नेपालगन्जको उखरमाउलो गर्मी, छिनमै बत्ती आउने र छिनमै जादाँ सर्वसाधारणलाई सास्ती


नेपालगन्जको उखरमाउलो गर्मी, छिनमै बत्ती आउने र छिनमै जादाँ सर्वसाधारणलाई सास्ती

सांकेतिक तस्विर

नेपालगन्ज १० वैशाख : नेपालगन्ज नेपालकै सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिन्छ । पछिल्ला कहीदिनदेखि नेपालगन्ज लगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लू’ चलेको छ ।

‘लू’का कारण यहाँको जनजीवन कष्टकर बनेकोछ । गर्मीयाम शुरु भएयता पानी नपरेपछि चर्को घाम र तातो हावा ‘लू’ चल्न थालेको छ । तापक्रम बृद्धि र ‘लू’ चल्न थालेसँगै बढी गर्मी महसुस भइरहेको छ । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ ।

नेपालगन्जमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाखमै उच्च गर्मी हुन थालपछि असार साउनमा के होला भनेर स्थानीय चिन्तित हुन थालेका छन् । गर्मीका कारण यस क्षेत्रका सर्वसाधारण अत्यावश्यक कामबाहेक बाहिर निस्कन कम गरेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ ।

बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारी खेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखाला लगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् ।

तापक्रम बढिरहेको छ । तापक्रम बढ्नु यो प्राकृतिक कुरा भयो । न यसलाई रोक्न सकिन्छ न त छेक्न । तर, यहीसमयमा भइरहेको अनियमित विद्युत कटौतीले भने नेपालगन्जबासीलाई थप सास्ती दिएको छ ।

गर्मीयामकै समयमा नेपालगन्जमा दैनिक चार पाँच घण्टासम्म वत्ति जाने गरेको छ । उखरमाउलो गर्मीले आक्रान्त नेपालगन्जबासीलाई घरभित्र बस्नै मुश्किल परेको छ । बत्ति भए पनि लो भोल्टेजका कारण फ्यान राम्रोसँग चल्दैनन् । नगरबासी भन्छन्, ‘कम्तीमा विद्युत प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरोस् ।’

प्राधिकरणले जतिबेला मन लायो त्यतिबेला बत्ती काट्ने गरेका कारण नगरबासी विद्युत प्राधिकरणप्रति आक्रोशित भएका छन् । व्यापार व्यवसाय प्रभावित भएको छ । उद्योग कलकारखाना सञ्चालनमासकस भएको उद्योगीहरु बताउँछन् । छिनमै बत्ती आउने र छिनमै जाने समस्याका कारण विद्युतिय सामाग्री विग्रने गरेको स्थानीयबासी बताउँछन् ।

विद्युत प्राधिकरणका कर्मचारीहरु भने रेडिमेट जवाफ दिन्छन् । उनीहरुले गर्मीमा माग बढी हुने र आपूर्ति कम हुने भएकाले समस्या छ । तर, उनीहरु लोडसेडिङ भने नभएको बताउने गर्छन् । नेपालगन्ज भौगोलिक हिसाबले समुन्द्री सतहदेखि १५८ मिटर उचाइमा रहेको छ । यहाँको तापक्रम विगत चार/पाँच वर्षको अन्तरालमा फेरबदल हुँदै आएको छ ।

बढ्दो गर्मीले सास्ती खेप्दै आएका स्थानीय बासिन्दा विद्युत आपूर्ति असहज हुँदा झन आक्रोशित बनेको नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले सेतोखरीलाई बताए । उनले विद्युत अनियमित हुँदा एकातिर गर्मीको बेला स्थानीयलाई समस्या भएको र अर्कोतिर उद्योग व्यवसायमा पनि अत्याधिक नराम्रो प्रभाव परेको बताए ।

विद्युत समस्याकै कारण अधिकांश उद्योगले आवश्यक परेको उत्पादन गर्न नसकेर घाटा सहन बाध्य भएको गुनासाहरु दैनिजसो संघको कार्यालयमा आइरहेको समेत उनले सुनाए ।

विद्युत प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले नेपालको लाइनबाट विद्युत आपूर्तिमा लोडका कारण समस्या भैरहेकाले विद्युत अनियमित हुने गरेको वितरण केन्द्र प्रमुख दिवाकर प्याकुरेलले बताउछन्।

उनले सो आपूर्ति सिस्टमबाट हुने गरेकाले अलिकति लोड बढ्ने वित्तिकै सिस्टमबाटै विद्युत आपूर्ति बन्द हुने गरेको जनाउँदै त्यसका लागि कोहलपुरमा थप उपकरण जडान गरिएकोले समस्या समाधान हुने बताए ।

प्रमुख प्याकुरेलका अनुसार नेपालगन्जमा भारतीय क्षेत्रबाट १० मेगावाट र नेपालको राष्ट्रिय प्रसारण लाइनबाट २० मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको भए पनि राष्ट्रिय प्रसारण लाइनबाट हुने आपूर्तिमा सिस्टमबाटै समस्या भैरहेको छ ।

गर्मीका बेला हरेक वर्ष नेपालगन्जको विद्युत आपूर्तिमा यस्तै समस्या हुँदै आए पनि यसको दीर्घकालीन निकासका लागि ठोस काम हुन सकेको छैन ।