के हो हैजा ? कसरी यो रोगबाट बच्ने ?


के हो हैजा ? कसरी यो रोगबाट बच्ने ?

File Photo

नेपालगन्ज ३ असार : हाल केहि दिन यता झाडापखालाका बिरामी निरन्तर देखिने क्रम जारी छ । अधिकांश बिरामीमा कारक संक्रमण पत्ता लाग्ने गरेको देखिँदैन । झाडापखाला गराउने संक्रमणहरु मध्य हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्ने सम्भावना बढी रहन्छ । १० संक्रमित मध्ये १ जनामा हैजाले जटिल अवस्था निम्त्याउँछ । समयमा उपचार गरिएन भने मृत्युदर पचास प्रतिशतसम्म पुग्न सक्दछ । तसर्थ हैजाको छिटो पहिचान र सहि उपचार नै जटिलताबाट बच्ने मुख्य उपाय हो । लक्षणहरुको आधारमा हैजाको शंका गर्न सकिने छ भने निश्चित निदानको लागि दिसाको कल्चर गर्नुपर्दछ ।

हैजाको संक्रमण भएका बिरामीले समयमै उपचार नपाएको खण्डमा जटिलता सिर्जना भएर उसको ज्यानै पनि जान सक्ने चिकित्सकहरु बताउँछन् । त्यसैगरी, हैजाका कारण शरीरमा पानी कम भएर मृगौलासमेत फेल पनि हुन सक्छ ।

हैजाका लक्षणहरु

१. चौलानीजस्तो सेतो दिसा हुने
२. दिसा पानीजस्तो पातलो हुने ।
३. तारन्तार दिसा हुने ।
४. दुखाई रहित दिसा हुने ।
५. दिसा लागेकै कारण बिरामी चाँडै शिथिल हुने ।
६. दिसासँगै वान्तासमेत हुने ।
७. शरीरमा पानी कम हुने ।
८. खट्टा बाउँडिने ।
९. मुख सुक्ने ।
१०. तारन्तार दिसा लागेको केही घण्टामै आँखा गाढिने ।
११. छालाको तन्काई कम हुने इत्यादि ।

Kids Festival 2022
kanti aarogya hospital
add

जोगिने उपायः
१. उमालेर मात्र पानी पिउने ।
२. साबुन पानीले राम्ररी हात धुने ।
३. फोहोर, झिंगा भन्केका तथा बासी खाना नखाने ।
४. हरिया सागपात तथा फलफूल राम्ररी धोएर तथा पखालेर मात्र खाने ।

हैजा भिब्रियो कलेरा नामक ब्याक्टेरियाको कारणले हुने गर्दछ । गत वर्ष कपिलवस्तुको कृष्णनगर नगरपालिका ७, ८ र ९ मा ८८५ जना संक्रमित भए भने ती मध्य चार जना बिरामीको मृत्यु समेत भएको थियो। र ती चार जना मध्ये ३ जना त १० वर्ष मुनिका नै थिए । समयमा उपचार नपाउदा यी संक्रमितहरुको मृत्यु भएको थियो ।

हाल समुदायस्तरमा झाडापखाला देखिएको र धेरैले आफैं औषधि लिने गरेको देखिन्छ र स्वस्थ लाभ गर्न नसके मात्र अस्पताल भर्ना हुने गरेका देखिन्छन् । तर, हैजामा उपचार ढिला भए जटिल अवस्था देखिन सक्ने भएकोले यी माथि उल्लेखित लक्षणहरु देखिए तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ ।