सिक्टाको पूर्वी नहरमा पानी छाडियो, ईन्जिनियरसहितको प्राविधिक टोलीले निगरानी गर्दै

पूर्वी नहर अहिलेसम्म अधुरै, सिक्टाको पानी खेतमा पुगेपछि किसान हर्षित


सिक्टाको पूर्वी नहरमा पानी छाडियो, ईन्जिनियरसहितको प्राविधिक टोलीले निगरानी गर्दै

नेपालगन्ज २ साउनः बाँकेको अगैयास्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले पूर्वी मुल नहरमा पानी छाडेकोछ । पाँच वर्षअघि सामान्य पानीले सिक्टाको पश्चिम मुल नहर भत्किएको थियो । मुल नहर परीक्षणमै भत्किएपछि आयोजनाको गुणस्तरमाथी प्रश्न उठेपछि कर्मचारीको ‘उच्च निगरानी’मा सिक्टाको पूर्वी मुल नहरमा पानी छाडिएको हो ।

बाँकेको अगैयास्थित हेडवर्कस्बाट राप्ती नदीको पानी पुर्वी नहरमा खसालेर परीक्षण गरिएको छ । परीक्षण गर्दा पूर्वी मुल नहरलाई कर्मचारी, प्राविधिकले उच्च निगरानीमा राखेका छन् । सिक्टा सिँचाइ आयोजनाका निर्देशक डाक्टर सन्तोष कैनीले परीक्षणमा आएपछि पूर्वी नहर कर्मचारीको उच्च निगरानीमा रहेको बताए ।

‘असार २८ गतेदेखी करिव ७ क्वीमेक पानी मुल नहरमा छाडेका छौं, नहरको निगरानी गर्न अगैयामा दुई जना इन्जिनियर सहितको एउटा प्राविधिक टोली र फत्तेपुरमा पनि दुई जना इन्जिनियर सहितको अर्को टोली खटिएको छ, हामी निरन्तर मनिटरिङमा छौं,’ उनले भने ।

पश्चिम मुल नहरको जस्तो समस्या आउन नदिन कर्मचारीले पूर्वी नहरलाई उच्च निगरानीमा राखेका हुन् । तर, अहिलेसम्म कुनै समस्या नदेखिएको आयोजना निर्देशक कैनीले बताए । ‘पूर्वी नहरमा अहिलेसम्म त्यस्तो कुनै समस्या आएको छैन, पानी निरन्तर चलाइरहेका छौं, पानी पाउँदा किसान धेरै खुसी छन्,’ उनले थपे ।

Kanti Aarogya Hospital Nepalgunj

आयोजना निर्देशक कैनीका अनुसार पुर्वी मुल नहरको क्षमता १४ क्युमेक रहेकोमा बैजापुरस्थित राजकुलोमा ७ क्युमेक र फत्तेपुर सिँचाइ प्रणालीमा ३.२९ क्युमेक पानी छाडिएको छ । पुर्वी मुल नहरमार्फत ९ हजार हेक्टर क्षेत्र सिँचाइ गर्ने आयोजनाको लक्ष्य छ ।

उक्त नहरको राजकुलोबाट १ हजार हेक्टर र फत्तेपुर सिँचाइ प्रणालीबाट २ हजार हेक्टर जमिनमा सिँचाइ भइरहेको आयोजना निर्देशक कैनीले जिकिर गरे । अहिले खडेरी भएकाले वर्षा नहुँदासम्म पुर्वी नहरमा पानी छाड्ने आयोजना कार्यालयले जनाएको छ ।

सिक्टाको पूर्वी नहर अहिलेसम्म अधुरै

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिचाँइ आयोजनाको पूर्वी नहर कुल ५३.५ किलोमिटर निर्माण गर्नुपर्नेमा अहिलेसम्म अधुरै रहेको छ । पूर्वी मुल नहर निर्माण गर्न कालिका कुमार जेभीले २०७४ साउनमा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्य सम्पन्न गर्न २०७९ माघ २९ गते सम्मको म्याद रहेको आयोजना कार्यालयले जनाएको छ ।

कुल ३ अर्ब ३० करोड २१ लाख ३९ हजार ५ सय १९ रुपैयाँमा ठेक्का सम्झौता भएकोमा हालसम्म ठेकेदार कम्पनीले २ अर्ब ८४ करोड ३८ लाख ९ हजार ५ सय ३६ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

उक्त नहरमा हालसम्म ८६ प्रतिशत मात्रै काम सम्पन्न भएको पाइएको छ । पूर्वी मुल नहरको फत्तेपुर शाखासम्म निर्माण सम्पन्न भएपनि २०७९ असार अन्तिमदेखी नरैनापुर खण्डको सर्वेक्षण कार्य सुरु भएको कार्यालयले जनाएको छ ।

सिक्टाको पानी खेतमा पुगेपछि किसान हर्षित

सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् ।

वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष लवराज खरेलले जानकारी दिए ।

उनका अनुसार पक्की नभएका कारण उक्त नहर पटक–पटक बन्द हुँदै आएको थियो । किसानको मागअनुसार सिक्टा सिँचाइ आयोजनामा पहल गरेपछि आयोजना कार्यालयले पुरानो नहरमा पानी छाडिदिएको हो । उक्त नहरको पानीले वडा नम्बर ६ र ७ किसानले खेती गर्न सक्नेछन् ।

यसअघि फत्तेपुरका स्थानीयवासीले पटक–पटक पुरानो नहरको इन्टेकमा कच्ची बाँध बनाएर राप्ती नदीको पानी सञ्चालन गर्न खोजे पनि नियमितरूपमा पानी सञ्चालन हुनसकेको थिएन । वर्षा नभएका कारण रोपेको धान सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।