नेपालगन्ज १५ वैशाख: स्थानीय तहको निर्वाचनमा पत्रकारले आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न आग्रह गरिएको छ । दल तथा उम्मेदवारको निर्वाचन प्रचार–प्रसारका लागि आचारसंहिता विपरित अतिरञ्जना गर्नेगरि सञ्चार माध्यम र सञ्चारकर्मी नलाग्न आग्रह गरिएको हो ।
नेपाल पत्रकार महासंघको आयोजना र महासंघ बाँके शाखाको संयोजनमा नेपालगन्जमा भएको सम्बद्ध सरोकारवालाबीचको अन्तरक्रियामा यस्तो बताइएको हो ।
नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुने काम नगर्न आग्रह गर्दै भने ‘महासंघले सधैं साझा र तटस्थ भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यसको गरिमा, साख र साझा चरित्र बचाउन हरेक सदस्यको भूमिका महत्वपूर्ण रहिआएको छ ।’
अन्तरक्रियाको उद्देश्यमाथि प्रकाशा पार्दै उनले महासंघको सदस्यता प्राप्त गरेका कोही पनि निर्वाचनमा उम्मेदवार बन्न चाहेमा सदस्यता त्याग्न सबैलाई आह्वान गरे ।
यस्तै नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका पूर्व सचिव जगत नेपालले निर्वाचनका बेला प्रेसका नाममा हुने दुरुपयोग, मतदाता बोक्ने र निर्वाचन प्रभावित पार्न पत्रकारबाटै हुनसक्ने आचारसंहित विरुद्धको कार्य रोक्न महासंघ कटिबद्ध भएर लाग्नुपर्ने बताए ।
उनले सत्यतथ्य, निष्पक्ष र तटस्थ सूचना सम्प्रेषण गर्ने पत्रकारको मूल दायित्व भएकोले आफ्नो जिम्मेवारीबाट विचलित नहुन आग्रह गरे ।
‘निर्वाचनका समयमा महासंघका सदस्यको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्ने पनि हो’ उनले अगाडी थपे–‘महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्य उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखि कायम रहेको पदबाट स्वतः मुक्त हुन्छन् त्यसलाई आत्मासाथ गरेर अघि बढ्नुपर्छ ।’
‘तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चारमाध्यमहरूले विशेष ख्याल गर्नुपर्छ । निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्छ’ नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले जोड दिए ।
उनले भने–‘जहाँ समस्या छ, त्यहाँ समाधानका उपाय छ । यसका लागि सम्बद्ध सरोकारवालाबीच समन्वयकारी भूमिका जरुरीछ ।’
उक्त अन्तरक्रियामा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरी शर्माले जिल्लाको समग्र शान्ति सुरक्षा, निर्वाचन गतिविध र रणनीतिका बारेमा प्रकाश पारेका थिए ।
‘जिल्लामा निर्वाचन सुरक्षा योजना एकीकृतरुपमा अघि बढाएका छौं’, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने–‘निर्वाचन निष्पक्ष, मर्यादित र भयरहीत बनाउन पत्रकारसहित सबैले समन्वयकारी भूमिका खेलौं ।’
यस्तै बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बाँकेमा आचारसंहिता विपरितका गतिविधिलाई रोक लगाउँदै जिल्लाको समग्र शान्ति सुरक्षा चुस्तदुरुस्त राखेको बताए ।
‘निर्वाचनका बेला हुनसक्ने झडप, मतदान स्थाल लगायतको सुरक्षाको उचित प्रवन्ध मिलाएकाछौं’, उनले अगाडी थपे–‘पत्रकारले समाचार सम्प्रेषण गर्दा सूचना र समाचार भेरिफिकेसन गरि सम्प्रेषण गर्दा हुनसक्ने क्षति न्यूनिकरण हुन्छ ।’
अन्तरक्रियामा सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाइले मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा निर्वाचन आचारसंहिता समिति निर्माण गरि जिल्लामा सुक्ष्मरुपमा निगरानी गरेको बताए ।
‘सबैले निर्वाचन आचारसंहितालाई पालना गरे कुनै विवाद आउँदैन, पत्रकारलाई पनि आचारसंहिता लागु हुन्छ, यसको पालना गरौं र गराऔं’ सहायक निर्वाचन अधिकृत चौलागाइले भने ।
अन्तरक्रियामा सहभागिहरुले दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन आग्रह गरे ।
अन्तरक्रियामा बारका निर्वतमान वरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव जयसिंह केसी, पत्रकार महासंघ पूर्व केन्द्रिय सदस्य झलक गैरे, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली र नियोक लुम्बिनी प्रदेशका सदस्य बसन्त गौतम लगायतको उपस्थितीमा भएको अन्तरक्रियामा निर्वाचनका बेला पत्रकारको भूमिका झन बढ्ने भन्दै सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्नमा जोड दिए ।
उनीहरुले यसका लागि निर्वाचन सम्बन्धि सूचना सम्प्रेषण र एकरुपता ल्याउन छुट्टै संयन्त्र खडा गरि अघि बढ्न सुझाव दिएका थिए ।
उक्त अन्तरक्रियामा निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक म्यासेन्जर, ट्विटर, यूट्युब र इन्स्टाग्राम जस्ता विद्युतीय माध्यमको प्रयोग गरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने उक्त अन्तरक्रियामा छलफल गरिएको थियो ।