नेपालगन्ज–कोहलपुर सडकखण्ड
नेपालगन्ज : सडकहरू ‘मृत्युमार्ग’ बन्ने क्रम रोकिएको छैन । सडक यात्राका क्रममा वर्षेनी सयौं निर्दोष नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने जुन अवस्था छ । त्यसको कारण पहिल्याउन गम्भीर बहस आवश्यक देखिएको छ ।
सरकारको सडक सुरक्षाप्रतिको संवेदनहीनताले कहीं न कहीं दुर्घटना बढाउने कारक भएको छ । सडक सुरक्षा गर्ने पहिलो दायित्व राज्यको हो । सडक गुणस्तरीय र यात्रा सुरक्षित छ कि छैन ? पूर्वाधारअनुसार सडक निर्माण भएको छ कि छैन ? त्यो हेर्ने सम्पूर्ण जिम्मा राज्यको हुने जानकार बताउँछन् ।
करिब २६ वर्षअघिको सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र २० वर्षअघिको सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ का आधारमा नेपालमा यातायात व्यवस्थापन भइरहेको छ, जुन समयसापेक्ष छैन ।
नेपालगन्ज–कोहलपुर सडकखण्ड सडक सुरक्षाका हिसाबले उच्च जोखिममा देखिएको छ । सरकारले जमुनाहदेखि हिल्सासम्म त्रिदेशीय सडक सञ्जालको परिकल्पना गरिहेको उक्त सडकखण्डमा महिना दिनमै साना, मझौला र ठूला सडक दुर्घटना हुने गरेका छन् ।
राष्ट्रिय राजमार्ग अन्तर्गत नेपालगन्ज सुर्खेत रत्नराजमार्गमा पर्ने कोहलपुर क्षेत्रमा हुने गरेका यस्ता दुर्घटनाले थुप्रै नागरिक अकालमै ज्यान गुमाउँदै गएका छन् । सडक विकासका लागि सडक डिभिजन कार्यालय र सरकारको लगानीमा यसअघि फोर लेन सडक विस्तार गरिएको हो ।
तर, सडक विस्तारसँगै नेपालगन्ज कोहलपुर सडकखण्डमा दुर्घटना बढ्दै गएका छन् । यद्यपी बाँके ट्राफिक र कोहलपुर प्रहरीसँग दुर्घटनाका बारे यकिन विवरण छैन् । यो सडकमा यसअघि मात्रै एउटा ट्रकले त्रिभुवन मावि कोहलपुरमा अध्ययनरत एक बालिकालाई ठक्कर दिदाँ उनी घाइते भएकी थिइन् ।
त्यसबेला उक्त सडकमा हुने दुर्घटना न्यूनिकरणका लागि बाँकेस्थित सरोकारवालाले तत्कालिन अवस्थामा चासो देखाएपनि अहिले उक्त सडकमा हुने दुर्घटनाका बारे सडक डिभिजन, ट्राफिक लगायतका निकाय उदासिन देखिएका छन् ।
बुधबार मात्रै कोहलपुर–८, पिपिरीमा टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । रा १ ख २१८८ नम्बरको टिप्परको ठक्करबाट कोहलपुर–९, झण्डहवाका ४० वर्षीय रामपति थारुको मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गर्दा थारुलाई टिप्परले ठक्कर दिएको थियो । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।
टिप्परको ठक्करबाट मजदुरको मृत्यु भएपछि पिपिरी क्षेत्र तनावग्रस्त भएको छ । स्थानीयहरुले अहिले चक्काजाम गर्दै यातायात अवरुद्ध गरेका छन् । स्थानीयहरुले टिप्पर चालकलाई कारबाहीको माग गर्दै मृतकका आफन्तलाई उचित क्षतिपूर्ति दिन मागसमेत गरेका छन् ।
यस क्षेत्रमा यसरी सडक दुर्घटना हुने गरेपनि सडक सुरक्षाका लागि बाँके प्रहरी र सडक डिभिजनले दीर्घकालिन कुनै पनि योजना बनाउन सकेका छैनन् । यसले पनि यहाँको उक्त सडक सुरक्षाका लागि सडक डिभिजन कार्यालय र सरकारका सम्बन्धीत निकायहरु उदासिन देखिएको छन् ।
बाँकेमा चालु आर्थिक वर्षको साउन यता सडक दुर्घटनामा परी ४५ जनाको मृत्यु भएको छ । कोहलपुर नेपालगन्ज सडकखण्डमा साउन याता १५ जना नागरिकको दुर्घटनाकै कारण निधन भएको बाँके टाफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पविन्द्र वमले जानकारी दिएका छन् ।
उनकाअनुसार सडक दुर्घटना घाइतेहरुको एकिन विवरण बाँके टाफिकसँग पनि छैन् । यहाँको सडक दुर्घटना न्यूनीकरणका लागि सबैभन्दा पहिला सवारी चालक र सर्वसाधारण नागरिक नै सचेत हुनुपर्ने भन्दै यसका लागि टाफिकले सचेतनात्मक कार्यक्रम सञ्चालन गरिरहेको उनी बताउँछन् ।
बढ्दो सवारी साधन सँगसँगै बाँकेमा सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दैछ । यसबाट नेपालगन्ज कोहलपुर सडकखण्ड बढी प्रभावित देखिएको छ ।
दुर्घटनाबाट समाजमा पर्ने अप्रत्यक्ष असरबारे अध्ययन गर्ने हो भने स्थिति चिन्ताजनक देखिएको छ । सडक दुर्घटना कम गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी कार्यालय, सडक विभाग तथा स्थानीय प्रशासनले प्रयास गर्नुपर्ने भएपनि यी सबै निकाय मौन रहेका छन् ।
सडक दुर्घटना बढ्दै जान थालेपछि यस क्षेत्रका स्थानीय समेत त्रसित भइरहेको कोहलपुरका स्थानीय सीता कार्की बताउँछिन् । सम्बन्धीत निकायले सडक दुर्घटना न्यूनिकरणका लागि दीर्घकालिन योजना बनाउँनुपर्ने उनको भनाई छ ।
रुट परमिट दिने पद्धति, सवारी चालक अनुमति वितरण प्रणाली, जीर्ण र पुराना सवारी साधन आदि पनि बढ्दो दुर्घटनाका कारक भएको यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त प्रमुख पूर्णबहादुर खत्री बताउँछन् । उनकाअनुसार यी सबै विषय सडक सुरक्षासँग जोडिएका कानून, नीतिनियम आदिको कार्यान्वयनसँग जोडिएका छन् ।