टाइफाइड रोग विरुद्धको खोप अभियान

पहिलो दिन बाँकेका २० प्रतिशतले खोप लगाए


पहिलो दिन बाँकेका  २० प्रतिशतले खोप लगाए

नेपालगन्ज २४ चैत्र : टाइफाइड रोग विरुद्धको खोप अभियान अन्तरगत पहिलो दिन बाँकेका २० प्रतिशत बालबालिकाले खोप लगाएकाछन् । स्वास्थ्य कार्यालय बाँकेका अनुसार कुल लक्षित समुह एक लाख ४८ हजार ९ सय ३३ जनामध्ये पहिलो दिन ३० हजार ७ सय ४३ जनाले खोप लगाएका हुन् । यो कुल लक्षित समुहमध्ये २० दशमलव ६४ प्रतिशत कभरेज हो ।

बुधबारबाट शुरु भएको खोप अभियानमा सबै भन्दा बढि नेपालगन्जमा कभरेज पाइएकोछ । भने सबैभन्दा कम नरैनापुरमा पाइएकोछ । स्वास्थ्य कार्यालयका अनुसार बाँकेको खजुरामा बुधबार खोप अभियान सञ्चालन हुन सकेन ।

नेपालगन्जमा कुल ७ हजार ९ सय १३, नरैनापुरमा एक हजार ९ सय १०, बैजनाथमा ४ हजार १ सय ६५, राप्तीसोनारीमा ४ हजार ४ सय १५, डुडुवामा ३ हजार ८२ जना र जानकीमा २ हजार ६ सय १६ जना बालबालिकाले खोप लगाएकाछन् ।

सरकारले राष्ट्रिय खोप कार्यक्रममा नियमित खोपमार्फत टाइफाइड खोप पनि समावेश गरेपछि बाँकेसहित देशभर टाइफाइड विरुद्धको खोप लगाइन लागेको हो । योसँगै नेपालमा बालबालिकालाई लगाउने खोपको संख्या १३ पुगेकोछ छ । अहिले नेपाल सरकारले विभिन्न रोगका १२ वटा खोप लगाइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाँकेमा आगामी चैत्र २८ गतेसम्म अभियान सञ्चालन गरिनेछ । उक्त खोप १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकालाई दिइने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले जानकारी दिए ।
खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी बिद्यालयमै पुगेका छन् । बिद्यालयमा ८० प्रतिशत र स्वास्थ्य संस्थामा २० प्रतिशत खोप केन्द्र सञ्चालन हुने स्वास्थ्य कार्यालयका नरेश श्रेष्ठले बताए । उनका अनुसार जिल्लामा २ सय ६४ खोप केन्द्र राखिएको छ ।

कोभिड, हेपाटाइटिस लगायत अन्य खोप लगाएको १४ दिनपछि मात्र टाईफाईड रोग विरुद्धको खोप लगाउन मिल्ने श्रेष्ठले प्रष्ट्याए ।

‘यो खोपले स्वास्थ्यमा कुनैपनि असर पुर्याउँदैन, विश्व स्वास्थ्य संगठनले नै प्रमाणित गरिसकेको खोप हो,’ उनले भने । तर, ज्वरो आएको र टाईफाईडको लक्षण देखिएको समयमा यो खोप लगाउन नमिल्ने श्रेष्ठले सुनाए ।
यता वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर बिनोद खेतानले खोप बालबालिकाको लागि अनिवार्य भएको अवस्थामा टाईफाईड विरुद्धको खोप अभियान प्रभावकारी भएको बताउँछन् ।

‘यो खोप अत्यन्तै राम्रो हो, यसले कुनैपनि साईड इफेक्ट गर्दैन,’ उनले भने–‘निर्धक्कका साथ आफ्ना बालबालिकालाई तोकिएको खोप केन्द्रमा लगेर टाइफाईड विरुद्धको खोप लगाऔं ।’

खोपले टाइफाइडको किटाणु मार्ने र शरीरमा शक्ति उत्पादन गर्ने विशेषज्ञको भनाइछ । टाइफाइड पनि जनस्वास्थ्य समस्याको रूपमा रहेको छ । नेपालमा अझैपनि टाइफाइड रोगको उच्च संक्रमण र जोखिम रहनाका साथै अस्पताल भर्ना हुने कारणमध्ये प्रमुख पाँचभित्र रहेको देखिएको छ ।

यसअघि बुधबार विहान नेपालगन्ज वडा नम्बर–१ मा रहेको धम्बोझी माध्यमिक विद्यालयमा जिल्ला खोप समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तबको उपस्थितिमा टाइफाइड विरुद्धको खोप अभियान शुरु गरिएको थियो ।

टाइफाइड विरुद्धको खोप अभियान कार्यक्रमको उद्घाटन कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह, खोप फोकल पर्सन नरेश श्रेष्ठ, जनक गिरी, नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेत, सिनियर अनमी निरीक्षक शितला खड्का, सिनियर अहेव अधिकृत गोरखनाथ योगी, तेज ओली, बिनोद बिक लगायत विद्यालयका प्रधानाध्यापकसहित शिक्षक तथा कर्मचारीको उपस्थिति रहेको थियो ।