प्रदेशमा २४२, देशभरमा ११ सयबढी आत्महत्या
नेपालगन्ज: कोभिड–१९ नियन्त्रण नहुँदै अन्य देशले मानसिक समस्या सामना गर्न गृहकार्य गर्दैछन् । तर, नेपालमा राज्यस्तरबाट यसका लागि प्रभावकारी कदम चालिएको छैन ।
लकडाउनपछि मनोरोगी र अपराध दुवै हवात्तै बढ्न सक्ने बिज्ञहरू बताउँछन् । मुलुकभर लागू भएको लकडाउन भएको ८२ औं दिन भएको छ । लकडाउनको अवधिमा देशभर आत्महत्या र बलात्कारको अपराध बढेको छ । अन्य विभिन्न शीर्षकको अपराध पनि रोकिएको छैन ।
लकडाउन अवधिमा सामाजिक हिंसा, बलात्कार, आत्महत्या, दुव्र्यवहारलगायत हिंसाका घटना देखिएका हुन् । ५१ दिनमा सात सय १५ जनाले आत्महत्या गरेका थिए । अहिले त्यसको रेसिओ बढेको देखिन्छ । आत्महत्या सगैँ बलात्कारका घटना बढेको नेपाल प्रहरी बताउँछ ।
सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेदेखि वैशाख ३१ गतेसम्म देशभर ७ सय १५ जनाले आत्महत्या गरेका थिए । अहिले यो संख्या बढेर १ हजार १ सयमाथि पुगिसकेको प्रहरीको तथ्याकंले देखाएको छ ।
सबैभन्दा धेरै आत्महत्याको घटना प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ रहेको छ । आत्महत्या गर्न उनीहरुले पासो प्रयोग गरी झुन्डिएर आत्महत्या गरेको देखिएको नेपाल प्रहरीका प्रवक्ता नीरज बहादुर शाही बताउँछन् ।
उनकाअनुसार लकडाउन लम्बिँदै जाँदा प्रस्तावित लुम्बिनी प्रदेशमा आत्महत्याका घटना पनि उल्लेख्य बढ्दै गएका छन् । प्रस्तावित लुम्बिनी प्रदेशमा २ सय ४२ वटा आत्महत्या भएका छन् । अहिलेसम्मको रकेर्डअनुसार यस प्रदेशमा लकडाउनका बेला बलात्कारका १७ बढी घटना भएको प्रहरी रेकर्डमा छ ।
सरकारले गत चैत ११ देखि यही जेठ ३२ गतेसम्मका लागि देशभर लकडाउन लागू गरेको छ । यो प्रदेशका रुकुम, अर्घाखाँची, दाङ र पाल्पाबाहेक सबै जिल्लामा आत्महत्या र बलात्कारका घटना दर्ता भएका छन् । प्रदेशमा सबैभन्दा बढी रूपन्देहीमा बलात्कारका घटना भएका छन् । प्रदेश प्रहरी दाङकाअनुसार कपिलवस्तु, गुल्मी र बाँकेमा तथा रोल्पा, बर्दिया, प्युठान र नवलपरासीमा पनि घटना दर्ता भएका छन् । बन्दाबन्दीमा बर्दियामा जर्बजस्ती करणी उद्योगअन्तर्गत मुद्दा दर्ता भएको छ । घटनामा संलग्नलाई पक्राउ गरी जर्बजस्ती करणीअन्तर्गत मुद्दा चलाइएको बर्दिया प्रहरीको रकेर्डले देखाएको छ ।
प्रदेशका पाल्पा र बाँकेबाहेक १० जिल्लामा यतिले आत्महत्या गरेको रिपोर्ट आएको प्रदेश प्रहरी नायब उपरीक्षक नवराज पोखरेल बताउँछन् । सबैभन्दा बढी रूपन्देहीमा आत्महत्या गरेका छन् । त्यसपछि दाङमा कपिलवस्तुमा आत्महत्या गरेका छन् । अर्घाखाँचीमा बालविवाह र बहुविवाहको घटना पनि दर्ता भएको प्रहरीले जनाएको छ ।
आर्थिक वर्ष २०७६/७७ को सुरुवाती आठ महिनामा औसत दिनमा १४ जनाले आत्महत्या गरेका थिए । अपराधको दर पनि पछिल्लो समयमा बढेको छ ।
मनोसामाजिक उल्झन तीव्र बन्दै गएपछि मानिसमा तनाव, चिन्तारोग, निद्रा नलाग्ने, डिप्रेसन हुनेजस्ता समस्या बढ्न्न सक्ने चिकित्सकहरू बताउँछन् । हिँडडुलमा प्रतिबन्ध भएर हुन सक्छ, आत्महत्याको शैली लकडाउनमा बदलिएको छ ।
विष खाएर र हामफालेर गरिने आत्महत्याको संख्यामा कमी आएको छ । तर, झुण्डिएर आत्महत्या गर्नेहरूको संख्या बढेको देखिएको बाँके प्रहरी अन्तर्गतको मुद्दा शाखाका प्रमुख प्रहरी निरीक्षक हृदेश सापकोटा बताउँछन् । लकडाउनमा भएको आत्महत्याको कारण के हो भन्नेमा यकिन भइसकेको छैन,’ उनले भने, ‘आर्थिक कारणले आत्महत्या गरेको हुन सक्छ तर, विस्तृत अनुसन्धान नगरी यकिन भन्न सकिँदैन ।’
प्रहरी स्रोतका अनुसार लकडाउनले प्रहरी कार्यालयसम्म नपुग्ने र घर वा समुदायभित्रै घटना लुकाउने सम्भावना बढी भएकाले यस्तो संख्या अझै उच्च हुन सक्छ ।संगठित अपराध र कर्तव्य ज्यानका घटनामा भने उल्लेख्य परिवर्तन देखिएको छैन ।
आर्थिक वर्ष २०७६÷७७ का आठ महिनामा लागूऔषध किनबेच र ओसारपसारका २ हजार ३ सय ५४ घटना भएका थिए । यस्ता घटना दिनमा औसत १० वटा हुने गरेकामा लकडाउनको दरमा उल्लेख्य कमी आएको देखिएको छ ।
लकडाउन लम्बिँदै जाँदा लागूऔषध किनबेच र ओसारपसारका घटनामा विस्तारै वृद्धि हुँदै गए पनि यो सामान्य अवस्थामा भन्दा निकै कम भएको देखिन्छ । तर, विगतको अनुभवमा संकट र अभावको मात्रा सँगै अपराधको मात्रा बढ्ने देखिएकाले प्रहरी प्रशासन थप सतर्क हुनुपर्ने देखिएको बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् ।