नेपालगन्जसहित पश्चिम तराईमा ‘हिट वेब’, उच्च सतर्कता अपनाउन आग्रह


नेपालगन्जसहित पश्चिम तराईमा ‘हिट वेब’, उच्च सतर्कता अपनाउन आग्रह

सांकेतिक तस्विर

नेपालगन्ज ४ बैशाख : देशकै सबैभन्दा बढि गर्मी हुने बाँकेको नेपालगन्ज तातिँदै गएकोछ । विहानबेलुकाको समय केही शीतल भएता पनि चर्को घामसगैं चल्ने तातो हावाका कारण नेपालगन्जको जनजिवन कष्टकर बनेकोछ ।
चिसोमा अत्यधिक चिसो, वर्षातमा अत्यधिक वर्षा र गर्मीमा अत्यधिक गर्मी हुनाले पनि नेपालगन्जलाई मौसमीय दृष्टिकोणले चुनौती दिनेगरेकोछ ।

नेपालगन्ज लगायत पश्चिम तराईमा पछिल्लो एक सातादेखि निकै गर्मी बढेको छ । चर्को घामसँगै चलेको तातो हावाले यस क्षेत्रको जनजीवन झन् प्रभावित बनेको छ ।

जतिसुकै गर्मी भएपनि काम नगरे बिहान बेलुका हातमुख जोर्न धौँधौ हुने वर्गका लागि गर्मीले धेरै नै दुःख दिएको छ । दिउँसोको टन्टलापुर घाममा गर्मीको परवाह नगरी नियमित काम गर्नुपर्ने बाध्यता धेरै विशेष गरि मजदूरलाई छ ।

नेपालगन्जमा गर्मी बढेसगैं यसक्षेत्रका दिनचर्यासमेत प्रभावित बन्दैगएकोछ । मौसममा आएको परिर्वतनका कारण नेपालगन्जको अधिकतम र न्यूनतम दुवै तापक्रम बढ्दै गएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा आगामी तीन दिन तातो हावा चल्ने भएकोले उच्च सतर्कता अपनाउन विज्ञहरुले आग्रह गरेका छन् ।

भारतको मौसम विभाग र बैंककस्थित क्षेत्रीय बहुप्रकोप केन्द्र (राइम्स) द्वारा जारी पूर्व चेतावनी अनुसार नेपालको लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते (हिट वेब) तातो हावा चल्ने देखिएको हो ।
४० डिग्रि भन्दा माथिको तापक्रमलाई (हिट वेब) अर्थात् ‘लू’ भन्ने गरिन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको अभिलेख अनुसार देशका ७ स्थानमा ४० डिग्री सेल्सियस भन्दा माथि तापक्रम पुगेको छ ।

यो अघि नै विज्ञहरुले नेपालमा यसवर्ष तापक्रम बढ्नेतर्फ सचेत गराउँदै आएका थिए । जलवायु तथा विपद् विज्ञ डाक्टर धर्मराज उप्रेतीले वैशाखको ५ गतेदेखि लगातार ३ दिनसम्म पश्चिम तराईमा तापक्रम अत्याधिक बृद्धि हुने बताए ।

उनका अनुसार ४० डिग्री वा सो भन्दा माथि तापक्रम, दुई वा त्यो भन्दा बढी दिन रह्यो भने त्यसलाई ‘लू’ अर्थात् हिट वेब ‘अत्याधिक गर्मी’ को अवस्था भनिन्छ । उनले नेपालमा हिट वेब ‘लू’ सुरु भइसकेकोले सबै नागरिकहरुले सचेत रहन आवश्यक रहेको बताए ।

उनका अनुसार नेपालमा शनिवारसम्मको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा ३ वटा स्टेशनमा ४० डिग्री भन्दामाथि तापक्रम रेकर्ड भएको र ३५ देखि ४० डिग्री सेल्सियस तापक्रम भएको स्टेशनको संख्या २७ पुगेको छ ।

जलवायुविज्ञ डाक्टर उप्रेतीले नेपालमा समय भन्दा अघि नै लू लाग्ने सम्भावना देखिएको समेत बताए । उनले १२२ वर्षपछि गत मार्च महिनामा नेपालको सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा अहिलेसम्मकै बढी तापक्रम रेकर्ड भएको बताए । उनले वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशनले पनि नेपालको पश्चिमी भागमा अत्याधिक तापक्रम वृद्धि हुँदै गएको तथ्यांक निकालेको बताए ।

जलवायुविज्ञ डाक्टर उप्रेतीले भने, ‘खास गरेर यो वर्षमा तापक्रम चैतको सुरुदेखि नै वा फागुनको अन्तिम सातादेखि चैतको प्रारम्भ हुँदादेखि नै तापक्रम बढेको अवस्था छ । अहिले ग्लोवल्ली पनि मार्च महिनालाई १२२ वर्ष यताकै सबैभन्दा गर्मी महिना भनेर रेकर्ड भएको छ । त्यो कुरालाई वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेशन मौसमसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पुष्टि गरेको र भारतको मेट्रोलोजिकल डिपार्टमेण्ट (मौसम विभाग) ले पनि १२२ वर्ष यताको वार्मेस्ट मन्थ (गर्मी महिना) मार्च भनेर डेटामा पनि आएको छ । अहिलेसम्म भारतको औषत तापक्रम मेक्सिमम (धेरै) मा मार्च महिनाको लागि ३०.८७ डिग्री सेल्सियस जुन रेकर्ड भएको छ, त्यो २०१० भन्दा यताको सेकेण्ड (दोस्रो) धेरै वार्मेष्ट (तापक्रम) हो । ’

लू बाट बचौं

अत्याधिक गर्मीका कारण मान्छे बेहास हुने, शरीरको तापक्रमले पसिनाको मात्रा घट्न जाने जस्ता समस्या हुने भएको पानी बढी मात्रामा पिउन आवश्यक छ । लूबाट बच्नको लागि ठूलो कार्यक्रम, आमसभा, भेलाहरु विहानको समयमा गर्ने वा तीन बजे भन्दापछि गर्न उपयुक्त हुने, बालीनाली भित्र्याउँदा पनि घाममा धेरै समय काम नगरी बिहान र साँझको समयमा गर्ने जस्ता उपाय अपनाउन सकिने छ ।

गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकहरुले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्तता हो ।

काँचो र नपाकेको मासु, बासी खाना, पचाउन नसकिने खाद्य पदार्थले फुड प्वाइजनिङ समेत हुन्छ । यस्ता विरामीलाई वान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्छ । जसले लु लाग्न सक्छ । लु लाग्दा शरीरबाट पसिना धेरै निस्केर पानीको मात्रा कम हुन गई उत्पन्न हुने समस्या र अंगहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा मुर्छा पर्ने लगायतका नकारात्मक असर हुन्छ । लुबाट बच्न पर्याप्त मात्रामा पानी पीउन चिकित्सकको सल्लाह छ ।

गर्मीको समयमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समयमा घाममा ननिस्कने, निस्कनै परेमा शरीर छोप्ने गरि लुगा लगाउने, छाताको प्रयोग गर्नुपर्दछ । पानीको बोतल साथैमा राखी पटकपटक पानी पिउनुपर्दछ । खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ, फलफूल प्रशस्त मात्रामा खानुपर्दछ । कडा घाममा नशालु पदार्थ सेवन गर्नु हुँदैन ।