धर्म परिवर्तन गर्न बाध्य एक बंगलादेशी हिन्दू परिवार, जो केही समय मुसलमान बने


धर्म परिवर्तन गर्न बाध्य एक बंगलादेशी हिन्दू परिवार, जो केही समय मुसलमान बने

सचिन्द्र चन्द्र आइजको परिवार ।

ढाका १२ पुष : मुक्ति संग्राम (बंगलादेशको स्वतन्त्रताका लागि भएको युद्ध)को समयमा बंगलादेशमा धेरै हिन्दूहरुले धर्म परिवर्तन गर्न बाध्य भए । आफ्नो ज्यान बचाउनकै लागि उनीहरूले धर्म परिवर्तन गरेका थिए । सचिन्द्र चन्द्र आइचको परिवार सन् १९७१ मा यस्तै भयानक अवस्थाबाट गुज्रिनु परेको थियो ।

सचिन्द्र कुनै बेला मैमनसिंह शहरमा ‘सचिन सर’को नामबाट चिनिन्थे । त्यो बेला मैमनसिंह सिटी कलेजमा उनी अंग्रेजीको शिक्षक थिए ।

सचिन्द्रका अनुसार १९७१ मार्च २५ मा उनीहरुको शहरमा पनि हिन्दू र ‘अवामी लिग’का सदस्यहरुको हत्या र घरमा आगजनी भएको थियो । हिन्दू समुदायका सबै सदस्य यसबाट प्रताडित थिए । त्यसपछि उनीहरु गाउँ गए ।
‘युद्धको सुरुवातमा ३१ मार्चमा हामी सबै शिवरामपुर गाउँ गयौं,’ सचिन्द्र सम्झिन्छन्, ‘गाउँमा निकै दिन बिताएपछि हामीसँग भएको पैसा सकियो । तब, म आफ्ना मुस्लिम साथीहरूको सहयोगले शहर फर्किएर आएँ । म मुस्लिम साथीहरूकै घरमा बसेको थिएँ ।’

जीवन र जागिर बचाउन धर्म परिवर्तन

Kids Festival 2022
kanti aarogya hospital

सिटी कलेजमा कार्यरत भए पनि हिन्दू भएका कारण सचिन्द्र आफ्नो जागिरमा जान पाएका थिएनन् । ‘त्यो बेला जो प्रधानाध्यामक थिए, उनले भनेका थिए– तपाईं स्कुल कसरी आउनुहुन्छ ? जो स्थानीय छन्, जो विहारी छन्, उनीहरुले हिन्दूलाई देख्न सक्दैनन्,’ सचिन्द्र सम्झिन्छन्, ‘त्यसैले हामीमाथि कसैले जबर्जस्ती नगरे पनि ज्यान र जागिर बचाउनका लागि बाध्य भएर ठूलो मस्जिद गएर स–परिवार इस्लाम धर्म अपनाउनु परेको थियो । त्यसपछि मैले जागिरमा जान सुरु गरें ।’

त्यति बेला उनको श्रीमती, आमाबुबा, दिदीबहिनी सबैले इस्लाम धर्म मानेका थिए । सचिन्द्रकी बहिनी कानन सरकार भन्छिन्, ‘विभिन्न किसिमका दबाबका कारण हामीले आफ्नो धर्म परिवर्तन गर्नु परेको थियो। कसैले सिधासिधा दबाब दिएको होइन, तर, यस्तो परिस्थिति पैदा भएको थियो कि बाध्य भएर धर्म परिवर्तन गर्नु प¥यो । धर्म परिवर्तनपछि पनि हामीले केही समस्याको सामना गरेका थियौँ ।’

त्यही बेला कानन परिवारका एक आफन्तलाई पक्रिन केही पाकिस्तानी पागलजस्तै बनेर उनको खोजीमा लागेका थिए । जब ती आफन्तसँग कानन परिवारको भेट भयो, उनीहरूले बाँच्न मन भए मुसलमान बन्ने सुझाव दिए । अनि ती आफन्त पनि मुसलमान बने ।

‘हामी गाउँमा थियौं । गाउँबाट फेरि शहर आयौं । शहर आएपछि पनि हामी घरबाट बाहिर निस्किन सक्ने अवस्था थिएन । मेरो ठूलो दाजु आफ्नो स्कुलको जागिरमा जान पाएका थिएनन्,’ कानन सम्झिन्छिन्, ‘इस्लामी परिचय पत्र नभएमा घरबाट बाहिरै निस्किन नपाउने बताइँदै थियो । हामी घरभित्रै फसेका थियौं । हाम्रो सामुन्ने कुनै पनि बाटो थिएन, कहिलेसम्म यो किसिमको कैदमा बस्न सकिन्छ । त्यसपछि हामीले आमाबुबालाई सम्झायौं। पहिले जिउँदो त रहन पाउँ, अनि धर्मबारे सोचौंला भन्ने भयो । त्यसपछि हामीले धर्म परिवर्तन ग¥यौँ ।’

