विश्वभर लागु भएको छ । हरेक ठाउँमा योगा गरिन्छ । पश्चिमी देशमा यसको पुरै प्रसार भएको छ । तर, यसको पनि सोधखोज गर्ने हो भने ऋषिमुनीले गरेको चिज हो नि त’ सिग्देल भन्छन्–‘ऋषिमुनीहरुले कहाँ गरे त ? हाम्रै खोलानालामा, धार्मिक धरोहरमा योगप्राणायम गर्थे । यसको सोधखोज गर्न पनि विदेशी नेपाल आउने सम्भावना छ । विद्यावारिधी गर्ने सम्भावनाको प्रचारप्रसार ग¥यौं भने त्यसको लागि मिट गर्ने हामीले ठाउँ दियौं भने यो किसिमले पनि हामीले प्रचारप्रसार गर्न सक्छौं ।’

‘पर्यटनको विषयमा रुचि राख्ने व्यक्तित्वसँग चर्चा कम छ तर हामी गर्छौं । यसलाई रियलाइजेशन गर्ने हो भने तथ्य पनि भेटिन्छ । धार्मिक दृष्टिकोणले पनि नेपाल त्यत्तिकै महत्वपूर्ण छ । भौगोलिक र प्राकृतिक रुपले कुरा गर्ने हो भने हामीसँग प्रचुर मात्रामा छ । अरु देशमा कृत्रिम कुरा प्राकृतिक जस्तो देखाइन्छ हामीसँग प्राकृतिक रुपमा नै छ ।’ सिग्देल अगाडी थप्छन्–‘नेपालको रहनसहन, जातजाति, विभिन्न धर्मसंस्कृति, भेषभुषा जुन विविधता छ त्यो लोभ्याउने किसिमको छ । विश्वका त्यस्ता सम्पदाको कुरा गर्नुहुन्छ भने नेपालमा थुप्रै सम्पदा विश्वमा सूचिकृत भएका छन् । ती कुराको प्रचारप्रसार हुन सक्छन् । यसको प्रचारप्रसार हामी बाहिर गएर होइन कि विदेशका मानिसलाई यहाँ बोलाएर यसको प्रचारप्रसार गर्नुपर्छ ।’

पर्यटनको गतिविधि बढाउन नेपालमा अझ थुप्रै लगानी र ब्यवस्थापनको खाँचो छ, सिग्देल भन्छन्–‘स्वदेशी तथा विदेशी पर्यटकका लागि पछिल्लो समयको गन्तव्य भनेको निकुञ्ज क्षेत्रमा देखिएको छ । वाइल्डलाइफको कुरा । रारा, से–फोक्सुण्डोको कुरा । यिनीहरुलाई पर्यटकीय गन्तव्य मानिएको छ, तर रारामा गएर बस्न खाने व्यस्था भने छैन । रारा नगएको मान्छेले पोखराको लेकसाइड भनेर बुझ्छ । रारामा बस्ने, खाने व्यवस्थाको विकल्प नहुँदासम्म त्यसलाई नखोलौ । रारा खोल्नका लागि कम्तिमा गएको पर्यटकले दिँउसोभरी रारा घुम्यो, पहाड चढ्यो भने पनि साँझ फर्किएर आइसकेपछि सुत्न र खान त राम्रो पाउँनुपर्यो नि त ।’

नाटा बाँके च्याप्टरले पछिल्लो समय नेपालगन्ज र वरपरका पर्यटन व्यवसायीलाई गोलबद्ध गर्ने काम गरेकोछ । यो एक महत्वपूर्ण विषय हो । यसका साथसाथै नेपाल टुरिजम बोर्ड, स्थानीय सरकार, प्रदेशीय सरकारसँग मिलेर पर्यटकीय गतिविधिहरु गरिदैँ आएकोछ ।

पर्यटन प्रर्बद्धनका लागि यसअघि टुर दि ठाकुरद्वारा, नेपालगन्ज–पोखरा हवाई उडानको सुरुवात, वेस्टर्न ट्राभल मार्ट सम्पन्न भइसकेकाछन् । पश्चिम नेपालको पर्यटन प्रबद्र्धन र गतिविधि बढाउन लुम्बिनी, कर्णाली र सुदूरपश्चि प्रदेश मिलेर जानुपर्छ । नेपालगन्ज पश्चिम नेपालको ट्रान्जिट भएकै कारण यी क्षेत्रको पर्यटनलाई बढावा गर्नुको विकल्प छैन ।

