नेपालगन्ज १४ साउन : बाँकेको राप्तीसोनारी–५ बिनौनाका लक्ष्मण थारू बिहीबार बिहान ११ बजेतिर भेरी अस्पताल पुगे । उच्च रक्तचापका बिरामी उनका बुवाको स्वास्थ्य जाँच गरिसकेपछि डाक्टरले तत्कालै सिटी स्क्यान गराउन सल्लाह दिए ।
डाक्टरको सल्लाहअनुसार लक्ष्मण भेरी अस्पतालकै सिटी स्क्यान विभागमा पुगे । तर, त्यहाँ सिटी स्क्यान गर्ने कर्मचारी थिएनन् । ड्युटी छाडेरै कर्मचारी बाहिर निस्केका थिए । त्यसपछि लक्ष्मण सिटी स्क्यान गर्ने कर्मचारीलाई खोज्न अस्पतालमा भौंतारिरहे ।
सिटी स्क्यान गर्ने कर्मचारी खोजिरहेका लक्ष्मणले करिब आधा घण्टा पछि अस्पताल परिसरमै विभागका रेडियोग्राफर सञ्जीवकुमार मिश्र भेटिए । तर, उनले सिटी स्क्यान गर्न नसक्ने अनेक बहानाबाजी गरे ।
‘उहाँले कहिले भोलि आउनुस्, कहिले मसँग सिटी स्क्यान कक्षको चाबी छैन जस्ता बहानाबाजी गर्नुभयो, धेरै अनुरोध गर्दा पनि उहाँले सिटी स्क्यान गर्न मान्नुभएन,’ लक्ष्मणले दुखेसो पोखे ।
रेडियोग्राफर मिश्रले सिटी स्क्यान गर्न नमानेपछि लक्ष्मणले अस्पतालको माथिल्लो निकायमा गुनासो पोखे । उनी नेपाली काँग्रेस प्रदेश १ ‘क’ बाँकेका सभापति हुन् । तर, कर्मचारीसँग भने लक्ष्मणले आफ्नो परिचय खुलाएनन् । यो कुरा अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर बद्री चापागाईंसम्म पुग्यो । तीन घण्टापछि आएर रेडियोग्राफर मिश्रले बिरामीको सिटी स्क्यान गरिदिए । त्यतिबेलासम्म लक्ष्मणका ८५ वर्षका बुवा लोहारी थारूको अवस्था गम्भीर भइसकेको थियो ।
अस्पतालमा पुगेका बिरामीका आफन्त कर्मचारी र स्वास्थ्यकर्मीको व्यवहारबाट दिक्क हुन्छन् । ‘भेरी अस्पतालको सिटी स्क्यान मेसिन देखाउन मात्रै रहेछ,’ लक्ष्मणले सेतोखरीलाई भने, ‘बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने नियतले कर्मचारीले सास्ती दिँदारहेछन्, अस्पताल पुरै सेटिङमा चलिरहेकोछ । सिटी स्क्यान गर्न बाहिर निजीमा पठाइँदोरहेछ ।’
सरकारले भेरी अस्पताललाई जति सुविधासम्पन्न गराउने प्रयास गरे पनि कर्मचारी र स्वास्थ्यकर्मीको बानी र व्यवहारमा कत्ति पनि सुधार नआएको लक्ष्मण बताउँछन् ।
यस्तै भेरी अस्पताल आएका टीकापुरका गुरुभक्त तिवारी दुई दिनदेखि सेवा नपाएर भौंतारिरहेका छन् । मुटु रोगसम्बन्धी समस्या भएका आफन्तलाई लिएर आएका उनले सेवा नपाएको दुई दिन भइसक्यो ।
‘मुटुको अप्रेसन गरेको बिरामीलाई भेरी अस्पताल ल्याएँ, दुई दिनदेखि जाँच भएको छैन, डाक्टरलाई भेट्न समेत पाएका छैनौं,’ उनले दुःखेसो पोखे ।
अस्पतालभित्र रहेको ईसिजी सेवा दुई दिनदेखि बन्द रहेको तिवारीले बताए । ‘अस्पतालमा कोही कर्मचारी छैनन्, जिम्मेवार व्यक्तिलाई भन्दा पनि कसैले मतलब गरेनन्,’ उनले भने ।
टीकापुर अस्पतालले रेफर गरेपछि कैलालीकी मथुरा रावल बिरामी आमालाई लिएर भेरी अस्पताल आइन् । भेरीमा दुई दिनदेखि उनले पनि आमाको उपचार गराउन सकेकी छैनन् । भेरी अस्पतालमा बिहीबार बिहान १० बजेतिर आइपुगेकी उनी बिल काट्न लाममा उभिइन् । तर, उनले लाईनमा रहेर बिल काट्न नपाउँदै ईसिजी कक्ष बन्द भयो । ओपिडी कक्षमा डाक्टर पनि निर्धारित समयसम्म बसेनन् । बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य पार्ने नियतले भेरीमा ईसिजीका लागि पनि दिनहुँ कोटा निर्धारण गरि बहानाबाजी गरिन्छ ।
पहिलो दिन उपचार गराउन नपाएपछि उनी दोस्रो दिन शुक्रबार पुनः अस्पतालमा आमालाई लिएर पुगिन् । शुक्रबार पनि अस्पतालको सेवा सहज रूपमा पाउन नसकेको उनको गुनासो छ ।
‘राम्रो उपचार पाइएला भनेर भेरी अस्पताल आएका हौं तर, यहाँ आएपछि झनै दुःख पाइयो,’ उनले भनिन्, ‘यहाँ त राम्रा मान्छे पनि बिरामी भएर फर्किनुपर्ने रहेछ ।’
