नेपालगन्जबासी हात्तीपाईले रोगको उच्च जोखिममा, ढुक्क भएर औषधी सेवन गर्नुहोस् : महासंघ अध्यक्ष भण्डारी


नेपालगन्जबासी हात्तीपाईले रोगको उच्च जोखिममा, ढुक्क भएर औषधी सेवन गर्नुहोस् : महासंघ अध्यक्ष भण्डारी

नेपालगन्ज १२ चैत्र : नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले नेपालगन्ज हात्तीपाईले रोगको उच्च जोखिममा रहेको भन्दै ढुक्क भएर औषधी सेवन गर्न आग्रह गरेकाछन् ।

बाँकेमा हात्तीपाइले रोगको नियन्त्रणका लागि हालसम्म भएको प्रयास र चुनौतीका विषयमा सामाजिक उत्तरदायित्व महसुस गरि नेपाल पत्रकार महासंघ बाँकेले गरेको अन्तरक्रियामा अध्यक्ष भण्डारीले यस्तो आग्रह गरेका हुन् ।
गत फागुन २८ गतेदेखि हात्तीपाईले रोग प्रभावित बाँकेसहित १० जिल्लामा आम औषधी कार्यक्रम सञ्चालनमा छ । अभियान सञ्चालन भएपनि बाँकेको नेपालगन्जबासीले सबैभन्दा कम मात्रामा औषधी सेवन गरेपछि महासंघ अध्यक्ष भण्डारीले ढुक्क भएर औषधी सेवन गर्न आग्रह गरे ।

अध्यक्ष भण्डारीले हामीले लेखेको समाचारबाटै आमनागरिकमा यसको प्रभाव पर्ने हुँदा सञ्चारकर्मीलाई हात्तीपाइले रोगविरुद्धको अभियानबारे बढी भन्दा बढी समाचार संकलन गर्न आग्रह गर्दै नागरिकलाई यो रोगबाट बचाउन पहलकदमी भूमिका खेल्नु पर्ने बताए ।

यस्तै अन्तरक्रियामा बोल्दै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजङ्ग शाहले औषधी सेवनमा नागरिकमा रुची नहुनुले यो रोग निवारणमा चुनौती थपिँदै गएको बताए ।

Kids Festival 2022
kanti aarogya hospital
हात्तिपाईले विरुद्धको औषधी सेवन गर्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी ।

‘जबसम्म सबै नागरिकले एकैपटक औषधी सेवन गर्दैनन्, तबसम्म हात्तिपाईले रोगको जोखिम कायमै रहन्छ’ शाहले अगाडी थपे–‘स्वास्थ्य कार्यालयको एकल प्रयासले यो सम्भव देखिएन, यसमा नागरिक जिम्मेवार हुनुपर्यो, सम्बद्ध सरोकारवाला जागरुक हुनुपर्छ र सञ्चारमाध्यमबाट प्रयाप्त मात्रामा पैरवी गरिनुपर्छ ।’

बाँकेमा २०६७ सालबाट हात्ती पाइले रोग निवारण अभियान शुरु भएको हो । उक्त अभियान शुरु हुनुअघि जिल्लामा रोगको प्रकोप दर २१ प्रतिशत रहेकोमा वर्षेनी औषधी सेवन कार्यक्रम हुँदा घटेर ४ प्रतिशतमा झरेको प्रमुख शाह बताउँछन् । ‘रोगको प्रकोप दर २१ प्रतिशतबाट झरेर ४ प्रतिशतमा आएको छ, तर खासमा २ प्रतिशतभन्दा पनि तल झर्नुपर्छ,’ उनले भने ।

