नेपालगन्ज ३० चैत्र : सत्तारुढ पाँच दलिय गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनका लागि एउटा मापदण्ड बनाएको छ । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुदैछ । उक्त निर्वाचनमा वडादेखि नै तालमेल गर्ने र गठबन्धन बाहिरका दलसँग तालमेल गर्न नपाइने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटार मंगलवार बेलुका सम्पन्न पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठकले चुनावी तालमेलको रुपरेखा लिखित रूपमा स्थानीय संयन्त्रमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्नेछ । नगरपालिका र गाउँपालिकाको हकमा भने बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने भनिएको छ ।
स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने–
१. महानगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुखको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने।
२. नगरपालिका र गाउँपालिकाको क्रमशः प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको तालमेल सम्बन्धी सिट बाँडफाँटको आवश्यक निर्णय गरी वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई सिफारिस गर्ने र प्रदेश संयन्त्रले निर्णय गरी वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।
३. महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाध्यक्ष तथा सदस्यहरूको सिट बाँडफाँटको निर्णय जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने।
४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुईदुई जना प्रतिनिधि रहने।
५. प्रत्येक तहको संयन्त्रमा निर्णय लिनका लागि सम्बन्धित पार्टीले आ–आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सक्नेछ।
६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने।
त्यस्तै, गठबन्धनभित्र सिट बाँडफाँटका सात आधारहरु पनि तय भएका छन्। जुन यस अनुसार छन्–
१. २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी नेकपा एकीकृत समाजवादी कायम रहेका जनप्रतिनिधिहरुलाई त्यसै अनुसार मान्ने।
२. २०७४ को निर्वाचनमा दलका उम्मेदवारहरुले पालिका, वडामा प्राप्त मतको मतभार।
३. २०७४ को स्थानीय निर्वाचनमा विजय प्राप्त गरेको नभए तापनि स्थानीय तहमा उपस्थितिलाई यथाशक्य गठबन्धनभित्र अन्य दललाई पनि सहभागी गराउने।
४. २०७४ को निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी स्थानमा गठबन्धनभित्रका दलहरुले उक्त निर्वाचनमा प्रमुख पदमा प्राप्त मतलाई आधार बनाउने। यसको साथै उक्त तहमा दलका उम्मेदवारले प्राप्त गरेको मतभारलाई पनि आधार बनाउने।
५. नेकपा एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा माथि बुँदा नम्बर ४ मा उल्लेखित आधारहरुले मात्र नहुने र उक्त पार्टी नेकपा एमाले विभाजन भएर बनेको मुख्य शक्ति भएको यथार्थलाई मनन गर्ने।
६. गठबन्धन रहेका दलहरुबीच सिट बाँडफाँट गर्दा माथि उल्लेखित आधारहरुका अतिरिक्त वर्तमान समयमा गठबन्धनका दलहरुका संगठनात्मक अवस्था र जनसमर्थनलाई पनि महत्त्वका साथ ध्यान दिने।
७. गठबन्धनभित्र रहेका दलहरुबीच मात्र चुनावी तालमेल गर्न पाउने।