भेरी अस्पतालमा जन्मेका राप्तीसोनारी–५ बिनौनाका रवि रञ्जनका नवजात शिशुको स्वास्थ्य अवस्था कमजोर देखिएपछि डाक्टरले एनआइसियुुमा राख्न सल्लाह दिए । आमा प्रसूति कक्षमा थिइन । रञ्जनले शिशुलाई अस्पतालकै एनआइसियु कक्षमा राखिदिन डाक्टर र नर्ससँग धेरै अनुरोध गरे । तर, एनआइसियु कक्षमा भर्ना नपाएपछि उनले चर्को गर्मीमा शिशु च्यापेर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको एनआइसियुमा लगेर भर्ना गरे ।
‘भेरीका डाक्टर र नर्सले एनआइसियु कक्ष खाली छैन, तपाईंको बच्चालाई बाहिर लैजानुस् भनेर ताकेता गरे,’ परिवारका सदस्यलाई उद्धृत गर्दै एक आफन्तले भने, ‘यत्रो ठुलो सरकारी अस्पतालको विश्वास गरेर आइयो तर, यहाँ आइसकेपछि डाक्टर र कर्मचारीको व्यवहारबाट दुःख पाइयो । नाम मात्रको सरकारी अस्पताल डाक्टर र कर्मचारीको भित्रि सेटिङ्गले विरामीले दुख मात्र पाउने ।’
पश्चिम नेपालका गरिब तथा विपन्न समुदायले भरोसा गर्ने सरकारी अस्पताल हो, भेरी । भेरी अस्पतालको स्तरोन्नति गर्दै सरकारले क्रमशः सेवासुविधामा थप्दै लगेको छ । अस्पतालको भौतिक पूर्वाधार विकास, विशेषज्ञ उपचार सेवा, दक्ष जनशक्ति, अत्याधुनिक उपकरण थपिँदै गए पनि उपचार गराउन आउने बिरामीले त्यसको अनुभूति गर्न सकेका छैनन । अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीको बानी र व्यवहारमा परिवर्तन आउन सकेको छैन । अस्पतालमा सुशासन र जवाफदेहिताको कमी देखिएको सेवाग्राही बताउँछन् ।
अस्पतालका कर्मचारीको निजी अस्पताल, क्लिनिक तथा प्रयोगशालासँग सेटिङ हुन्छ । यसको प्रत्यक्ष मारमा सेवाग्राही परिरहेका छन् । सरकारले भेरीलाई विशिष्टीकृत अस्पताल बनाउने योजना अगाडि बढाइरहेको छ । तर, अस्पतालले बिरामीलाई सामान्य खालका सेवा पनि दिन सकेको छैन । अस्पतालमा चरम बेथिति छ । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चापागाईं भने बिरामीको उपचारमा अस्पतालले कुनै कन्जुस्याइँ नगरेको दावि गर्छन् ।
‘पहिलाभन्दा अहिले बिरामीको चाप धेरै छ, एकैपटक धेरै बिरामी आउँदा सेवा दिन समस्या हुनु स्वाभाविक हो,’ उनको हास्यास्पद तर्क छ ।
अस्पतालले प्रदान गर्ने ओपिडीबाहेक अन्य सेवा २४ सै घण्टा खुला रहने चापागाईं बताउँछन् । ‘बिरामीलाई जतिबेला आवश्यक पर्छ, त्यो बेला हाम्रा कर्मचारी उपस्थित हुन्छन्,’ उनले भने । अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चापागाईंले यस्तो बताइरहँदा माथि उल्लेखित घटनाले अस्पताल र अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डाक्टर चापागाईंलाई कुरीकुरी गरिरहेकोछ ।
अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ भने कतिपय कर्मचारीमा अनुशासन नभएको बताउँछन् । अस्पतालभित्रका बेथिति हटाउने अभियान थालेको बताउँदै श्रेष्ठले भने, ‘अस्पतालमा हरेक सेवासुविधा थपिँदै गएको छ तर, कर्मचारीमा अनुशासन भएन, यसले गर्दा बिरामीले सहज रूपमा उपचार पाउन समस्या भइरहेको छ, त्यो कुरा हामीले पनि भोगिरहेका छौं ।’
पछिल्लो समय भेरी अस्पताल विकास समितिले अस्पतालका चिकित्सक तथा कर्मचारीमाथि निगरानी बढाउँदै ड्युटिमा नआउने, अग्रिम हाजिरी गर्नेमाथि कारबाहीको प्रक्रिया अघि बढाएपनि त्यो सबै देखावटी मात्र भएको माथिका घटनाक्रमले पुष्टि गरेकोछ । समितिको सक्रियता बढेसंगै भेरीको बेथिति क्रमश हट्दै जाने र आम सेवाग्राहीले सर्वसुलभ, सहजरुपमा सेवा पाउने आशा गरिएपनि सस्तो लोकप्रियताका लागि गरिने हल्ला खल्लाले सेवाग्राही मारमा परेकाछन् ।