बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा

थप एक जना पक्राउ, बैंकका अध्यक्ष ओम मिश्रले ११ करोड लिएको भेटियो, अनुसन्धान जारी


दामोदर भण्डारी दामोदर भण्डारी   ६ घण्टा अगाडि
बैंकका सिइओहरु खोज्न सिआइवी एक सातादेखि नेपालगन्जमा

रकम अपचलनका कारण नेपालगन्जमा केन्द्रिय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट बैंक डुबेपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले फरार रहेका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुलाई खोजिरहेको छ ।

बैंक डुबेर जम्मा गरेको रकम नपाएर हजारौं ग्राहकहरु छट्पटाउन थालेपछि सिआइबीको टोलीले फरार रहेका बैंकका सिइओहरु तथा कर्मचारीको खोजीकार्य तीब्र पारेको छ ।  सिआइबी प्रहरीको टोली एक साता देखि नेपालगन्जमा आएर बसेको छ । फरार रहेका बैंकका सिइओहरु र कर्मचारीलाई पक्राउ गर्न सिआइबीले रातदिन धुँइपत्ताल लाएर खोजिरहेको छ । 

उच्च प्रहरी स्रोतका अनुसार, उनीहरुको खोजीका लागि सिआइबीका डिएसपी दान बहादुर थापाको कमाण्डमा ४ जनाको टोली एक सातादेखि नेपालगन्जमा आएर बसको छ । त्यसैक्रममा बैंकको रकम अपचलनमा संलग्न भइ फरार रहेका कर्णाली बैंकका फाइनान्स डिपार्टमेन्टका कर्मचारी बेद प्रकाशसिंह ठकुरीलाई नेपालगन्ज धम्बोझीबाट पक्राउ गर्न सिआइबीको टोली सफल भएको छ । 

‘सिइओहरुलाई पक्राउ नगर्दासम्म बैंक घोटाला छानविन छिटो नटुंगिने भएकाले प्रविधीमा पोख्त सिआइबीको टोलीले फरार रहेका सिइओहरुको खोजी तीब्र पारेको छ । उच्च प्रहरी स्रोतले सेतोखरीसँग भन्यो ‘त्यसैले डिएसपीको नेतृत्वमा टोलीनै नेपालगन्जमा आएर बसेको हो । कुनैपनि हालतमा पक्राउ गर्न दवाव छ ।’ फारार बैंकका सिइओहरु भारतमा लुकेर बसेको आशंकामा सिआइबीको टोलीले नेपालगन्जलाई बेस बनाएर भारतीय प्रहरीको सहयोगमा फोनकल ट्रेस गर्दै भारतमा पनि खोजी तीब्र पारेको स्रोतले सेतोखरीलाई जनाएको छ । 

Kanti Aarogya Hospital Nepalgunj

सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व अध्यक्ष, पूर्व सिइओ, वर्तमान सिइओ सहित ७ जनालाई पक्राउ गर्नका लागि पहिले नै अदालतबाट पक्राउ पुर्जी लिएर बसेको छ । बैंकका पूर्व सिइओ तथा पूर्व अध्यक्ष राजेन्द्रवीर रायलाई भारतको लखनउबाटै महिना दिन अघिनै पक्राउ गरेर ल्याइसकेको छ । 

केन्द्रिय प्रहरीको उच्च स्रोतले सेतोखरीलाई दिएको विवरण अनुसार, सिआइबीले कर्णाली डेभलपमेन्ट बैंकका पूर्व सिइओ सन्तोष कुमार राई, निमित्त सिइओ विष्णु प्रसाद कक्षपती, पूर्व सिइओ दिनेश कुमार रावत, वर्तमान सिइओ निरज बिक्रम शाह, पूर्व म्यानेजर दिपा थापा पक्राउपुर्जी ल्याइ खोजीरहेको छ ।  रहेका छन् । 

कर्णाली डेभलपमेन्ट बैंकका संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा जनताको अर्बौ रकम हिनामिना हुँदा बैंक डुब्नपुगी डिपोजिट रकम समेत ग्राहकलाई फिर्ता गर्न नसकेपछि अन्तिम अवस्थामा नेपाल राष्ट्र बैंकले गत पुषदेखि उक्त बैंको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएर संचालन गर्दै आएको छ ।

राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकको सम्पूर्ण व्यवस्थापन नियन्त्रणमा लिइ चलाउन थाले लगत्तै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले (सिआइवी) ले उक्त बैंक घोटाला बारे अनुसन्धान थालेको नेपाल राष्ट्र बैंक केन्द्रिय कार्यालयले जनाएको छ ।

राष्ट्र बैंक र सिआइवीको अनुसन्धानबाट बैंकका बोर्ड संचालक, सिइओ र कर्मचारीहरुको मिलेमतोमा बैंकको १ अर्ब भन्दा बढी रकम हिनामिना गरिएको भेटिएको छ । 


बैंक अध्यक्ष मिश्रमाथि पनि अनुसन्धान 

सिआइबी तथा नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक संचालन समितिका अध्यक्ष ओम मिश्र माथि पनि आन्तरिक अनुसन्धान गरिरहेको छ । आफ्नै बैंक आफै बैंकको बोर्ड अध्यक्षमा बसेर सोही बैंकबाट अन्यक्ष मिश्रले विभिन्न शिर्षकमा ११ करोड भन्दा बढी रकम लिएको देखिएको छ ।  

‘आफै अध्यक्ष भएर आफ्नै बैंकबाट जथाभावी रकम लिन त पाइदैन नी, जब की अध्यक्षले आफ्नो बैंकबाट ऋण लिनै पाइदैन । त्यसमा पनि मिश्रले ऋण लिनका लागि फर्म मात्र दर्ता गरेर करोडौं रकम लिएको देखिएको छ ।’ सिआइबी स्रोतले भन्यो ‘जनताले जम्मा गरेको रकम त्यसरी लिन मिल्छ ? बैंक डुबाउनमा अध्यक्ष मिश्र संलग्न छैनन् भन्ने आधार देखिदैन त्यसैले अनुसन्धान अगाडी बढेको छ ।’

करोडौं रकम लगेको देखिएपछि अध्यक्ष मिश्र माथि राष्ट्र बैंक र सिआइबी दुवैले आन्तरिक रुपमा अनुसन्धान गरिरहेको स्रोतले सेतोखरीलाई जनाएको छ । बैंक घोटाला काण्डबाट बच्नका लागि बुवा पशुपति दयाल मिश्र र छोरा ओम मिश्र आफ्नो पार्टीका अर्थ मन्त्री बिष्णु पौडेललाई भेटन काठमाण्डौं जाने गरिरहेको बाँकेका एक एमाले जिल्ला नेताले बताए । अर्थ मन्त्री पौडेललाई भेटन जाँदा मिश्र बाबु छोराले नेपालगन्जबाट दुधबाट बनेको राबडी, ध्यूमा बनेका मिठाइका परिकार बोकेर जाने गरेको पनि ती एमाले नेताले बताए । 

(कर्णाली डेभलपमेन्ट बैंकका अध्यक्ष ओम मिश्रले कुन कुन शिर्षकमा कति रकम बैंकबाट कसरी लगेका छन् भनेर त्यसको विस्तृत् सेतोखरीको अर्को अंकमा प्रकाशित गर्ने छौं । सो रकम तीर्न र पक्राउ हुनबाट जोगिन अदालत देखि बर्तमान अर्थ मन्त्रीसम्म उनले गरेका प्रयास समेत उल्लेख गर्ने छौं ।)