महानगर र उपमहानगरमा एमालेका ‘आयातित’ उम्मेदवारको कन्तविजोग !

‘गैरकम्युनिस्ट र अवसरवादीमाथि भरोसा गर्दाको परिणाम’


महानगर र उपमहानगरमा एमालेका ‘आयातित’ उम्मेदवारको कन्तविजोग !

नेपालगन्ज ३ जेठ : स्थानीय तह निर्वाचनको प्रारम्भिक नतिजाले ‘आयातित’ उम्मेदवारका कारण एमालेको हालत कन्तबिजोग हुने देखाएको छ । निर्वाचन जित्ने विश्वासका साथ उनीहरुलाई पार्टीमा ठूलै हल्लाखल्ला गर्दै भित्र्याएर उम्मेदवार बनाएको एमालेले उनीहरुबाट खासै प्रतिफल पाउने अवस्था नदेखिएको हो ।

प्रारम्भिक नतिजा निराशाजनक आएपछि पार्टीभित्रै खैलाबैला मच्चिनुका साथै गम्भीर समीक्षाको आवश्यकता महसुस गराएको छ । यद्यपि प्रारम्भिक नतिजालाई लिएर एमालेले सत्तापक्षमाथि धाँधलीको आरोप लगाइसकेको छ ।

एमाले नेतृत्वले ‘फेस सेभिङ’का लागि धाँधली भने पनि पराजित हुनुमा आन्तरिक कमजोरीसमेत रहेको एमाले नेताहरुको विश्लेषण छ । ‘आयातित उम्मेदवारलाई प्राथमिकता दिँदा अपेक्षाअनुसार नतिजा आएन, आउने पनि देखिएन, यसमा पार्टीभित्र गम्भीर समीक्षा जरुरी छ’, एमालेका एक पदाधिकारी भन्छन्, ‘भिड बढाउन जो भेट्यो त्यसलाई पार्टीमा प्रवेश गराउने, गैर कम्युनिस्ट र उद्यमीलाई विश्वास गर्ने तथा भक्तिभाव गर्नेहरुलाई टिकट दिइहाल्ने प्रवृति ठिक छैन भन्ने पुष्टि भयो ।’

वैशाख ३० मा मतदान भएका ७५२ पालिकामध्ये आधाजसो पालिकाको मत परिणाम सार्वजनिक भइसकेको छ । सर्वसाधारणदेखि पार्टी र नेताहरुले निर्वाचन परिणाम र प्रारम्भिक नतिजाको समीक्षासमेत गरिरहेका छन् ।
काठमाडौंमा बालेन साहदेखि चितवनमा रेनु दाहाल र धनगढीमा गोपाल हमालसम्मको चर्चा र ‘दबदबा’ बढ्दो छ । यसै मेसोमा काठमाडौंकै केही वडामा एमाले उम्मेदवारले जित्दा मेयरका उम्मेदवार केशव स्थापितलाई एमालेकै मतदाताले किन भोट दिएनन् भन्ने प्रश्न पनि स्वाभाविक रुपमा उठेको छ । स्थापितसँगै जोडिएर एमालेका अन्य केही आयातित उम्मेदवार पनि पर्दामा आएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

एमालेले काठमाडौं महानगरको मेयरका उम्मेदवार बनाएका केशव स्थापितदेखि वीरगञ्जमा मेयरकै उम्मेदवार बनाएका विजय सरावगी हुँदै नेपालगञ्ज र जनकपुर उपमहानगरमा मेयरका उम्मेदवार बनाइएका पशुपति दयाल मिश्र र शिव शंकर साहबारे एमालेका लागि गम्भीर समीक्षाको विषय बनेका छन् ।

एमालेले यसपटक काठमाडौंको मेयरमा केशव स्थापितलाई नै किन रोज्यो भन्नेबारे एमालेकै कतिपय नेता अनभिज्ञ छन् । उनी २०५४ सालमै एमालेबाट काठमाडौंको मेयर भइसके पनि त्यसयता उनी माले, प्रजापरिषद, माओवादी मात्रै नभई राजावादीसमेत भएर पुनः एमालेमा फर्किएका नेता हुन् ।

हक्की र मनमा लागेको कुरा भनिहाल्ने स्वभावका स्थापित काठमाडौंबासीका लागि नयाँ अनुहार भने होइनन् । कतै कामले त कतै बोलीले बेलाबेला विवादमा समेत मुछिँदै आएका उनलाई एमालेले काठमाडौं महानगर प्रमुखमा एमालेले उम्मेदवार बनाए पनि उनले ल्याएको प्रारम्भिक नतिजाले अधिकांश एमालेजनलाई छटपटीको अवस्थामा पु¥याएको छ ।

झण्डै चार दशकदेखि राजनीति गरेका स्थापित यसबेला आफ्नो राजनीतिक करियरभन्दा पनि कम उमेरका, त्यो पनि कुनै पार्टीमा संगठित नभएका स्वतन्त्र उम्मेदवार बालेन साहलाई पछ्याइरहेका छन् । चार दिन यताको नतिजामा स्वतन्त्र उम्मेदवार साहले स्थापितसँग झण्डै दोब्बर मतको अग्रता बनाइसकेका छन् ।

काठमाडौंमा साहको अचानक उदयसँगै अहिले प्रारम्भिक नतिजामा देखिएको अन्तर अन्तिमसम्म रहने धेरैको अनुमान छ । जसलाई एमालेकै नेता कार्यकर्ताले ‘आयातित उम्मेदवारको कमाल’ समेत भनेर टिप्पणी गर्न थालेका छन् । त्यसो त चुनावी नतिजामा स्थापित पछाडि पर्नुमा पूर्व मेयर विद्यासुन्दर शाक्य र पूर्वमन्त्री रामवीर मानन्धर ‘फ्याक्टर’ले समेत काम गरेको कतिपयको भनाइ छ ।