तर, धर्म परिवर्तनपछि पनि पूर्णरूपमा शान्ति नमिलेको उनी बताउँछिन् । उनीहरूलाई अनेक दबाब दिइन्थ्यो । ‘एक पटक हाम्रो सानो भाइलाई पक्रिएर लैजाने खबर आएको थियो, तब उसको ज्यान बचाउन हामीले धेरै मान्छेसँग हात जोडेका थियौं,’ उनी भन्छिन् ।

काननका अनुसार रमजानको समयमा त्यहाँका महिला समूह बनाएर उनीहरुको घरमा छिर्थे। उनीहरुले बनाएको भोजन, खानाको भाँडा सबै छरिदिन्थे । कानन परिवारलाई उनीहरु भन्थे, ‘अरे, तिमीहरूले त रोजा राख्नुहुन्न ।’
विवाहित हिन्दू महिलाका लागि सिन्दुर लगाउनु निकै महत्वपूर्ण मानिन्छ । तर, त्यति बेलादेखि जबसम्म बंगलादेश स्वतन्त्र भएन, उनीहरुले सिन्दुर लगाउन बन्द गरेका थिए ।

सचिन्द्र चन्द्र आइचका अनुसार मुसलमान बनेपछि पनि उनीहरुले फरक फरक ठाउँमा आफ्नो घर बनाउँदै स्थान फेरेर बस्नु परेको थियो । उनलाई धेरै जानकारी त थिएन, तर उनी मस्जिदमा अरुलाई हेरेर नमाज पढ्ने गर्थे । ‘पहिलो दिन उनीहरुले मलाई हात र खुट्टा धुन सिकाए,’ सचिन्द्र सम्झिन्छन्, ‘मेरा छात्रहरु थिए, उनीहरुले भन्थे– सर तपाईं अरुलाई हेरेर त्यहीअनुसार उठ्ने बस्ने गर्नुहोला । तब हरेक शुक्रबार मस्जिद जान्थे नै, कहिलेकाँही दिनमा पाँच पटकसम्म नमाज पढेको थिएँ ।’

सचिन्द्रका अनुसार रमजानको समयमा सुरुवातका केही दिन उनले रोजा राखेका थिए । त्यसपछि भने आफूले रोजा राख्न नसकेको उनी बताउँछन् । ‘त्यसपछि मैले रोजा राख्न सकिन । तर, जब म बाहिर जान्थेँ, सधैँ केही नखाई बस्ने गरेको थिएँ ।’

मुसलमानको रूपमा जागिरमा जान सुरु गरेपछि उनले छुट्टै परिचय पत्र पाएका थिए । शहरको विभिन्न भागमा रहेका चौकीहरूमा उनले प्रायः आफ्नो मुस्लिम परिचयको प्रमाण पत्र देखाउनु पर्थ्यो ।

पञ्जाबीहरुको सामुन्ने पर्नासाथ ‘तँ हिन्दू हो कि मुस्लिम ?’ भनेर सोधिन्थ्यो । उनी मुस्लिम भएको जवाफ दिन्थे । पञ्जाबीहरुले उनलाई ‘सूरा’ (कुरानको अंश) सुनाउन भन्थे । सचिन्द्र सम्झिन्छन्, ‘मैले फातिहा जबानी सूरा याद गरेको थिएँ । मैले सुरुवा सुनाउन सुरु गरेपछि उनीहरुले मलाई जान भन्थे ।’

धर्म परिवर्तनको ग्लानी

सचिन्द्र देश स्वतन्त्र भएकै दिन आफूले आफ्नो धर्म फिर्ता पाएको महसुस गरेको बताउँछन् । उनी भन्छन्, ‘देश स्वतन्त्र हुनेबित्तिकै वरिपरि भएका मुस्लिम महिला दौडिदै आएर मेरी आमा, पत्नी र बहिनीको निधारमा सिउँदो लगाइदिए । हामी फेरि हिन्दू भयौं ।’

कानन सरकारका अनुसार मैमनसिंह (बंगलादेशको शहर) स्वतन्त्र भएको भोलिपल्टै उनीहरु आफ्नो शहरमा भएको घर फर्किए । त्यो दिन उनीहरूको घर मालिककी पत्नीले सिन्दुरको डब्बा लिएर आमा र उनको सिउँदोमा सिन्दुर लगाइदिएकी थिइन् ।

‘हामीले केही पललाई धर्म परिवर्तनको ग्लानी बिर्सिएका थियौं,’ उनी भन्छिन्, ‘देश स्वतन्त्र हुनसाथ हामीलाई आफ्नो धर्म फिर्ता मिलेको थियो ।’

उनका अनुसार हिन्दू धर्ममै फर्किनका लागि उनीहरुले कुनै पनि किसिमका धार्मिक नियम वा प्रायश्चित गर्नु परेको थिएन । सचिन्द भन्छन्, ‘देश स्वतन्त्र नभएको भए, सायद हामीले आफ्नो अस्तित्व खोज्न पाउँदैन थियौं ।’

-बीबीसी हिन्दीबाट भावानुवाद । -नेपाल लाईभबाट