नेपालगन्ज २४ साउन : निर्वाचन आयोगलाई आम निर्वाचनको चटारोले छोएकोछ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आयोगले बनाएको कार्यतालिका पनि स्वीकृत भएको छ ।
निर्वाचन आयोगले आन्तरिक तयारीका क्रममा आईतबार स्वीकृत गरेको निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते आईतबार प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुनेछ । उक्त दिन दशैंको कोजाग्रत पूर्णिमा पर्दछ ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दशैंपछि हुने भएता पनि समानुपातिक तर्फको बन्दसूची भने दशैंअघि नै पेश गर्नुपर्ने छ । आयोगद्वारा स्वीकृत आन्तरिक तालिका अनुसार असोज २ र ३ गते दलहरुले समानुपातिकतर्फको बन्दसूची पेस गर्नुपर्ने छ ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार असोज २३ गते उम्मेदवारी दर्ता गरिनेछ । भदौ २५ देखि निर्वाचन कार्यक्रम सञ्चालन गर्न लागेको आयोगले चुनाव सफल बनाउनका लागि दशैंका बेलामा पनि काम जारी राख्ने भएको छ ।
यसका लागि घटस्थापनाको भोलिपल्ट, अर्थात् असोज ११ गते निर्वाचन अधिकृतहरुको नियुक्ति गरिने छ भने टीकाको दुई दिनपछि असोज २१ गते निर्वाचन कार्यालय स्थापना गरिने स्वीकृत कार्यतालिकामा उल्लेख छ ।
दशैंसँगै जुधाएर कार्यतालिका आए पनि यो आन्तरिक तालिकालाई सामान्य फेरबदल गरेर मात्रै प्रकाशित गरिने आयोगका अधिकारी बताउँछन् ।
कार्यतालिका अनुसार आउँदो असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिने छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्ने छ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्षतर्फको मतपत्र छाप्न झण्डै एक महिना लाग्ने जनाएको छ ।
यस्तै असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।
असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन हुन सक्नेछन् ।
निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ ।
मंसिर ४ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ भने त्यही दिनदेखि नै समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु गर्ने आयोगको तयारी छ ।
आईतबार स्वीकृत आन्तरिक तालिका यस्तो छ –
प्रत्यक्षतर्फ
भदौ २५– निर्वाचन कार्यक्रम सञ्चालन
असोज ११– निर्वाचन अधिकृतहरुको नियुक्ति
असोज २१–निर्वाचन कार्यालय स्थापना
असोज २३– उम्मेदवारी दर्ता
असोज २८ देखि कात्तिक २५ गतेसम्म– मतपत्र छपाइ
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १ – प्रचार प्रसार बन्द
मंसिर ४– बिहान ७ गतेदेखि साँझ ५ बजेसम्म मतदान
समानुपातिकतर्फ
भदौ १– निर्वाचन कार्यक्रम सञ्चालन
भदौ २०– मतपत्र छपाइ सुरु
असोज २ र ३– बन्दसूची पेस गर्ने
कात्तिक २७– मतपत्र ढुवानी
मंसिर १– प्रचार प्रसारमा बन्द
मंसिर ४– बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान।