बाल सुधारगृहमा कष्ठकर दैनिकी बिताउँदै बालक


बाल सुधारगृहमा कष्ठकर दैनिकी बिताउँदै बालक

नेपालगन्ज १२ असार : बाँके स्थित बालसुधार गृहमा क्षमता भन्दा बढी बालक राखिँदा त्यहाँ रहेका बालकहरुले कष्ठकर दैनिकी बिताउनु परेको छ । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १८८ जना बालक रहेका छन् । एउटै कोठामा ६०/७० बालक राखिँदा उनीहरुमा छाला रोगले सताएको छ ।

बालकले खाने, नुहाउने, फोहर बालुवा मिसिएको पानी प्रयोग गर्नु छाला रोगको संक्रमण फैलिएको बालकहरुको गुनासो छ । हाल ७० बढी बालकहरु छाला रोगले संक्रमित छन् । छाला रोग बाहेक छाती दुख्ने, टाउको दुख्ने, हाईड्रोसिल भएका, दाँत दुख्ने लगायतका रोगको समस्या बालकहरु अनुगमनमा पुगेका अधिवक्ता वसन्त गौतमले बताए ।

सरकारी तवरबाट स्वास्थ्य उपचारको भरपर्दो ब्यवस्था नहुँदा बालकहरु समस्यामा पर्ने गरेकोले यसमा सम्बन्धित पक्षको तत्काल ध्यान जानु पर्ने गौतमले बताए ।

‘एक कोठामा धेरै जना कोचिएर बस्नु पर्दा सास गन्हाउने, राम्ररी बस्न, सुत्न नमिल्ने समस्यामा बालकहरु रहेका छन् । सुधार गृहमा बाथरुमको राम्रो ब्यवस्था नहुँदा त्यहाँ रहेका बालकहरु खुल्ला स्थानमा नुहाउने बाध्य छन्’ अधिवक्ता गौतमले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

कपडा धुने ठाउँ नहुदा निकै समस्या भएको बालकहरुले गुनासो गरे । बढ्दो उमेरमा पौष्टीक आहार खानु पर्ने बालकहरुलाई उपलब्ध सिधा खर्चले नपुग्ने बालकहरुको गुसानो छ ।

बालसुधार गृह भनिए पनि त्यहाँ सीप सिक्ने ब्यवस्था छैन । खेलकुदका सामाग्री पनि प्रर्याप्त छैनन् । पढ्ने सिक्ने उमेरका बालकहरु त्यतिकै कोठामा कोचारिएर बस्नु परेकोले तनावमा दैनिकी बित्ने गरेको केही बालकहरुले गुनासो गरे ।

बालकहरुले सुधार गृहमा पढाईको राम्रो ब्यवस्था नभएको, खेलकुदका प्रर्याप्त सामाग्री नभएको, कापी कमलको समस्या रहेको गुनासो समत गरेको गौतमले जानकारी दिए ।

सुधार गृहमा बालबालिकाको आधारभुत बालअधिकार उपभोगको वातावरण हुनु पर्ने भन्दै अध्ययनका साथै सीपमुलक ज्ञान र सुधारका पुर्वाधार हुनु पर्ने बालकहरुको भनाई छ ।

सीपमुलक तालिमको ब्यवस्था, अध्यनका लागी प्रर्याप्त पुष्तक भएको लाईब्रेरी, खेलकुद मनोरञ्जन र बालकहरुलाई समय कटाउने उपयुक्त ज्ञान, सीपमुलक तालिम, प्रशिक्षणको ब्यवस्था हुनु पर्ने उनीहरुको माग छ ।

बालसुधार गृहको सेफ्टी ट्याङ्ग्की खुल्लै रहेकोले गर्मीमा बिजुली नआउँदा झ्याल खोल्नुपर्ने बाध्यताले शौचालयबाट आउने गन्धले थप सास्ती खेप्नुपरेको समस्या बालकहरुले सुनाए ।

बाँकेको चर्को गर्मीमा लाईन धेरै जाने तर, जेनेटर लगायत बैकल्पीक बत्तिको ब्यवस्था नहुनाले निकै समस्या हुने गरेको बालकहरुको भनाई छ । बोरिङ्गबाट बालुवा मिसिएको पानी आउने गर्नाले शुद्ध खाने पानीको समस्या रहेको अनुगमनमा पाइएको हो ।

बालसुधार गृहमा २ जना शिक्षक भए पनि बिषयगत शिक्षक नहुँदा पढाईमा समस्या छ । बिषयगत शिक्षक नहुँदा बालसुधार गृहमै रहेका बालकहरुबाट गणित, अङ्ग्रेजी र साईन्सको पढाई हुने गरेको छ ।