नेपालगन्ज २८ चैत्र : ‘इरेजर‘ अर्थात् सीसाकलमले लेखेको अक्षर मेट्न प्रयोग गरिने साधन, जसलाई हामी सबैका घर–घरमा साना बालबालिकादेखि हरेक उमेरका पढ्न–लेख्ने सबैले प्रयोग गर्ने गर्दछन् ।
बजारमा स्वदेशी र विदेशी ब्राण्डका थरिथरिका इरेजर जहाँ सुकै किन्न पाइन्छ । तर, हामीले आम रूपमा प्रयोग गर्ने ती इरेजर विषाक्त र हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पु¥याउने रसायन फ्थालेटस् प्रयोग हुने कुराबारे भने हामी धेरै अनभिज्ञ नै छौँ ।
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफेड)ले हालै ‘हर्मोन उत्पादन गर्ने ग्रन्थीमा असर पु¥याउने रसायनहरू’ माथि बृहत्त अध्ययन गरी ‘एडीसी फ्रि एसिया २०२२’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन मार्फत त्यसको परिणामहरू सार्वजनिक गरेको थियो । केन्द्रले एक प्रेस विज्ञप्ती जारी गर्दै बालबालिकाले प्रयोग गर्ने ईरेजरमा घातक फ्थालेट्सको नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।
केन्द्रले दक्षिण कोरियास्थित फाइनान्सियल इन्डस्ट्री पब्लिक इन्टरेस्ट फाउन्डेसन र वन्जिन इन्टिच्युट अफ अकुपेशनल एण्ड इन्भाइरोमेन्ट हेल्थको सहयोगमा एसियाका अन्य ९ देशको सहभागितामा अध्ययन गरेको सिफेड नेपालका कार्यकारी निर्देशक रामचरित्र साहले जानकारी दिए ।
अध्ययनमा नेपालाबाहेक कोरिया, जापान, श्रीलंका, इन्डोनेसिया, बंगलादेश, मलेशिया, फिलिपिन्स, भियतनामको सहभागिता रहेको उनले बताए ।
अध्ययनमा नेपालबाट ५३ थरि गरी ९ देशका ४०० थरि इरेजरका नमूनाहरू समावेश गरिएका थिए । नेपालबाट संकलन गरिएका ईरेजरका नमूनाहरू नेपाल, भारत, चीन, मलेसिया, ताईवान, जर्मनी, जापान, कोरिया र चेक रिपब्लिकमा बनेका थिए । नेपालबाट ३१ प्रकारका थर्मल पेपरका नमूनाको समेत अध्ययन गरिएको सिफेडको विज्ञप्तीमा उल्लेख छ ।
इरेजरका नमूना उपत्यकाभित्रका र जनकपुरका स्टेशनरी पसल, आर्ट स्टोर्स, डिपार्टमेन्टल स्टोर आदि विभिन्न थरिका पसलहरूबाट संकलन गरिएको विज्ञप्तीमा भनिएको छ । त्यस्तै थर्मल पेपरका नमूनाहरू अस्पताल, फार्मेसी, बैंक, एटीएम, सरकारी कार्यालय, साना तथा ठूला स्टोरहरू, रेस्टुरेन्ट, कफी शप, मोबाइल सपोर्ट सर्भिस सेन्टर सवारी, साधन पार्किङ लगायतका ठाउँहरूबाट संकलन गरिएको बताइएको छ ।
अध्ययनमा सहभागी एसियाका सबै ९ देशहरूबाट सङ्कलन गरिएका इरेजरहरूमा फ्थालेटसको मात्रा अत्याधिक पाइएको थियो । फ्थालेटस प्लाष्टिकका सामानहरूलाई बढी टिकाउ बनाउन प्रयोग गरिने एक प्रकारको रसायन हो जुन हामीले प्रयोग गर्ने प्लाष्टिकका हरेक सामानहरूमा प्रयोग गरिएका हुन्छन् ।
त्यस्तै थर्मले पेपर भनेका हामीले प्रयोग गर्ने आम कागजभन्दा फरक एटिएम मेसीन र बिलिङ मेसिनहरूमा प्रयोग हुने प्रिन्टिङ पेपर हो । थर्मल पेपरमा पनि शरीरलाई हानी बीपीए नामक रसायनको प्रयोग गरिने सिफेडका निर्देशक साहले बताए ।
अध्ययनले एसियाली देशहरूमा थर्मल पेपरका रसिदहरूमा जोखिमका श्रोतहरू उच्च रहेको देखाएको साहले बताए । पछिल्लो अध्ययनले यस्ता पेपरहरू विषाक्त हुने देखाएको बताउँदै नेपालमा मात्र नभई अन्य एशियाली देशहरूमा समेत थर्मल पेपरमा द्यातक रसायनको प्रयोगमा प्रतिबन्ध लगाउने कुनै नियम, ऐन–कानून र मापदण्डहरू नै नभएको समेत साहले जानकारी दिए ।
सिफेडले प्रेस विज्ञप्तीमार्फत फ्थालेट्सको प्रयोग र थर्मल पेपरको गुणस्तरमा अनिवार्य मापदण्डको व्यवस्थाका साथसाथै नियमित रूपमा नियमनको लागि आवश्यक कानूनी र संस्थागत संरचनाको निर्माण गर्न सम्बन्धित सबैलाई आह्वान गरेको वातावरण वैज्ञानिक समेत रहेका साहले बताए ।
अन्य देशहरूबाट उत्पादिन इरेजरको तुलनामा नेपालमै उत्पादित इरेजरमा फ्थालेट्सको मात्रा नगन्य पाइएकाले स्वदेशी उत्पादनको बढीभन्दा बढी प्रयोग गर्ने वातावरण बनाउन समेत शाहले सबैलाई आह्वान गर्नुभयो। युरोपेली संघ, अमेरिका र अन्य धेरै विकसित राष्ट्रहरूले फ्थालेट्सको प्रयोगमा प्रतिवन्ध लगाइसकेको बताउँदै नेपालमा पनि त्यसलाई नियन्त्रण गर्न ठोस कानून निर्माण गर्न शाहले जोडदार आग्रह गरे ।