नेपालगन्ज २ कार्तिक : बेमौसमी वर्षाले यतिबेला देशको पश्चिम क्षेत्रमा वितण्डा मच्चाइरहेकोछ । आईतबारदेखि भएको अविरल वर्षाले बाढी–पहिरो गएकोछ । नदी तटिय क्षेत्रमा दुबान र कटान कायमै रहेकोछ ।
वर्षाका कारण पाकेर पहेँलपुर बनेको धानाबली भित्र्याउनै लाग्दा खेतमै धान भिजेकोछ भने काटेर खेतमै राखेको धान डुबेको छ । अधिकांशको धान वर्षासंगै आएको डुवान र बाढिले बगाएकोछ । यस्तोमा वर्षभरी खेती गरि आफ्नो गुजारा चलाउने किसान बढि पीडित बनेकाछन् ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अझैं केही दिन वर्षा जारी रहनेछ । यस्तोमा काटेर खेतमै राखिएको र काट्न तयार रहेको धान भिजेपछि उक्त धानलाई कसरी बचाउने भन्ने चिन्ता र पीडाले सताइरहेकोछ ।
यसरी पानीमा डुबेको धान बचाउनुहोस् ।
१. सबैभन्दा पहिले खेतमा जमेको पानीको निकाल्नुहोस् ।
२. भिजेको धानलाई सुख्खा ठाउँमा सानुहोस् ।
३. पानीमा डुबेको वा भिजेको धानलाई धेरै तातो वा धेरै चिसो हुन नदिने । नत्र उम्रन सक्छ र धान नोक्सान हुन्छ ।
४. सामान्य तापक्रममा रहनका लागि धानलाई चलाइरहने अर्थात उल्ट्याई पल्ट्याइ गरिरहने ।
५. नकाटेको तर ढलेर खेतमा जमेको पानीमा धान डुबेको भए खेतबाट पानी निकाल्ने ।
६. मौसम सफा नहुँदा सम्म धान काट्दै नकाट्ने । काट्नै परे थोरै मात्रमा काट्दै झार्दै गरि सुरक्षितसाथ भण्डारण गर्ने ।
यसरी बेमौसमी वर्षामा भिजेको धानलाई बचाउन सकिन्छ । यद्यपी पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले उत्पादन घट्ने र लगानी डुब्ने किसानको चिन्ता छ । पानीमा भिजेको धान कुट्दा टुक्राटुक्रा पर्ने र खान नमिल्ने हुन्छ ।
काटेको धान भिज्दा धानमा दाग लाग्ने, कुट्दा चामल टुक्रिने र लामो समय भण्डारण गर्न नसकिने हुन्छ । काटेर खेतमा रहेको धानलाई अन्त खाली ठाउँ या ओत लाग्ने जग्गा भए निकालेर राख्न र जग्गा नभए खेतमै छेउमा ठुलो खाडल बनाएर पानी तर्काउन सकिन्छ । ओस वा ढुसीले धानको गुणस्तरलाई असर गर्छ । अहिले नै कुन्यु बनाएर राख्दा गन्ध आउने भएकाले ओभानो ठाउँमा फिँजाएर राख्नुपर्छ ।