कोहलपुर २४ वैशाख : बिगत ३० वर्षदेखी नेकपा एमालेका जनप्रतिनिधीहरुले कोहलपुरको सत्ता सञ्चालन गरिरहेका छन् । वि.सं. २०४९, २०५४ र २०७४ गरी तीन पटकसम्म एमालेको प्रतिनिधित्व गर्दै लुटबहादुर रावत कोहलपुरको प्रमुख पदमा आसिन भए ।
हिजोको गाविस र नगरपालिका हुँदा होस् या आजको स्थानीय तह नेकपा एमालेकै जनप्रतिनधीहरुले सञ्चालन गरे । तर, बिगत ३० वर्ष यता कोहपुरमा चर्चा गर्न लायक के बिकास भयो त ? स्थानीय तहको निर्वाचन हुन ६ दिन बाँकी रहँदा कोहलपुरबासीले फेरी एक पटक समिक्षा र चर्चा गर्नुपर्ने बेला भएको छ ।
प्रशासनिक भवन :
३० वर्षे स्थानीय सरकार चालाएको नेकपा एमालेको नेतृत्वले कोहलपुरमा एक प्रशासनिक भवन समेत निर्माण गर्न सकेको छैन । बिकट दुर्गम स्थानका पालिकाहरुले समेत प्रशासनिक भवन मार्फत एकिकृत र जनमैत्री सेवा दिईरहेका छन् । तर, कोहलपुरबासीले त्यो मौका पाएनन् । स्थानीय तहबाट एकिकृत सेवा दिँदा जनताले सहज सुबिधा पाउने भएपनि त्यसो हुन सकेको छैन ।
३० वर्षदेखी एउटै पार्टी र एउटै व्यक्ति कोहलपुरको नेतृत्वमा भएपनि एक भवन समेत बन्न नसक्नु लज्जास्पद कुरा हो ।
स्वाथ्य केन्द्रः
देशभरका कतिपय स्थानीय तहले आफ्नै अस्पताल सञ्चालन गरी सकेका छन् । तर, कोहलपुरमा हालसम्म पनि ईमरजेन्सी सेवा सहितको अस्पताल निर्माण तथा सञ्चालन गरिएको छैन । अस्पताल त टाढाको कुरा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको समयमा कोहलपुर नगरपालिकाले आफ्नै एम्बुलेन्स समेत सञ्चालन गर्न सकेन । आधारभूत अधिकारमाथि नै खेलवाड गरेर सरकार सञ्चालन गर्न खोज्नु लाजको बिषय हो ।
शिक्षाः
कोहलपुर अधिकांस विद्यालयहरुमा अहिले पनि टिनको छानो भित्र पढाई हुने गरेको छ । ३० वर्षे शासनकालमा एमाले जनप्रतिनधीहरुले टिनको छानो समेत फेर्न नसक्नुको मुख्य कारण के होला ? शिक्षा प्रतिको बुझाई वा जवाफदेहीता र जिम्मेवारीता के हो ? जनताको प्रश्न छ । टिनका छानो, अप्रर्याप्त शिक्षक दरबन्दी, स्वच्छ खाने, शौचालयको प्रबन्ध नहुँुदा गुणस्तरीय शिक्षा हुने कुरा भएन यसको दोष कसले लिने ?
खानेपानी:
कोहलपुरमा खानेपानीको उचित प्रबन्ध समेत छैन । कोहलपुरको अधिकांस जनताका हाते धारोको पानिबाटै जीवन निर्वाह गरिरहेका छन् । कतिपय वडाहरुमा चैत्र र बैशाखमा हाते धारोको पानि समेत नआउँदा जनताको जीवन कष्टकर हुने गरेको छ । कोहलपुरको अधिकांस हाते धाराको पानिमा आर्सेनिक मिसीएकाले त्यसलाई स्वाथ्यका लागि हितकर मानिदैन ।
३० वर्षे स्थानीय सरकार सञ्चालन गर्दा खानेपानीको उचित प्रबन्ध गर्न नसक्नु लज्जाको विषय हो । कोहलपुरको केही वडाहरुमा खानेपानीको संरचना निर्माण भएको भएपनि अधिकांस वडाबासी जनता स्वच्छ खानेपानी कल्पना भन्दा बाहीरको कुरा भएको छ ।
सडक सञ्जाल:
कोहलपुरका कतिपय वडाबासी जनता मुख्य राजमार्गको सडक सञ्जालमा जोडीएका छैनन् । मुख्य बजार क्षेत्रका बाटोहरु समेत कालोपत्रे नभएको अवस्था त छदैँछ । खास गरी कोहलपुर नगरपालिका वडाहरु ४, ५, ७, ८, ९, १२, १३, १५ जनतालाई कालोपत्रे सडक हेर्न रहरको विषय भएको छ । बिगतको गाविस र नगरपालिकाको कुरा छोडौँ ति वडाहरुमा पछिल्लो ५ वर्षे स्थानीय सरकारको बेलामा समेत ५ सय मिटर भन्दा कम बाटो कालोपत्रे गरिएको पाईन्छ । ति वडाहरुमा ढल निकास, कालोपत्रे बाटो कल्पनाका कुरा भएका छन् ।
५ वर्षमा ५ सय मिटर भन्दा कम सडक कालोपत्रे गर्ने जनप्रतिनधीहरु कुन मुख लिएर जनताको घरदैलोमा गएका छन्, समिक्षाको विषय बनेको छ । अझ भनौं कोहलपुर– १५ मा दुई पालिका जोड्ने बाटोमा समेत पुल निर्माण हुन सकेको छैन । भने कोहलपुर ७, १२, १३ एक गाँउबाट अर्को गाँउ जाँदा वर्षायाम होस् या अन्य समय होस् खोलो तरेर हिँड्नुपर्ने अवस्था छ । समान्य पुल अथवा झोलुङे पुल समेत निर्माण हुन सकेको छैन । के कोहलपुरबासी जनताले यहि नियती भोगिरहनु पर्ने हो ?
