सातौं राष्ट्रिय झण्डा दिवसको तयारी पुरा


सातौं राष्ट्रिय झण्डा दिवसको तयारी पुरा

नेपालगन्ज २९ चैत्र : नयाँ वर्षको पहिलो दिन बिहीबार नेपालगन्ज रङ्गशालामा सातौं नेपाली झण्डा महोत्सव हुदैँछ ।

प्रत्येक वर्ष १ बैशाखलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डाको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत ७ वर्षदेखि झण्डा महोत्सव गरिदैँ आएको हो ।

‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताका लागि आह्वान गर्छाैं’ ।

नेपाली राष्ट्रिय झण्डाको बनोट बिशिष्ट प्रकारको छ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पूरानोछ ।

Kids Festival 2022
kanti aarogya hospital

२५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ । बजारमा किन्न पाईने झण्डाको रंग र त्यसमा प्रयोग गरिएको चन्द्र र सूर्य फरक–फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य हो । सोही उद्देश्यलाई आत्मसाथ गर्दै हरेक वर्ष झण्डा दिवस मनाइदै आएकोछ । राष्ट्रिय झण्डा दिवसका परिकल्पनाकार शाहले सरकारले नै यसको जिम्मेवारी लिई राष्ट्रिय झण्डा दिवस मनाउनुपर्ने बताए ।

‘हरेक दिन राष्ट्रिय, अन्तराष्ट्रिय दिवस मनाईन्छ तर, देशलाई बिश्व मानचित्रमा चिनाउने, राष्ट्रको प्रतिक राष्ट्रिय झण्डालाई सम्झिने कुनै दिन छैन’–परिकल्पनाकार शाहले भने–‘जसका कारण झण्डाको रंग समेत गलत प्रयोग गर्ने परिपाटी बढेर गएको छ । यस्तो समस्या हुन नदिन, झण्डाको महत्व बढाउन दिवस मनाउने सोँच आफुमा आएका हो ।’

राष्ट्र, राष्ट्रियताको प्रतिकको रुपमा रहेको झण्डाले सबैलाई एक शुत्रमा बाँध्ने गरेको उल्लेख गर्दै शाहले झण्डाको महत्वलाई बुझि झण्डाको मर्यादा कायम राख्न सबैलाई आग्रह गरे । उनले झण्डा दिवसमा सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।

हरेक वर्ष झैं यस वर्षको पहिलो दिन अर्थात वैशाख १ गते बिहीबार नेपालगन्ज रङ्गशालामा बेलुकी ५.२९ बजे भब्य समारोहकाबीच झण्डा महोत्सव मनाइनेछ ।

सो कार्यक्रममा बिभिन्न पेशा र क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरु सहभागि हुनेछन् । दिवसका अवसरमा देशभक्ति र राष्ट्रियता झल्किने गित, संगित प्रस्तुत हुने झण्डा दिवसका संयोजन गरिरहेका बासका कार्यकारी निर्देशक नमस्कार शाहले सेतोखरीलाई जानकारी दिए । उनले राष्ट्रिय झण्डाको सम्मानका लागि सवैलाई उपस्थिती हुन आग्रह समेत गरेकाछन् ।

बिगत ७ वर्ष देखि नेपालगन्जमा भईरहेको महोत्सवको तेस्रो वर्षमा प्रवेश भएसंगै मुलुकका अन्य स्थानहरुमा पनि मनाउन थालिएको छ ।

अन्तरालको आयोजना र बास नेपालको संयोजनमा यस वर्ष नेपालगन्ज रंगशालामा झण्डा दिवस मनाइदैछ । यस्तै बासले यस वर्ष झण्डा दिवस मनाउन देशैभर आफ्ना शाखाहरुलाई परिपत्र गरेको छ ।
नेपालगजमा क्रियाशिल अन्तरालले २०७३ साल बैशाख १ गतेदेखि झण्डा दिवस मनाउन शुरु गरेको हो ।

झण्डा दिवसको पहिलो वर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा दिवस नेपालगन्ज रंगशालामा सम्पन्न भएको थियो । भने दोश्रो वर्ष २०७४ बैशाख १ गते चन्द्र सूर्य अभियानका अभियन्ता, कलाकार, बिमान चालक बिजय लामा र नेपाल पत्रकार महासँघका पूर्ब केन्द्रिय अध्यक्ष धर्मेन्द्र झाको प्रमुख आतिथ्यतामा नेपालगन्जको रामलिला मैदानमा सम्पन्न भएको थियो ।

तेस्रो वर्ष जनप्रतिनिधि, सिने क्षेत्रका कलाकारहरुको उपस्थितीमा नेपालगन्जको रामलिला मैदानमै दिवस सम्पन्न भएको थियो । सोही वर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार, संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने नेपालगन्ज, पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो ।

चौथो वर्ष अन्तरालले नेपालगन्जमा बाससँगको साझेदारीमा राष्ट्रिय झण्डा दिवस नेपालगन्जको बीपि चोकमा मनाएको थियो । पाँचौं र छैठौं वर्ष नेपालगन्जको रामलिला मैदानमा झण्डा दिवस मनाईएको थियो ।