१० दिनमा ५ न्यायाधीश पदमुक्त
नेपालगन्ज ३ साउन : न्याय परिषद्मा परेको उजुरीका आधारमा बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा तानिएका छन् ।
न्याय परिषद्मा परेको उजुरीका आधारमा उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तानेका हुन् । उनलाई अब परिषद्ले थप छानबिन गर्नेछ । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो ।
जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको हो । उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए ।
उनीमाथि अब बस्ने परिषद्ले थप छानबिन गर्नेछ । सर्वोच्चमा काठमाडौं जिल्ला अदालतका केही न्यायाधीश छानबिनमा रहेका छन् ।
अम्विका निरौला, प्रकाशचन्द्र अधिकारी र राजकुमार कोइरालामाथि छानबिन भइरहेको छ । त्यस्तै बद्रीप्रसाद ओली र अन्य केही न्यायाधीशमाथि पनि परिषद्ले छानविन गरिरहेको छ ।
१० दिनमा ५ न्यायाधीश पदमुक्त
हिजो(सोमबार) मात्रै न्यायपरिषदको बैठकले थप २ जना न्यायाधीशलाई पदमुक्त गराएको छ ।
परिषद्को सोमबार बसेको बैठकले उच्च अदालत महेन्द्रनगरका न्यायाधीश राकेशकुमार निधि र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अनिलकुमार शर्मालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको हो ।
गत शुक्रबार उच्च अदालत जुम्लाका न्यायाधीश नसरुल्लाह अन्सारी र बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाहलाई परिषद्ले पदमुक्त गर्न सिफारिस गरेको थियो ।
त्यस्तै, गत २४ असारमा उच्च अदालत तुलसीपुर बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई पनि पदमुक्त गर्न सिफारिस गरिएको थियो ।
यता कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद कोइाराला ‘बन्दी’ले खल्तीबाट न्यायाधीश झिकेर भर्ना गर्ने चलनको अन्त्य भएको दाबी गरेका छन् ।
‘मेरो प्राथमिकता भनेको अदालतभित्रका भ्रष्ट न्यायाधीशहरूमाथि पनि छ,’ बन्दीले भने, ‘न्यायाधीशहरु भ्रष्टाचार गरेर हिँड्ने गरेका छन् । अहिलेसम्म ५ जना न्यायाधीशलाई कारबाही भइसक्यो ।’
अहिले देशभर रिक्त रहेका २१ जना जिल्ला न्यायाधीशको लागि झण्डै २ सय जनाको आवेदन सोमबारसम्म परेको उनले बताए । उच्च अदालतको न्यायाधीश छान्न पनि सोही प्रक्रिया लागू हुने मन्त्री बन्दीले बताए ।