शुरु भयो आगलागी श्रृङ्खला : नरैनापुरका १२ घरगोठ जलेर नष्ट


शुरु भयो आगलागी श्रृङ्खला : नरैनापुरका १२ घरगोठ जलेर नष्ट

File Photo

नरैनापुर (बाँके) : बाँकेको नरैनापुर अहिले फेरि आगोको चपेटामा छ । नरैनापुर आगोको चपेटामा परेको यो पहिलो पटक भने होइन । नरैनापुरमा वर्षेनी आगलागी हुन्छ । धन जनको क्षति हुन्छ र पुनः फुसको छानोका घर बन्छन् ।

यस गाउँपालिकाका धेरै जसो वस्तीमा गरिब तथा विपन्न परिवारको बाहुल्यता छ । त्यही घना वस्तीमा फुसको छानो भएका घरकै कारण आगलागीले वर्षेनि अनाहक ठूलो धन जनको क्षति हुँदै आएको छ ।

चैत्र महिनाको अन्तिम सातातिर बाँकेको पूर्वी क्षेत्र नरैनापुरमा आगलागी भएकोछ । गर्मीयामको समयमा नरैनापुरमा हरेक वर्ष आगलागी हुने गरेको छ । योसंगै बाँकेमा आगलागीको श्रृङ्खला शुरु भएकोछ ।

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर– ४ स्थित कृष्णनगर गाउँमा सोमबार दिउँसो आगलागी भएको छ । उक्त गाउँमा आगलागी भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्शन रुपन ज्ञवालीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

आगलागीबाट १२ वटा घर र ४ वटा बाख्रा जलेको स्थानीय प्रहरीले जनाएको छ । करिव डेढ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगोलाई नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्थानीयले नियन्त्रणमा लिएका थिए ।

ईलाका प्रहरी कार्यालय भोजपुरका ईन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमका अनुसार आगलागीबाट कुनै प्रकारको मानवीय क्षति हुन नपाएको र घट्नाबारे थप अनुसन्धान भइरहेको बताए । उनले सो घटनाको क्षतिको विवरण संकलन शुरु गरिएको सेतोखरीलाई जानकारी दिए ।

प्रयाप्त जनशक्ति र स्रोत साधन नभएका कारण वर्षेनी बाँकेमा हुने आगलागीको घटना नियन्त्रणमा समस्या हुदैँ आएकोछ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसकर्मी, स्थानीय र नरैनापुर गाउँपालिकाको दमकलको सहयोगमा करिब डेढ घण्टाको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।

त्यसो त बाँकेको सबैभन्दा बढि आगलागी हुने क्षेत्रका रुपमा परिचित नरैनापुरमा हुने आगलागी घटना न्यूनिकरण गर्न स्थानीय स्तरदेखि केन्द्रसम्म पहल नभएको भने होइन । तर, नरैनापुरमा वर्षेनी हुने आगलागीको दीर्घकालिन समाधानका लागि सरकारको ध्यानाकर्षण हुनसकेको छैन ।

आर्थिक विपन्नता भएकै कारण यस समुदाय र क्षेत्रका मानिसले टीनको छानो भएको घर बनाउन सकेका छैनन् । जसकारण प्रत्येक वर्ष आगलागीको समस्याले पिरोली रहेका हुन्छन् । प्रत्येक वर्ष आगलागीका घटना हुन्छन् । संघ, प्रदेश र स्थानीय सरकार लगाएत विभिन्न संघ संस्थाहरुले केही नाना र खाना पनि दिन्छन् ।

तर, उनीहरुले खोजेको टीनको छाना भएको घर कहीँ कतैबाट पाउँदैनन् । त्यसैले वर्षेनी आगलागीको समस्याले उनीहरुलाई सताउने गरेको छ । आगलागीले त्यस क्षेत्रका महिला र बालबालिका बढी जोखिममा छन् भने प्रभावित पनि ।

पटक–पटक यस्ता समस्या आउने भए पनि समस्याको उचित समाधान खोज्न नसकिएका कारण यो समस्या दोहोरिरहने स्थानीयबासी त्रिभुवनप्रसाद यादव बताउँछन् ।

यो समस्याको दीर्घकालीन समाधानको लागि संघ, प्रदेश र स्थानीय तह मिलेर वस्तीमा टीनको छाना लगाउन आवश्यक रहेको उनको भनाइ छ । उनले अब आउने बजेट र नीति तथा कार्यक्रममा गाउँपालिकाले प्राथामिकताका आधारमा टिनको छाना बनाउन सके आगलागीको समस्या समाधान हुनसक्ने तर्क राखे ।