कोहलपुर नगरविकास समिती भित्रको टाउन प्लान, मुख्य महेन्द्र राजमार्ग र रत्न राजमार्ग बाहेक अन्य ठाँउमा कालोपत्रे हेर्न नपाएको अवस्था छ । मुख्य राजमार्ग क्षेत्रमा समेत कालोपत्र हुन सकेको छैन भने भित्री बाटोहरुको अवस्था झन् नाजुक छ ।
फोहर मैला र छाडा चौपाया व्यवस्थापन :
कोहलपुर नगरपालिकाले फोहरमैला व्यवस्थापनमा महत्वकांक्षी योजना सुरु ग¥यो तर, यसले फोहरमैला व्यवस्थापन भन्दा पनि थप अस्तव्यस्त सृजना ग¥यो । निजी कम्पनिसँगको साझेदारीमा सुरु गरेको फोहरमैला व्यवस्थापन योजना अहिले अलपत्र अवस्थामा छ । कोहलपुर–९ मा स्थापना गर्न लागीएको फोहरमैला प्रशोधन केन्द्र कुनैपनि हालतमा चल्न नदिने भन्दै स्थानीयले ताला लगाईदिएका छन् ।
आगमी दिनमा उक्त आयोजना कसरी अगाडी बढ्छ चासोको विषय बनेको छ । त्यस्तै छाडा चौपाया व्यवस्थापनमा पनि कोहलपुरको मुख्य समस्याका रुपमा रहेको छ । बिगत ५ वर्षमा मुख्य समस्या बनेको छाडा चौपाया व्यवस्थानमा कुनै प्रगती हुन सकेको छैन ।
पर्यटन र रोजगार :
पर्यटन र रोजगारका क्षेत्रमा पनि शून्य प्रगती छ । बेरोजागरलाई रोजगार दिने वा स्वरोजगार बनाउने बारे ३० वर्षसम्म खास्सै उपलब्धी केही देखिएको छैन । पर्यटन र रोजगारका क्षेत्रमा कोहलपुर भन्दा कम सम्भावना बोकेका क्षेत्रले ठूलो फड्को मार्दा समेत कोहलपुरको टाउन प्लान क्षेत्र भित्र रहेका झण्डै १ दर्जन पार्क निर्माणका लागी छुट्ईएका क्षेत्रहरु अझैं अलपत्र अवस्थामा छन ।
व्यवस्थीत बजार :
कोहलपुरमा अब्यवस्थीत बजारका कारण बजार व्यववसाय संकटको अवस्थामा छ । मुख्य रुपमा ठेला गाडा, खुद्रा बजार व्यवस्थापन, कृर्षी हाटबजार सञ्चालन लागायतका कामहरु सुरुवात नै हुन सकेका छैनन् । नत मासुजन्य व्यवसाय, अटो पाट्स व्यवसायलाई व्यवस्थीत गर्न सकिएको छ । जसका कारण बजार कुरुप हुनुका साथै बजार प्रर्बद्धन समेत हुन सकेको छैन । यस क्षेत्रमा प्रगती नभएको होईन, प्रयास नै नभएको चाहीँ पक्कै हो । स्थानीय बजार प्रर्बद्धनका लागी समेत स्थानीय सरकारले ठोस् निती ल्याउन सकेको छैन ।
अव्यवस्थीत र भुमिहीन सुकुम्वासी :
कोहलपुर मुख्य समस्या भुमिहीन, सकुम्वासी र अव्यवस्थीत बसोबासी हो । तर, भुमिहीन सुकुम्वासी र अब्यवस्थीत वसोवासको समस्या समाधानका लागी कोहलपुर नगरपालिकाले कुनै पहल लिएन । खास गरी कोहलपुर नगरपालिका वडा नम्बर–११ र अन्य क्षेत्रमा जर्जर रहेको समस्या समाधानका लागी बिगत ५ वर्ष र सो भन्दा अघी कुनै काम हुन सकेन । न्युनतम रुपमा लागत संकलन समेत हुन नसकेको गुनासो स्थानीयको छ ।
कोहलपुरको समग्र बिकासका बारेमा जनता चिन्तित छन्, स्थानीय सरकारको रबैया देखेर निराश छन् । अझ भनौ कुशल नेतृत्वको खोजिमा छन् । कुशल नेतृत्वको पहल कदमी बिना बिकास सम्भव नहुने बुझेका जनताहरु यस पटक बिवेकको मत मार्फत समृद्ध कोहलपुर निर्माणका लागी योग्य र सक्षम नेतृत्व चयन नगर्ने हो भने जिल्लाको दोस्रो ठूलो सहर अन्य गाँउपालिका भन्दा पछाडी पर्ने निश्चित जस्तै छ । त्यसकारण यसपटक बिगतमा कसलाई मतदान गरेका थियौं भन्दा पनि सुझबुझपूर्ण विवेक मार्फत योग्य, कुशल र भिजन भएकालाई मतदान गरौं ।