होमस्टेको प्रर्बद्धनमा राज्य उदासिन


होमस्टेको प्रर्बद्धनमा राज्य उदासिन

नेपालगन्ज १५ चैत्र : होमस्टे ब्यवसायीले नेपालको पर्यटन प्रर्बद्धनमा महत्वपूर्ण भूमिका खेले पनि राज्यको तर्फबाट कुनै सुविधा नपाएको गुनासो गरेका छन् । होमस्टे महासंघ नेपालले नेपालगन्जमा गरेको पत्रकार भेटघाटमा महासंघ उपाध्यक्ष बाबुराजा महर्जनले यस्तो गुनासो गरेका हुन् ।

नेपालका होमस्टे (घरमा बास) ले बाह्य तथा आन्तरिक पर्यटनलाई गाउँ–गाउँसम्म पुर्याएर देशको अर्थतन्त्र माथि उकास्न मद्दत गरेपनि राज्यले होमस्टे प्रर्बद्धनमा उदासिन रहेको उनले दावि गरे ।

‘पर्यटकलाई गाउँ–गाउँमा पुर्याउने काम होमस्टेले गरेकोछ, होमस्टेमा आन्तरिक पर्यटक त जान्छन् नै बाह्य पर्यटकको पनि राम्रो गन्तब्य बनेको छ,’ महर्जनले भने, ‘होमस्टेले दुर्गममा रहेका पर्यटकीय स्थल र रैथाने खानाको स्वदेश तथा विदेशमा प्रचारप्रसार गरि आयआर्जनमा महत्वपूर्ण भूमिका निवार्ह गरेकोमा दुईमत छैन ।’

नेपालमा १५ सय बढि निजी र सामुदायिक दुई थरिका होमस्टे सञ्चालनमा रहेका छन् । सामुदायिक होमस्टेले राज्यबाट केहि सहयोग पाए पनि निजी होमस्टेले कुनै पनि सहयोग नपाएको निजी होमस्टे सञ्चालक समेत रहेका उपाध्यक्ष महर्जनले गुनासो पोखे । उनले भने, ‘देशको अर्थतन्त्र सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निजी होमस्टे नै राज्यको सेवाबाट बञ्चित हुनु दुर्भाग्य मान्नु पर्छ ।’

Kanti Aarogya Hospital Nepalgunj

होमस्टे महासंघका महासचिव कृष्णलाल चौधरीले होमस्टे सञ्चालनले रोजगारीको सिर्जना गरेपछि विदेसिने युवालाई स्वदेशमै रोकेको बताए । उनले विदेश जाने यूवाहरुका लागि आफ्नै ठाउँमा होमस्टे सञ्चालन गरि स्वरोजगार बन्ने अवसर मिलेकोछ ।

महासचिव चौधरीले अगाडी थपे–‘घरमा सिमित रहने महिलालाई होमस्टेले रोजगार दिएर आत्मनिर्भर बनाएको छ । हामेस्टेले जिडिपी लक्ष्य पूरा गर्न सहयोग गरेको छ ।’

होमस्टे संघका पूर्व अध्यक्ष भीम केसीले पाहुनालाई घरमा बसेको जस्तो अनुभूती होमस्टेले दिँदै आएको बताए । उनले होमस्टेहरु समय अनुसार परिवर्तन हुँदै गएको बताउँदै बाँकेको गाभरभ्याली होमस्टे विस्तारै रिसोर्टको अवधारणामा अगाडी बढेको बताए ।

‘परम्परागत घरबाट सुरु भएको गाभरभ्याली होमस्टे विस्तारै रिसोर्टको रुपमा विकास हुँदै गएका छन्,’ उनले भने । बाँकेको गाभरमा २०७० सालदेखि होमस्टे सञ्चालनमा रहेकोछ ।

यसैबीच गाभरभ्याली होमस्टेमा सम्पन्न होमस्टे एशोसियशन नेपालको तेस्रो सम्मेलनले गाभर भ्याली घोषणा पत्र जारी गरेको छ । उक्त सम्मेलनले होमस्टे प्रवद्र्धन रणनीति तय गर्ने प्रतिवद्धता जनाएको छ ।

त्यसैगरि, होमस्टे कार्यविधि तयार गरि कार्यान्वयन गर्ने, होमस्टे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने, सवै राजनीतिक दलको नीति तथा कार्यक्रममा होमस्टे प्रर्वद्धनको रणनीति तयारीका लागि पहल गर्ने, समृद्धिको आधार होमस्टे हो भन्ने विषयलाई सरकारको नीति तथा कार्यक्रममा समावेश गर्न आह्वान गर्ने र ‘होमस्टेमा छ मन, यसैमा छ जीवन’ अभियान संचालन गर्ने प्रतिवद्धता पनि सम्मेलनले गरेको छ।

‘होमस्टे मार्फत प्रकृति, मौलिक (रैथाने) कला, संस्कृती, ज्ञान, सीप र प्रविधिहरुको संरक्षण तथा प्रर्बधन गर्ने प्रतिवद्धता जाहेर गर्दछौँ,’ जारी घोषणा पत्रमा उल्लेख छ ।

उक्त सम्मेलनबाट ३२ सदस्यीय कार्यसमिति चयन गरिएकोछ । ५१ सदस्यीय कार्यसमिति हुने होमस्टे महासंघको आगामी बैठकबाट समावेशीताका आधारमा १७ जना सदस्य मनोनय गरिनेछ । पहिलोपटक बाँकेको गाभरमा सम्पन्न सम्मेलनले सस्कृतिसंगै प्रकृती संरक्षणका लागि ‘किरा बैंक’को अवधारणा अघि सारेकोछ ।

प्रेमशंकर मर्दनिया थारुको अध्यक्षतामा चयन गरिएको होमस्टे महासंघ नेपालले यसपटक सुपरिवेक्षण आयोग समेत चयन गरेकोछ । जसमा यदुमणी निरौलाको संयोजकत्वमा ४ सदस्यि समिति रहेकोछ । जसको सदस्यहरुमा शारदा आचार्य, हरिलाल पौडेल र झनक बहादुर महतो रहेकाछन् ।