नेपालगन्जको मतगणना जारी, मतदाता ब्यग्र प्रतिक्षामा


नेपालगन्जको मतगणना जारी, मतदाता ब्यग्र प्रतिक्षामा

नेपालगन्ज ३१ वैशाख : नेपालगन्ज उपमहानगरपालिकाको मतगणना शनिबार विहान ढिलो गरि सुरु भएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर २३ को एकैपट मतगणना सुरुवात गरिएको हो ।
नेपालगन्ज उप–महानगरकामा २३ वटा वडा रहेकाछन् । जसमध्ये वडा नम्बर–१ र २३ बाट मतगणना सुरु गरिएको छ ।

नेपालगन्ज वडा नम्बर–१ मा कुल ४ हजार ३३९ मतदाता रहेकाछन् । जसमध्ये ३ हजार २५ मत खसेको छ । भने वडा नम्बर–२३ मा सबै भन्दा कम ९ सय ४५ जना मतदाता रहेका छन् । यी दुबै वडामा ६÷६ जना वडा अध्यक्षका उम्मेदवार छन् ।

स्थानीय भेरी प्राविधिक शिक्षालयको हलमा मतगणना सुरु भएको हो । शनिबार बिहान ८ बजेबाट गणना सुरु हुने भनिएपनि करिव अढाई घण्टापछि सुरु भएको हो ।

मत गणनाको तयारी नहुँदा र उम्मेदवार समयमा सम्पर्कमा नआउँदा ढिलाई भएको निर्वाचन कर्मचारी बताउँछन् । मतगणना स्थलमा सुरक्षाकर्मी ठुलो संख्यामा परिचालन भएका छन् । मतगणना भइरहेको स्थानमा जाली लगाइएको मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

‘नेपालगन्जको मतगणना सुरु भइसकेको छ, मतगणना स्थलमा जाली लगाएका छौं,’ उनले भने । मतगणना स्थल भेरी प्राविधिक शिक्षालयको मुलगेट भन्दा बाहिर ठुलो संख्यामा सर्बसाधारणको उपस्थिती रहेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाँकेमा ६५ प्रतिशत मतदान भएको जनाएकोछ ।

यसैबीच, बाँकेमा निर्वाचनको मतगणना सम्बन्धी सूचना प्राप्त गर्न पत्रकारहरुले सास्ती खेप्नु परेको छ । बाँकेमा निर्वाचनको मतगणना सुरु भईसक्दा पत्रकारले सहज रुपमा आधिकारिक सूचना प्राप्त गर्न नसकेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृत सहितको टोली खटिएको छ । पत्रकारका अनुसार अधिकांस निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतको फोन उठ्दैन ।

छिमेकी जिल्ला बर्दिया र दाङ जिल्लाका सबै स्थानीय तहको मतगणना परिणाम मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत एकैसाथ सार्वजनिक गर्ने ब्यवस्था भइरहेका बेला बाँकेमा सूचना प्रवाहमा बेवास्ता गरिएको छ । सही सूचना प्राप्त गर्न नसक्दा बाँकेका पत्रकारहरुले हैरानी बेहोरेका हुन् ।

‘मुख्य निर्वाचन अधिकृतको फोन उठ्दैन, सूचना अधिकारी कस्लाई तोकिएको छ, त्यो पनि जानकारी छैन, अरु स्थानीय तहका निर्वाचन अधिकृतको पनि अवस्था त्यस्तै छ, यसले गर्दा जिल्लाभरका स्थानीय तहको निर्वाचन मत परिणाम अपडेट गर्न एकदमै समस्या भईरहेको छ,’ एक पत्रकारले भने ‘सूचनाको युगमा पत्रकारलाई यसरी सूचनाबाट बञ्चित गर्नु दुर्भाग्य नै हो ।’

विगतका निर्वाचनमा नेपालगन्जमा मतगणना स्थलमा पत्रकारका लागि इन्टरनेट सुविधासहित मिडिया सेन्टर स्थापना गर्ने गरिएको थियो । यसपटक पत्रकारलाई सूचना प्रदान गर्ने विषयमा निर्वाचन कार्यालयले खासै चासो नदिएको अधिकांस पत्रकार तथा सञ्चारकर्मीको गुनासो छ ।

मतगणनाको सूचना पत्रकारले सम्बन्धित अधिकारीबाट सहज रुपमा पाउन नसक्दा मत परिणाम फरक–फरक सार्वजनिक हुन सक्ने खतरा देखिएको छ । निर्वाचन कर्मचारीको गैरजिम्मेवारीका कारण नेपालगन्जसहित ८ वटै स्थानीय तहबाट आधिकारिक सूचना पाउन पत्रकारलाई सास्ती र चुनौती छ ।