नेपालगन्ज १५ वैशाख : बाँकेमा क्रियाशील राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बाँकेस्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनीधीहरुले वैशाख ३० को निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता गरेका हुन् ।
संवाद समूह बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा राजनीतिक दलहरुसँग गरिएको अन्तरक्रियात्मक संवाद कार्यक्रममा सो प्रतिवद्धता सार्वजनिक गरिएको हो ।
निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचारसंहिता कार्यान्वयन गर्नु पर्ने कुरामा दलका प्रमुख एवं प्रतिनीधीहरु एकमत भएका हुन् ।
निर्वाचन अधिकारी, सुरक्षा अधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवाको समेत सहभागिता रहेको कार्यक्रममा राजनीतिकर्मीहरुले आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउदै निर्वाचन द्वन्द्वरहित बनाउने बचनबद्धता प्रकट गरेका हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत खडानद तिवारीले आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउने भएकाले दलहरुले सो दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिए ।
आचारसंहिता उल्लघन कहीं कतै भएको पाइए उजुरी गर्न आह्वान गर्दै उनले प्रमाणका आधारमा कानूनी कारवाही गरिने प्रतिवद्धता पनि व्यक्त गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले शान्ति सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकता राखिएको भन्दै उनले दलका नेताहरुले आचारसहिंता पालनाको विषयलाई तल्लो तहमा पनि सर्कुलर गरिदिनु पर्ने सुझाव दिए ।
नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेकपा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, नेकपा माओबादी केन्द्रका नवीन शर्मा, नेकपा एकिकृत समाजबादी पार्टीका अशोक कोइराला, राष्ट्रिय जनमोर्चाका कृष्णराज पाण्डे, राप्रपाका विक्रमलाल श्रेष्ठले राजनीतिक दलका लागि बनाईएको आचारसंहिता कार्यान्वयन गर्न र गराउन आफु र आफ्नो पार्टी प्रतिबद्ध हुने बताएका थिए ।
कार्यक्रममा नियोगका प्रतिनीधी एवं अधिवक्ता वसन्त गौतम, सूचना अभियन्ता एवं नागरिक समाजका प्रतिनीधी विश्वजित तिवारी लगायतले पनि आचारसंहिता पालनामा सामुहिक एकता र सहकार्यमा जोड दिएका थिए ।
समुहका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएको कार्यक्रमको उद्देश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रह्लाद बहादुर कार्कीले प्रकाश पारेका थिए ।
स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहीत र शान्तिपूर्ण बनाउन संवाद समूहले सरोकारवालासँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकामा मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य गरि कुल ७ सय ७९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । भने सबैभन्दा कम डुडुवा गाउँपालिकामा एक सय ७७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
बाँकेका ८१ वटा वडाअध्यक्षका लागि ५१२, सदस्यमा ८७२, महिला सदस्यमा ४२४ र दलित महिला सदस्यमा ३९२ जनाको उम्मेदवारी परेकोछ । गत निर्वाचन भन्दा यसपटक वडाअध्यक्षमा ३८ जना बढिले उम्मेदवारी दर्ता गराएकाछन् ।
जिल्लामा कुल मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवदेनशील मतदानस्थलन छन् । जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा होमिएका छन् ।