नाट्टा बाँके च्याप्टरले पछिल्लो पटक वेस्टर्न ट्राभल मार्ट सम्पन्न ग¥यो । जहाँ भारतका विभिन्न सहरबाट ७० टुर–अपरेटरलाई बोलाएर बाँके, बर्दिया र वरपरको क्षेत्रको पर्यटन व्यवसायीसँग एकआपसमा चिनजान गराइयो ।
यसका साथै नेपालगन्जमा पर्यटन तथा होटल अध्ययन प्रतिष्ठान न्याथम, जहाँ पर्यटन क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्ने एउटा विद्यालयको स्थापना भएको छ । त्यो पनि पर्यटन प्रर्बद्धनको एउटा उपलब्धी हो ।

यस्तै नेपालगन्जबाटै अन्तरप्रदेश हवाई उडान सुरु भएको छ । विशेष गरेर पोखराबाट बढी हुन्छ । हामीले दुई वर्ष अगाडि नाट्टा बाँकेकै पहलमा पहिलो उडान नेपागन्जदेखि पोखरा सुरु भएको हो ।

‘हामीले १६ ओटा चार्टर्ड–फ्लाइट लिएर सुरु गरेका थियौं । अहिले चाहिँ संस्थागत भएको छ । अरु एयरलायन्सले पनि उडान सुरु गर्नुभएको छ ।’ सिग्देल थप्छन्–‘नेपालगन्जबाट बुद्धले एटीआर चलाइरहेको छ । दैनिक ५० यात्रु जहाजमार्फत् नेपालगन्जबाट पोखरा र पोखराबाट नेपालगन्ज आइरहेका छन्, यो अर्को उपलब्धि हो ।’

बाँकेसहित छेउछाउँका गन्तव्यको परिचय गराउँने काममा लागि परेको नाट्टा बाँकेले छिट्टै पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिरमा सन्ध्याकालिन आरतीको प्रारम्भ गर्दैछ । भने आगामी मंसिरमा गर्नेगरि रारा फेस्टिभलको तयारी अघि बढेकोछ ।

पर्यटन प्रर्बद्धनका लागि कर्णाली, भेरी, राप्तीमा केही गर्न सकिन्छ । यसका साथसाथै यस क्षेत्रमा मठमन्दिर थुप्रै छन्, आस्था राख्नेहरुलाई हाम्रो मन्दिरसम्म पुर्याउन सक्नुपर्छ । त्यस्तै वन्यजन्तुको दृष्टिकोणले वन्यजन्तुको संरक्षण गर्दै यिनीहरुको अवलोकन भ्रमणलाई अझै अनुशासित र मर्यादित बनाउँन सक्छौ । यो सरकारसँग पर्यटन क्षेत्रसँग काम गरेका सघसंस्थासँग मिलेर जाने कुरा हो । नीतिहरु सहज भयो भने काम गर्न सहज हुन्छ ।

पर्यटन क्षेत्रमा क्रमश गर्ने थुप्र्रै कुरा छन् । पर्यटन भनेको हल्ला गर्ने, प्रचारप्रसार गर्ने हो । हामी छिट्टै नै नेपालगन्जमा साउथ एसियाका टुर–अपरेटरलाई नेपागन्जमा बोलाएर कर्णाली र सुदूरपश्चिम घुमाएर फर्काउने अभियानमा छौं । यो अभियान सफल भयो भने यस क्षेत्रको पर्यटन विकासका लागि धेरै ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौँ ।

‘नीतिलाई सच्याउँदै, अनुकुल बनाउँदै, मैले नीतिको कुरा किन गरेको हो भने रारामा रिसोर्ट, होटल खोल्न पाइदैन । रारा निकुञ्ज हो । सरकारले भन्छ रारा घुम्न जाऔं । तर, कहाँ बस्ने कहाँ खाने । एकजना लेखकले लेख्नुभएको थियो, जुन मलाई एकदमै चित्त बुझेको थियो । पूर्वमा एकदमै हस्पीटालीटी राम्रो छ । तर, मनोरम दृश्यहरु पश्चिममा छन् । त्यहाँ अस्पिटालीटी शून्य छ । यसको मतलब के हो भने हामी पर्यटन क्षेत्रमा लागेका मानिस अतिथी सत्कार गर्न जानेका छैनौ । जाने पनि सिकेका छैनौँ । जुन चाहिँ हामीले सिक्नुपर्छ । अझ कर्णाली प्रदेशमा त जिरो छ । ग्राहकलाई कसरी रेस्पोन्स गर्ने, हाउस किपिङ कसरी गर्ने, जुन तालिम चाहिन्छ, तालिम दिएर मनोरम दृश्य र म्यानपावरलाई सँगसँगै लिएर जाने हो । यो क्षेत्रलाई अगाडि लैजान सकिन्छ ।’