स्वास्थ्य मापदण्ड अनुसार जनस्वास्थ्य समस्या नरहने गरी प्रकोप दर घटेपछि मात्र औषधी सेवन गर्नु पर्दैन । बाँकेमा अहिले हात्ती पाइले रोग जनस्वास्थ्य समस्याकै रुपमा समुदायमा एक ब्यक्तिबाट अर्को ब्यक्तिमा फैलिरहेको छ । २०६७ सालमा बाँकेमा अभियान सञ्चालन हुने क्रममा चार जना ब्यक्तिको अन्य रोगबाट मृत्यु भएपनि हात्ती पाइले रोगको औषधी सेवन गरेर मृत्यु भएको भनि गलत प्रचार भएका कारण त्यसपछिका अभियान नेपालगन्जमा प्रभावकारी हुन नसकेको शाहले सुनाए । रोगको प्रकोप २ प्रतिशतमा नझर्दा सम्म कार्यक्रम नरोकिने र जसरी भएपनि औषधी सेवन गराउनुपर्ने बताए ।

स्वास्थ्य कार्यालय बाँकेको तथ्यांक अनुसार ११ चैत्रसम्म अर्थात अभियानको १४ दिनसम्म बाँकेका कुल ३ लाख २९ हजार ८९ जनाले मात्र औषधि सेवन गरेकाछन् । बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधि ५ लाख ६८ हजार ३९ जनालाई खुवाउने लक्ष्य रहेको छ । तर, घरदैलो अभियान गर्दा पनि ५७.९ प्रतिशतले मात्रै औषधि सेवन गरेकाछन् । स्वास्थ्य संस्थामा भने चैत्र मसान्तसम्म पनि औषधि सेवन गर्न पाइनेछ ।

हात्तीपाईले रोग फोकल पर्शन दुर्गा गौतमका अनुसार नेपालगन्जमा सबैभन्दा कम ४३ प्रतिशत र सबैभन्दा बढि ७७ प्रतिशत डुडुवा गाउँपालिकामा औषधि कभरेज भएकोछ ।

यस्तै राप्तीसोनारी गाउँपालिकामा ६१, खजुरा गाउँपालिकामा ६२, बैजानाथ गाउँपालिकामा ६५, नरैनापुर गाउँपालिकामा ६२, कोहलपुरमा ७२ र जानकी गाउँपालिकामा ७३ प्रतिशत औषधि कभरेज भएकोछ ।
हात्तीपाईले रोग फोकल पर्शन गौतमका अनुसार रोग प्रभावित बाँकेसहित १० जिल्लामै स्थानीय तह मध्ये सबैभन्दा कम औषधी कभरेज नेपालगन्जमा पाइएको हो ।

हात्तिपाईले विरुद्धको औषधी सेवन गर्दै नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली ।

‘यहाँ औषधी सेवन गर्नुपर्छ भन्नेहरु नै औषधि सेवन गरिरहेकाछैनन्’ गौतमले अगाडी थपिन्–‘औषधि सेवन गर्नुपर्ने व्यक्ति दिउँसो नभेटिएपछि रातिको ९ बजेसम्म खुवाउन थालिएको छ । नेपालगन्ज उपमहानगरपालिका–४, कोहलपुर नगरपालिकाको रझेना, जानकी र डुडुवा गाउँपालिकामा साथीहरुले रातिराति पुगेर पनि औषधि खुवाउनु भएको छ ।’

नेपालगन्ज नगर स्वास्थ्य प्रमुख रामबहादुर चन्दले खानेले खाइरहने, नखानेले खान नमान्ने हुँदा औषधि कभरेज घटेको बताए । उनले यसका लागि धार्मिक गुरु, राजनीतिक दल सबैसंग आवश्यक परामर्श, छलफल गरेता पनि वास्तविकरुपमा औषधि सेवन नगरेर बसिरहेकाछन् ।

सोक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली र प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायले हात्तीपाइलेविरुद्धको आमऔषधि सेवनको समाचार संकलनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका थिए । सो अवसरमा हात्तीपाइले विरुद्धको औषधि खान छुटेका ११ जना पत्रकारले औषधि सेवन गरेका थिए ।