नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो


नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटियो

नेपालगन्ज १९ असार : नेपालमा कोरोना भाइरस संक्रमणको ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ भेटिएको छ । धुलिखेल अस्पतालले गरेको जीन सिक्वेन्सिङ क्रममा ओमिक्रोनको उपप्रजाति बीए फाइभ भेटिएको हो ।

अन्य प्रयोगशालाबाट संकलन भएको नमूनाको जीन सिक्वेन्सिङ गर्ने क्रममा उक्त उपप्रजाति भेटिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले भने नेपालमा ओमिक्राने भेरियन्टको नयाँ उपप्रजाति ‘बीए फाइभ’ पुष्टि भएको बारे आधिकारिक जानकारी नआएको बताए ।

‘हामीलाई यो विषयमा अझै आधिकारिक जानकारी आएको छैन,’ सहप्रवक्ता अधिकारीले भने, ’आधिकारिक जानकारी नआएसम्म हामीले केही भन्न मिल्दैन ।’

Kanti Aarogya Hospital Nepalgunj

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले पनि आधिकारिक जानकारी नआएको बताए ।’ हामीले पनि आधिकारिक जानकारी आएको छैन । तर, मिडियामा भने धुलिखेल अस्पतालमा नयाँ प्रजाति फेला परेको विषयमा पढेको हुँ । हामीले पनि जीन सिक्वेन्सिङ गरिरहेका छौं । मंगलबारसम्ममा रिपोर्ट आउँछ ।’

अहिले ओमिक्रोन भेरियन्टका दुई नयाँ उपप्रजातिका कारण कोरोनाभाइरस संक्रमण दर विश्वका केही देशमा पुन बढिरहेको छ ।

दक्षिण अफ्रिकामा उत्पत्ति भएको ‘बीए फोर’ र ‘बीए फाइभ’ उपप्रजातिहरूले युरोप, अमेरिका, जर्मनी लगायतका देशमा बढी संक्रमण फैलाइरहेको छ । जनस्वास्थ्यविद्हरू स्थिर रहेको संक्रमित संख्या दुई सातायता झण्डै चार गुणाले बढ्नुमा ‘बीए फाइभ’ले मद्धत पु¥याएको बताउँछन् ।

अन्य भेरियन्टभन्दा ओमिक्रोनको उपप्रजाति ‘बीए फाइभ’ छिटो फैलिएको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन बताउँछन् । ‘केही महिना अगाडि युरोपेली देशमा संक्रमित बढ्नुमा ‘बीए फोर’ र ‘बीए फाइभ’ रहेको पाइएको छ,’ डाक्टर पुन अगाडी थप्छन्, ‘नेपालमा पनि पुष्टि भएसँगै संक्रमण फैलाउनुमा ओमिक्रोनको उपप्रजातिको मद्धत पु¥याएको पुष्टि हुन्छ ।’

तर, ‘बीए फाइभ’ उपप्रजातिको कारण मानिस कति जोखिममा पर्छन् भन्नेबारे पत्ता लागिसकेको छैन । ‘बीए फाइभ’ उपप्रजातिले कस्तो अवस्था ल्याउने अहिले यकिन गर्न नसकिने डाक्टर पुन बताउँछन् ।

‘सामान्य लक्षण मात्रै हुनु हो कि ! थप समस्या ल्याउँछ भन्ने कुरा यकीन गर्न सकिदैँन,’ डाक्टर पुनले अगाडी भने,’ तर, नयाँ उपप्रजातिले पुनः संक्रमण गराउन सक्ने अन्य देशको तथ्यांकले स्पष्ट देखाउँछ ।’

यसअघि कोरोना भाइरसका ‘अल्फा’ र ‘डेल्टा’जस्ता प्रमुख भेरियन्टले संक्रमणको ठूलो लहर निम्त्याएका थिए ।

विज्ञका अनुसार ओमिक्रोनको अन्य भेरियन्टको संक्रमण भएका मानिसहरूमा पनि पुनः ‘बीए फोर’ र ‘बीए फाइभ’ उपप्रजातिको ओमिक्रोन देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अहिले देखिएको संक्रमण ओमिक्रोन भेरियन्टको पुरानै प्रजाति हो वा होइन भन्नेबारे अनुवांशिक (जीन सिक्वेन्सिङ) भइरहेको जनाएको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी स्वास्थ्यका मापदण्ड पालना नगर्नुजस्ता कारणले सङ्क्रमण बढेको पाइएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले भारतमा सङ्क्रमण बढेसँगै नेपालमा पनि सङ्क्रमण बढेको बताए । उनका अनुसार ०.५ प्रतिशतसम्म झरेको सङ्क्रमणको दर अहिले ६ प्रतिशत पुगेको छ ।

‘भारतमा जुन हिसाबले सङ्क्रमण बढेको थियो । सोहीअनुसार नेपालमा अहिले सङ्क्रमण धेरै नै बढेको हुनुपर्ने हो’, उनले भने, ‘तर नेपालमा भारतमा बढेको जस्तो भने बढेको छैन ।’

नेपालमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा कम चार जनामा देखिएको थियो । सङ्क्रमण बढ्दा सक्रिय सङ्क्रमित पनि बढिरहेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले भारतमा सङ्क्रमण बढेका कारणले नेपालमा पनि बढेको जानकारी दिए । भारतबाट नेपालमा आउने मानिसमा सङ्क्रमण देखिएको उनको भनाइ छ ।

थप समाचार

कोरोना सङ्क्रमण बढ्यो, भेरियन्टको नयाँ प्रजातिबारे अध्ययन हुँदै