कसरी हुन्छ मतगणना ?


कसरी हुन्छ मतगणना ?

File Photo

नेपालगन्ज २९ वैशाख : मतगणनाका लागि निर्वाचन अधिकृतले मतदानको अघिल्लो दिन नै गणना हुने स्थल र समय तोकेर सूचना प्रकाशित गर्नुपर्नेछ ।

गणनास्थलमा मतपेटिका जम्मा भएपछि उम्मेदवार वा दलका प्रतिनिधिलाई राखेर मुचुल्का तयार गर्नुपर्नेछ । बहुसंख्यक उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा गणना कार्य सुरु गर्न मिल्दैन ।

मतगणना सुरु भएको मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको मतगणना गर्न लागिएको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन देखाउनुपर्छ ।

त्यस्तै, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको क्रम उल्लेख गरिएको छ, छैन त्यो पनि यकिन साथ देखाउनुपर्छ ।

Kids Festival 2022
kanti aarogya hospital

निर्वाचन अधिकृतले प्रतिनिधिको रोहबरमा मतपेटिका जाँच गरिसकेपछि मतपेटिका जाँच गरेको मुचुल्का तयार गर्नुपर्नेछ । मुचुल्का गर्दा मतगणनाको काममा खटाएको कर्मचारी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई हस्ताक्षर गराइनेछ ।

मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा मुचुल्कामा सोही व्यहोरा खुलाई त्यस्तोमतपेटिका सुरक्षित स्थानमा राख्नु पर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा आवश्यक सहमति कायम गरी मतगणना गर्ने दायित्व निर्वाचन अधिकृतको हुनेछ ।

गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना छुट्टाछुट्टै गर्नुपर्नेछ । तर, एउटै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भएर मतदान भएको अवस्थामा वडाको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपेटिका एकै ठाउँमा मिसाई मात्रै गणना गर्नुपर्नेछ ।

मतगणना सुरु गरेपछि नसकेसम्म विशेष परिस्थितिमा बाहेक स्थगित नगर्न आयोगले निर्देशन दिएको छ । यदि स्थगित नै गर्नु परेमा औपचारिक रूपमा सूचना निकाल्नुपर्ने र त्यसको जानकारी दिनुपर्नेछ । गणना गरिसकेपछि आएको परिणामलाई निर्वाचन अधिकृतले तोकिएको ढाँचामा माथिल्लो निकायमा पठाउने र सार्वजनिक गर्नुपर्छ ।