‘केशव स्थापितको नतिजा कमजोर देखिनुमा धेरै फ्याक्टर छन्, त्यसमा उहाँको नेचर, बोली र व्यवहारले पनि काम गरेको छ, त्यो बाहेक टिकट वितरणमा नेतृत्वले ध्यान दिन नसक्नु अर्को कारण हो’, एमाले काठमाडौंका एक नेता भन्छन्, ‘धनवाद, डनवाद र हैकमवादलाई प्रश्रय दिँदाको परिणाम हो यो ।’

काठमाडौंमात्र होइन, एमालेले वीरगञ्ज महानगरमा मेयरको उम्मेदवार बनाएका विजय सरावगीको पनि हालत उस्तै छ । स्थानीय तहको मतदान मितिभन्दा केही दिन अघिमात्रै एमालेले जनता समाजवादी पार्टीका नेतासमेत रहेका सरावगीलाई पार्टीमा भित्र्याएको थियो । वीरगञ्जका व्यापारी समेत रहेका सरावगीसँग पैसा र पहुँचको कुनै कमी छैन । तर, उनले अहिलेसम्म ल्याएको मत परिणाम हेर्दा मतदाताले उनलाई खासै रुचाएको पाइँदैन ।
२०७४ को स्थानीय निर्वाचनमा समेत मेयर भइसकेका सरावगीका प्रतिस्पर्धी जसपाकै उम्मेदवार राजेशमान सिंह छन् । हालको नतिजामा सरावगीभन्दा सिंह निकै अघि देखिएका छन् ।

वीरगञ्जको सुरुवाती मत गणनामा सिंह सरावगीभन्दा झण्डै दुई तिहाइले अघि छन् ।

नेपालगन्ज र जनकपुरमा पनि छैन फरक

काठमाडौं महानगर र वीरगञ्जमात्रै होइन, एमालेले महत्वपूर्ण उपमहानगरमा पनि ‘आयातित’लाई नै महत्व दिएको छ । नेपालगन्ज र जनकपुर उपमहानगरमा एमालेले आयातितलाई महत्वका साथ अवसर दिएपछि लामो समयदेखि एमालेमा रहेर योगदान दिएकाहरु नै रुष्ट बनेका छन् । एमालेले नेपालगन्जको मेयरमा उम्मेदवार बनाएका पशुपति दयाल मिश्र गैर कम्युनिस्ट हुन् । मिश्रलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुनुभन्दा केही महिना अघिमात्रै पार्टीमा प्रवेश गराएका थिए ।

स्वतन्त्र राजनीतिक समूह बनाएर राजनीतिक गतिविधि गर्दै आएका मिश्रले एमाले प्रवेश गर्दा आफूसँग झण्डै चार हजार कार्यकर्तासहित प्रवेश गरेको दावी गरेका थिए । मिश्र हाल नेपालगन्जको मेयरका लागि नेपाली काँग्रेसका प्रशान्त विष्टसँग प्रतिस्पर्धा गर्दैछन् ।

उता जनकपुर उपमहानगरको मेयरका उम्मेदवार बनेका शिव शंकर साह पनि गैर कम्युनिस्ट र व्यापारी पृष्ठभूमिका व्यक्ति हुन् । जसलाई चुनावभन्दा केही महिना अघिमात्रै एमालेले पार्टीमा भित्र्याएको हो ।

जनकपुर उद्योग वाणिज्य महासंघ लगायत विभिन्न संघ संगठनमा आवद्ध साहलाई नेता रघुवीर महासेठको जोडबलमा मेयरको टिकट दिएको एमाले नेताहरुको भनाइ छ । जनकपुरको मेयरमा मात्रै होइन, उप मेयरमा पनि एमालेले आयातित रुना झालाई उम्मेदवार बनाएको छ । ‘जसले जित्छ, त्यसले टिकट पाउँछ’, भन्ने एमाले नेताहरुको भनाइलाई काठमाडौं, वीरगञ्ज, नेपालगन्ज र जनकपुरमा गरेको उम्मेदवार छनोटले गलत सावित गरेको छ ।

प्रारम्भिक नतिजा र उम्मेदवार छनोटबारे एमालेका एक पदाधिकारी विश्लेषण गर्दै भन्छन्, ‘गैर कम्युनिस्ट भित्र्याउने, पार्टीमा व्यक्तिवाद हावी र नेतृत्वको जयजयकार गर्नेहरुबाट रमाउँदा यो हालत भयो ।’

‘गम्भीर आत्मसमीक्षा हुन्छ’

एमाले उपाध्यक्षसमेत रहेका युवराज ज्ञवाली अपेक्षा अनुसार नतिजा नआउनुमा तीन चार वटा कारण रहेको बताउँछन् । ‘जुन अपेक्षा थियो, त्यो अनुसार प्रारम्भिक नतिजा नआएको सत्य हो’, ज्ञवालीले भने, ‘यसमा तीन चार वटा कारणले काम गरेको छ ।’ उनले सत्तापक्षले निर्वाचनमा गरेको धाँधली प्रमुख कारण र अन्य सहायक कारणहरु रहेको बताए । त्यसको गम्भीर समीक्षा हुने ज्ञवालीको भनाइ छ ।

‘प्रारम्भिक नतिजा अपेक्षा अनुसार आएन । सत्ता पक्षले धाँधली पनि गरेको छ’, ज्ञवालीले भने, ‘अर्को, पार्टी विभाजनको असर पनि हो । दुई तिहाइबाट आज यो ठाउँमा पुगिएको छ, यसको ठण्डा दिमागले आत्मसमीक्षा हुन्छ ।’ -रातोपाटीबाट