‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

मुख्यमन्त्रीद्वारा दुर्घटनास्थल अनुगमन, २ को मृत्यु, ३ वेपता, ३४ को जिवितै उद्धार


‘मृत्युमार्ग’ बन्दै कर्णाली राजमार्ग

दुर्घटनास्थलको अनुगमन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही । तस्विर सौजन्य : मुख्यमन्त्री कार्यालय कर्णाली

नेपालगन्ज: सुर्खेतदेखी जुम्लासम्मको कर्णाली राजमार्गलाई ‘मृत्युमार्ग’ पहिचान दिदै आएको पनि दशक भएकोछ । वर्षेनी होइन मासिक र साप्ताहिक उक्त राजमार्गमा दुर्घटना हुदैं आएको छ । पटक/पटकका दुर्घटनामा दर्जनौं मानिसले ज्यान गुमाएका छन् । दुई सय ३२ किलोमिटर लामो यो सडकले सुर्खेत, दैलेख, कालीकोट र जुम्लासममको यात्रा तय गर्ने गरेको छ ।

तर, सुबिधाभन्दा पनि राजमार्गको यात्रामा स्थानीयबासीले हर समय आतंकको सामना गर्नुपर्ने अवस्था छ । कारण हो, असुरक्षित र जोखिमपूर्ण सडक । सडक सम्झ्यो कि गाडी चढ्ने आँट नै आउँदैन कालिकोटका मोतीराम न्यौपाने भन्छन् ‘यो त राजमार्ग नभई मृत्युमार्ग पो बन्दै गएको छ ।’

२०४८ सालमा निर्माण थालिएको यो राजमार्गमा ६३ सालदेखि यातायात सञ्चालनमा आएको थियो । राजमार्ग निर्माण भएसँगै विकासको दृष्टिले कर्णाली क्षेत्रको विकासमा केही कायापलट त भयो । तर, सधैं मृत्युको त्रासमा यात्रा गर्नुपर्दा यस क्षेत्रका नागरिक त्रासमा रहदै आएका छन् ।

बुधबार दिउँसो पनि भारतबाट आएका करिब ३९ जना नागरिक बोकेर कालिकोटतर्फ जाँदै गरेको टिप्पर रास्कोटको लालिघाटमा दुर्घटना भएको छ । टिप्पर कर्णाली नदीमा खसेको छ । उक्त दुर्घटनामा दुई जनाले फेरि ज्यान गुमाएका छन् । तीन जना वेपता छन् । ३४ जनाको जिवितै उद्दार गरिएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिम्प्र कालीकोटमा दुर्घटना भएको छ । ना ८ ख ५१३३ नम्बरको टिप्पर नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए । सीमा क्षेत्र र रामेछापबाट भित्रिएकाहरूलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी राजीवबहादुर बस्नेतका अनुसार दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाईतेको रास्कोटमा उपचार भएको छ । टिप्पर चालक २९ वर्षीय रंगनाथ धमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार धेरै यात्रु चढाएको भनेर चालकसँग यात्रुको भनाभन भएपछि चालक धमला टिप्पर छोडेर हिँडेका थिए । घटनास्थलबाट भागेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

रासकोट नगरपालिका–२ बस्ने निस्पता सार्की, मीन सार्की, प्रजय सार्कीको अवस्था गम्भीर छ । अनिता सार्की, विवेक सार्की, असोक परियार, गोविन्द सार्कीसहित अन्यको अवस्था सामान्य रहेको कालिकोट प्रहरी बताँउछ ।

प्रहरीका अनुसार रासकोट नगरपालिका–२, की ठुम्की सार्की र सर्मीला सार्कीको घटना स्थलमै मृत्यु भएको छ । बुधबार विहान भएको उक्त घटनाको कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले स्थलगत अनुगमन गरेका छन् । स्वास्थ्यकर्मी सहितको टिम लगेर हेलिकप्टरमार्फत रासकोट पुगेका मुख्यमन्त्री शाहीले घाईतेहरुको उपचार, मृतकका परिवारलाई राहतका लागि कुनै कसर बाँकी नराख्ने भन्दै वेपत्तता भएकाहरुको तत्काल खोजी गर्न तिनै तहका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

कर्णाली राजमार्गमा सवारीसाधन सञ्चालनमा आएको यो अवधिमा यहाँ दुई दर्जनभन्दा बढी ठूला दुर्घटना भइसकेका छन् । त्यसमा तीन सय जनाभन्दा बढीले ज्यान गुमाएका छन् । ज्यान हत्केलामा राखेर यात्रा गर्नुपर्दा कर्णालीबासीको मन गाडीको पांग्रा घुमेसँगै काँपिरहने कालिकोटका दीपक शाही बताउँछन् ।

सडक निकै साँघुरा छन् । दुई विपरीत दिशाबाट आउने सवारीसाधनलाई साईड दिन टाढैबाट संकेत हर्न बजाउनुपर्छ । एकातिर चट्टान खस्ने पहरा र अर्कोतिर कर्णाली नदीको डरमर्दो भीर देखिन्छ उनले भने ‘सुरक्षाको मापदण्ड पूरा नगरी सडक निर्माण गरिएकाले जोखिम बढेको हो ।’
उनकाअनुसार सवारीसाधन नियमन गर्ने निकायले ध्यान नपुर्याउँदा र यातायात व्यवसायीको लापरबाहीका कारण यो राजमार्गले सधैं मृत्युमार्गको चिनारी पाइरहेको छ । यसरी विकासको पूर्वाधार नै समस्या बनिरहेको कर्णालीबासीका लागि यो राजमार्ग कहिले जीवनमार्ग बन्ला ? उनीहरू राज्यको जवाफ पर्खिरहेका छन् ।

कालीकोट सडकखण्ड र कालीकोटको सीमाना दैखोलादेखि कालीकोट र जुम्लाको सीमाना नाग्मासम्ममा बढी दुर्घटना हुन थालेपछि राजमार्ग मृत्युमार्ग बन्दै गएको छ । साँघुरो राजमार्ग, सडक सङ्केतको अभाव तथा सवारी ऐनविपरीत गाडी चलाइएका कारण दुर्घटना हुने क्रम बढेको ट्राफिक प्रहरीका सई कवि सेञ्चुरी बताउँछन् ।

ट्राफिक प्रहरी सुर्खेको रेकडअनुसार २९ फागुन २०६७ मा जुम्ला कालीकोट सिमानाको नाग्मामा ट्रक दुर्घटना हुँदा चन्दननाथ–४ जुम्लाका दीपक झाँक्रीको मृत्यु भएको थियो । २२ जेठ २०६८ मा कालीकोटको पिलीमा भएको दुर्घटनामा चालक डम्बर विकले ज्यान गुमाएका थिए । चार घाईते भएका थिए । २३ जेठ २०६८ मा ट्रक दुर्घटना हुँदा गाम–४ रोल्पाका सहचालक सेते बुढाको मृत्यु भएको थियो ।

साँघुरो सडकमा सहचालकले गाडी चलाउने, मदिरा सेवन गर्ने र क्याबिनको सिटमा महिला राखेर गाडी चलाउनाले पनि दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ । क्षमताभन्दा बढी यात्रु चढाउने, सामान राख्ने, यात्रु जबर्जस्ती चढ्ने, गाडीको गति बढाउनेलगायत समस्याका कारण दुर्घटनामा वृद्धि हुने गरेको छ । कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेकाअनुसार नदीमा खसेका नागरिकको उद्दार र वेपताको खोजीमा तीनै तहका सुरक्षा निकाय र स्थानीय लागिपरेका छन् ।