नेपालगन्जका २० हजार बढि बालबालिकालाई कोभिड विरुद्धको खोप


नेपालगन्जका २० हजार बढि बालबालिकालाई कोभिड विरुद्धको खोप

नेपालगन्ज ६ असार : बाँकेका ७६ हजार बढि बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएकोछ । यही असार ९ गतेदेखि सञ्चालन हुने उक्त खोप अभियानमा बाँकेका ५ वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको फाइजर–बायोएनटेक खोप दिइने भएको हो ।

असार ९, १० र ११ गतेसम्म चल्ने खोप अभियानमा ७६ हजार २३९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेमा सबैभन्दा धेरै नेपालगन्ज उपमहानगरपालिकामा २० हजार २३१ जना बालबालिकालाई खोप लगाउने लक्ष्य छ भने सबैभन्दा कम नरैनापुर गाउँपालिकामा ६ हजार ३३२ जनालाई खोप लगाउने लक्ष्य छ ।

यस्तै बैजनाथ गाउँपालिकामा ८ हजार ३४५, डुडुवा गाउँपालिकामा ६ हजार ९८८, जानकी गाउँपालिकामा ६ हजार ३७२ जनालाई खोप लगाउने लक्ष्य छ । यसैगरि कोहलपुर नगरपालिकामा १० हजार २३१, खजुरा गाउँपालिकामा ८ हजार २२४ र राप्तीसोनारी गाउँपालिकामा ९ हजार २५७ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।

स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा खोप अभियानबारे जानकारी दिँदै श्रेष्ठले अधिकांश खोप केन्द्र विद्यालयमा तोकिएका छन् । यसअघि बाँकेमा १२ वर्ष उमेर समूहभन्दा माथिका व्यक्तिलाई खोप लगाउने अभियान चलिरहेको छ ।

खोप लगाउने लक्षित समूह ४ लाख १ हजार ७९९ जनामध्ये अहिलेसम्म खोपको पहिलो मात्रा पूरा गर्नेको संख्या ८४.४ प्रतिशत रहेको छ भने दोस्रो मात्रा पूरा गर्नेको संख्या ७१.६ प्रतिशत रहेको छ । यस्तै बुष्टरको मात्रा लगाउनेको संख्या भने १८.२२ प्रतिशत मात्रै रहेको श्रेष्ठले जानकारी दिए ।

सोही कार्यक्रममा जमुनाहा हेल्थ डेस्कका ल्याब असिस्टेन्ट चिरञ्जीवी ज्ञवालीले ३६ दिनको अवधिमा एक हजार दुई सय ८४ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जेठमा ९ जना र असारमा ८ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाँकेकी निमित्त प्रमुख सुनिता पौडेलले स्वास्थ्यका अभियानबारे पत्रकारको सकारात्मक सहयोगबारे अनुरोध गरेकी थिइन् ।

बरिष्ठ स्वास्थ्य पत्रकार कल्पना आचार्यले सूचनाको महामारी रोगभन्दा पनि खतरनाक भएको बताउँदै मिडियाबाट हुने सूचनाको महामारीबाट समाजलाई नकारात्मक प्रभाव पर्ने बताइन् ।

‘हामीले कोरोना महामारी बुझ्यौं । यसले धेरैको ज्यान लिएको समाचार पनि लेख्यौं । सूचनाको महामारी त रोगभन्दा पनि खतरनाक हुन्छ । यस्तो महामारी पत्रकार र सञ्चार माध्यमले रोक्नुपर्छ’ उनले भनिन् ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको सहयोगमा स्वास्थ्य पत्रकार मञ्च नेपाल काठमाडौंले आईतबार नेपालगन्जमा आयोजना गरेको कोभिडविरुद्ध भ्याक्सिन प्रबद्र्धन सम्बन्धी कार्यक्रममा बाँकेका दुई दर्जन सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।