मिडिया साक्षरता बढाऔँः प्रेस काउन्सिल अध्यक्ष बस्नेत


मिडिया साक्षरता बढाऔँः प्रेस काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौँ १३ जेठ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरता (लिटिरेसी) मा सबैले ध्यान दिनुपर्ने सुझाव दिएकाछन् ।

‘पत्रकारितामा नयाँ पुस्ताको आगमन बढिरहेको छ, अनलाइनमा झन् बढी छ, यो पुस्ताकालागि आचारसंहितालगायतका विषयमा साक्षरता कार्यक्रम बढाउनुपर्ने देखिन्छ’– काउन्सिलद्वारा शुक्रबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कक्षामा बोल्दै उनले भने ।

मिडिया साक्षरताको लागि सरकारले पर्याप्त स्रोत÷साधन उपलब्ध गराउनुपर्ने बस्नेतको सुझाव थियो । ‘काउन्सिलले खासगरी नयाँ आउने अनलाइन मिडियाका सञ्चालक र पत्रकारमा केन्द्रित भई नियमितरूपमा आचारसंहिता अभिमुखीकरण अभियान थालेको हो’ उनले भने ।

सोही क्रममा विषय विज्ञका रूपमा आएका त्रिभुवन विश्व विद्यालय पत्रकारिता तथा आमसञ्चार विषयका सह–प्राध्यापक डाक्टर कुन्दन अर्यालले काउन्सिलको पछिल्लो कदमको स्वागत गरे । साथै उनले सञ्चारकर्मी आफैँ सक्षम नभई पत्रकारिता स्वच्छ नहुने धारणा राखे ।

Kids Festival 2022
kanti aarogya hospital
add

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ५ मा रहेको सम्पादकीय स्वतन्त्रतामा केन्द्रित भएर उहाँले आफ्नो प्रस्तुति राखे ।

सम्पादकले आफूले लेखेको र आफ्नो मिडियाबाट छापिएका सबै कुराको जिम्मेवारी लिन सक्नुपर्ने उनले बताए । पत्रकार आफैँ स्वतन्त्र हुनसके मात्र सम्पादकीय स्वतन्त्रता बच्ने भन्दै दबाब र प्रभावमा सम्पादक पर्न नहुने उनको सुझाव थियो ।

काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाहरूमा उल्लेख प्रावधानबारे जानकारी दिए । उनले महिला उत्तरदायी सञ्चार निर्देशिका–२०७६, अपाङ्तामैत्री सञ्चार निर्देशिका–२०७३, बालमैत्री सञ्चार निर्देशिका–२०७३ तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका–२०७८ मा उल्लेख प्रावधानहरूबारे जानकारी दिए ।

वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनाल र काउन्सिलका कर्मचारीको सहभागिता रहेको उक्त कक्षमा भौतिक रूपमा ३२ जना र जुम मार्फत १२ जनाले प्रशिक्षण लिएका थिए । सहभागीमध्ये आवश्यक प्रक्रिया पुगेका अनलाइन सञ्चार माध्यमलाई प्रमाणपत्र तथा काउन्सिलले जारी गरेको आचारसंहिता लगायतका पुस्तक प्रदान गरिएको थियो ।