पर्यटनभित्र राजनीति छिर्नु हुँदैन मेरो मान्यता हो । तर, राजनीतिबाटै पर्यटनलाई अगाडि बढाउन सकिन्छ भन्ने त्यो पनि मान्यता हो ।

म त दलभित्रै छिरेर पर्यटनबारे बृहत अभियान चलाउनुपर्छ भन्ने धारणा बोकेको ब्यक्ति हुँ । किनकी जुन दलप्रति मैले आस्था राखेको हुन्छु । त्यो पार्टीले पर्यटन विभाग गठन गर्यो अथवा पर्यटन क्षेत्रमा काम गर्न खोज्यो भने हामीलाई पनि भूमिका मिल्छ । काम गर्न सकिन्छ भन्ने न हो ।

देशको राजधानी काठमाडौँ भन्दा बाहिर पर्यटक भर्खरै आउन थालेका हुन् । केही समयअघिसम्म पोखरा हुँदै सौरहासम्म आइपुगेका थिए । अब त्यसो रहेको छैन । देशभर पर्यटन चलायमान भएका छन् । तर, पार्टीले त्यस किसिमको पर्यटन विभाग पर्यटकीय गतिविधि गर्छ भने राजधानी केन्द्रित होइन कि मोफसलमा पनि काम गर्ने ब्यक्तिलाई समेट्नुपर्छ भन्ने धारणा हो ।

पर्यटन क्षेत्रमा परम्परागत रुपमा काम गर्ने व्यापारीको एकप्रकारको सिण्डीकेट छ । उनीहरुबीच मात्रै सम्वाद हुने, कार्यक्रम हुने, के कार्यक्रम हुन्छ त्यो पनि सबैलाई थाहा छैन । बाँकी क्षेत्रमा सम्वाद नहुने, हामी त्यो कुरा चिर्न लागेका छौं । त्यसैले राजनीतिबाटै पर्यटनलाई अगाडी बढाउन ढिला गरिनु हुदैन ।

अहिले प्रदेश सरकार र संघीय सरकारबीच तादम्यता मिलेको छैन । एकातिर स्थानीय सरकारलाई शक्तिशाली बनाइएको छ तर, कतिपय कुरा संघीय सरकारले आफै राखेको छ । जुन लोकलस्तरमा गर्न सक्दैन, पाइदैन । जस्तै निकुञ्जका कुरा बाझिँएका छन् । पर्यटन, कृषिका कुरा त्यही गएर ठोकिएका छन् । बाझिएका छन् । यी बाझिने कुरालाई सहज बनाउँनुपर्यो ।

उदाहरणका लागि खप्तडमा २२ वटा पाटन छन् । हामी गल्फकोट देख्छांै नि त्यहाँ प्राकृतिक रुपमा गल्फकोट छ । तर, त्यो क्षेत्र निकुञ्ज हो । अब खप्तड नजिकै विमानस्थल बनाइदिने, त्यसको प्रचारप्रसार गर्ने, गल्फकोटको पर्याप्त ठाउँ छ भने त्यसको अनुसन्धान गर्ने, गल्फकोट सञ्चालनमा ल्याउनका लागि सरकारले पहल गर्ने, देशविदेशमा पनि यसको प्रचारप्रसार गर्ने हो भने जति पनि गल्फ खेलाडी सोझै जहाज लिएर हाम्रो देशमा गल्फ खेल्न आउँछन् ।

हिमालको तल, प्राकृतिक पाटनमा गल्फ खेल्न पाइन्छ । हामी डलर सञ्चित गर्न सकेनौ भनेर रोइरहेका छौं । दैनिक एक जहाज मान्छे नेपालमा गल्फ खेल्न आए भने कल्पना गरौं न हामी कति डलर आर्जन गर्न सक्छौ ?
यस्तै चितवनको नारायणी नदीमा मोटरबोट चलाउन सक्छांै, चलिरहेका छन् । तर, त्यहाँ भन्दा राम्रो मोटरबोट कहाँ चल्छ भने बर्दियाको चिसापानीमा । चिसापानीमा मोटरक्रुज राख्छु भन्दा पनि पाइँदैन । निकुञ्ज बाहिर राख्छौं भने पनि पाइदैन । बफरजोनमा पनि पाइदैन । यसका लागि कानून त बनाइदिनुपर्यो ।

यता बाँकेको कुरा गर्दा राप्ति नदीको सबैक्षेत्र बाँके राष्ट्रिय निकुञ्जमा छ । पर्यटकीय गतिविधि निकुञ्जमा हुन्छन् । तर, मोटरक्रुज र ¥याफ्टिङ गर्न लाग्यो भने कानूनी अड्चन आँउछ ।
(नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलसंग सेतोखरीले गरेको कुराकानीमा आधारित आलेख)