नेपालगन्ज १२ साउन : स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा जिम्मेवार बनेर काम गर्न निर्देशन दिएका छन् ।
भेरी अस्पतालको १३२ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले भेरी अस्पतालका चिकित्सकले अग्रिम हाजिर गरेको प्रसङ्ग निकाल्दै यस्तो बताएका हुन् । राज्यले काममा खटाइसकेपछि इमान्दारी पुर्वक काम गर्नुपर्ने उनको भनाई छ ।
संघीय सरकार मातहतमा रहेका देशभरका अस्पताललाई ‘रेफरल’ नबनाउने सरकारको प्रतिवद्धता रहेको बताएका छन् । सरकारी अस्पतालमै पर्याप्त सेवा, सुविधा दिएर आफ्नै ठाउँमा बिरामीको उपचार गर्नमा सरकार प्रतिवद्ध रहेको उनले बताए ।
आधारभुत स्वास्थ्य सेवा जनताको मौलिक अधिकार भएको भन्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको दायित्व भएको बताए । ‘भेरी अस्पतालको इतिहास नै फरक छ, बाँके मात्र नभएर पश्चिमका धेरै जिल्लाका मान्छे आएर उपचार गराउने ठाउँ हो,’ केसीले भने ‘देशभर संघीय सरकार मातहत रहेका अस्पताललाई अब कुनैपनि मानेमा रेफरल अस्पताल नबनाउने सरकार प्रतिवद्ध छ ।’
अस्पतालमा सिमित जनशक्तिका बाबजुद पनि बिरामीको उपचार गर्नुपर्ने अवस्था रहेको उनले बताए । यसका लागि सरकारले थुपैै्र डाक्टर र नर्सलाई करार तथा ज्यालादारीमा खटाएको बताए ।
भेरी अस्पताल नेपालगन्ज स्थापनाको १३२औं वर्षमा प्रवेश गरेको छ । विस १९४७ मा काठमाडौंको वीर अस्पतालसँगै भेरी अस्पताल पनि स्थापना गरिएको हो ।
यो अस्पतालको शुरुको नाम पृथ्वी–वीर डिस्पेन्सरी, २०१६ सालमा पृथ्वी वीर अस्पताल रत्नराज्य लक्ष्मीदेवी प्रसुति गृह र २०२२ सालमा भेरी अञ्चल अस्पताल हुँदै, भेरी प्रादेशिक र अहिले भेरी अस्पताल (केन्द्रिय अस्पताल) भएको छ ।
संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीको प्रमुख आतिथ्यमा अस्पतालले बिहीबार १३२ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ ।
भेरी अस्पतालबाट राज्यले विभिन्न रोगको सहुलियत उपचारको सेवा पनि दिंदै आएको छ । सरकारको कार्यक्रम अनुसार कतिपय सेवा निःशुल्क रहेको छ । हालै निजी स्वास्थ्य संस्थाले पैसा नपाएकै कारण बीमा कार्यक्रम बन्द गर्दा भेरी अस्पतालले पैसा नपाएपनि सेवा बन्द गरेको छैन ।
तीन प्रदेशबाट भेरी अस्पतालमा बिरामी उपचारका लागि आउने गर्दछन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १ लाख बढी बिरामी बार्षिक रुपमा भेरी अस्पतालको सेवा लिन आउने गरेका छन् । तीन वटा प्रदेशबाट बिरामी आउने भेरी अस्पताललाई त्यसै अनुसार बिरामीको चाप धान्न सक्ने मात्रै होइन महंगो शुल्क तिरेर निजी अस्पतालमा जानु पर्ने बाध्यताको अन्त्य गर्न स्तरवृद्धि हालको आवश्यकता हो । सरकारी अस्पतालको आवश्यकतासँगै त्यसको स्तरोन्नतीतर्फ सबैको ध्यान केन्द्रित गरेको छ । अस्पतालका सवालमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधिको साथ र प्रयासले अहिले अस्पताल विशिष्टिकरण पथमा रहेको छ ।
अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य मन्त्रालयका विज्ञ डाक्टर श्यामसुन्दर यादव, राप्रपाका महामन्त्री डाक्टर धवलसम्शेर राणा, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य अशोक कोइराला, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, नेपालगन्जका उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, एमाले बाँकेका सचिव रत्न खत्री, माओवादी केन्द्रका नेता डिल्ली बराल, पूर्वमेयर विजयकुमार गुप्ता, भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर बद्री चापागाई, पूर्वमेसु डाक्टर वीरेन्द्रबहादुर चन्द लगायतले बोलेका थिए ।
सो क्रममा अस्पताल विकास समितिका सदस्यद्वय कृष्णप्रसाद श्रेष्ठ र धनराम ओली, समितिका पुर्वअध्यक्ष वेदप्रसाद आचार्य, पुर्व मेसु डाक्टर पिताम्बर सुवेदी, डाक्टर प्रकाश थापा, वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसाल, नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, नसिंङ संघ बाँकेका अध्यक्ष लक्ष्मी केसी ओली लगायत अतिथीको पनि सहभागिता रहेको थियो ।
वार्षिक उत्सव समारोहमा विभिन्न नृत्य प्रस्तुत गर्नुका साथै अस्पताल सञ्चालनमा योगदान पु¥याए वापत पुर्वमेसु, २५ वर्षे सेवा गरेका कर्मचारी तथा वार्षिक उत्सवका अवसरमा आयोजित प्रतियोगिताका विजयी लगायतलाई सम्मान गरिएको थियो ।