जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय

अमृत महोत्सवसंगै नेतृत्व चुनिदैँ


जोगिदैं नेपालगन्जको पहिचान, काँचुली फेर्ने तरखरमा महेन्द्र पुस्तकालय

नेपालगन्ज ३० साउन : नेतृत्व निस्कृय भएर थला परेको नेपालगन्जको ऐतिहासिक महेन्द्र पुस्तकालय पुनः सक्रिय हुन थालेको छ । पुस्तकालयको व्यवस्थापनमा नयाँ तदर्थ समिति गठन भएसँगै विभिन्न कार्यक्रमको तयारी गरिएको छ ।

बाँकेका शिक्षाविद् बलराम यादवको नेतृत्वमा गठन गरिएको तदर्थ समितिले पुस्तकालयलाई पुनः सक्रिय बनाउनका लागि वार्षिक योजना बनाएर काम गर्ने योजना अगाडि सारेको छ । जस अनुरुप पुस्तकालयले अमृत महोत्सव मनाउने तयारी तीव्र गतिमा अगाडि बढाइरहेको छ । नेपालगन्ज सहरको ईतिहाससँगै जोडिने गरेको पुस्तकालय अब नयाँ ढंगले काम गर्ने लक्ष्यसहित प्रस्तुत भएको छ ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–८ मा रहेको पश्चिम नेपालको एकमात्र पुरानो पुस्तकालय हो, महेन्द्र पुस्तकालय । यस पुस्तकालयले बाँके क्षेत्रको शिक्षा, भाषा, कला, संस्कृति र ईतिहासलाई जोगाउन महत्वपूर्ण भूमिका खेलेको छ ।

२००३ सालमा स्थापना भई २०२१ सालमा नाम परिवर्तन भई महेन्द्र पुस्तकालयको नामबाट परिचित त्रिभुवन चोकको पूर्वी लाईन रानीतलाउ नजिक रहेको उक्त पुस्तकालयको ७५औं वर्ष पूरा भई ७६ वर्ष लागेको अवसरमा अमृत वर्षको रुपमा भदौ ३ गते अमृत महोत्सव गर्ने पुस्तकालयको तदर्थ समितिले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

समितिले सोमबार पुस्तकालयमा पत्रकार सम्मेलनको आयोजना गरेर पुस्तकालयको अवस्था र शुक्रबार आयोजना गर्न लागिएको अमृत महोत्सवको बारेमा जानकारी दिएको हो । तदर्थ समितिका अध्यक्ष बलराम यादवका अनुसार अमृत महोत्सवमा पुस्तकालय स्थापनाकालदेखि २०५४ सालसम्मको कार्यसमितिमा रहेका सदस्य तथा पुस्तकालयका कर्मचारीलाई अमृत महोत्सव पदकसहित सम्मान गरिनेछ ।

साउन २१ गते विभिन्न विद्यालयका माध्यमिक विद्यालयस्तरका छात्र तथा छात्राबीच ‘विद्यार्थी जीवनमा पुस्तकालयको महत्व’ विषयमा आयोजना गरिएको निवन्ध प्रतियोगिताका प्रथम, द्वितीय तथा तृतीय विद्यार्थीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गरिने छ । सोही उपलक्ष्यमा बाहुभाषिक कवि गोष्ठी समेत गर्ने कार्यक्रम रहेको अध्यक्ष यादवले बताए ।

त्यसैगरी सो अवसरमा महेन्द्र पुस्तकालयको ईतिहास पुस्तकालय सम्बन्धि आलेखहरु र अन्य सिर्जनात्मक रचनाहरु तथा अमृत महोत्सवका कार्यक्रमहरु समेत समावेश गरी वाङमय जगत अमृत महोत्सव स्मारिका पनि प्रकाशित गर्ने यादवले बताए ।

तदर्थ समितिका सदस्य सनतकुमार रेग्मीका अनुसार यसअघि २०५३ सालमा महेन्द्र पुस्तकालयको ५०औं वर्षको अवसरमा अयोजना गरिएको कवि गोष्ठी कार्यक्रममा भने काठमाडौंबाट समेत कविहरुलाई बोलाइएको बताए । यो पटक बाँकेका कविहरुमात्र गोष्ठीमा आउने कार्यक्रम रहेको छ । रेग्मीले अब समय सापेक्ष पुस्तकालयलाई ई–लाईब्रेरी र अन्य कुरामा सुधार गर्दै लग्ने योजना रहेको बताए ।

महेन्द्र पुस्तकालयले नेतृत्व पाउँदै

यसैबीच, २०५२ सालमा महेन्द्र पुस्तकालय व्यवस्थापन समितिको अध्यक्ष भएका कन्हैयालाल टण्डनले आफ्नो कार्यकाल सकिएपछि नयाँ टिमलाई पुस्तकालय हस्तान्तरण गरेका थिएनन् ।

२०५४ सालपछि व्यवस्थापन समिति विहीन बनेको महेन्द्र पुस्तकालयको अध्यक्षका रुपमा सच्चिदान्नद चौवेले पुस्तकालयको रेखदेख र संरक्षण गर्दै आएका थिए । व्यवस्थापन समिति विहीन भएको अवस्थामा टण्डन र चौवेले नयाँ समिति गठनका लागि प्रयास नगरी विधान विपरित सञ्चालन गरेको तदर्थ समितिको ठहर छ । त्यसपछि २०७६ सालदेखि पुस्तकालय पूर्णरुपमा बन्द भयो ।

चौवेले आफ्नो उमेर र स्वास्थ्यका कारण पुस्तकालय रेखदेख र सञ्चालन गर्न नसक्ने व्यहोरा सहित २०७८ माघ १७ गते राजिनामा दिएका थिए । साथै उनले आफूले तोकिएको तलब राजिनामा मितिसम्म नलिएको र उक्त तलब पनि उपलब्ध गराइनुपर्ने माग राजिनामा पत्रमा उल्लेख गरेको महेन्द्र पुस्तकालय तदर्थ समितिका अध्यक्ष बलराम यादवले बताए ।

सो पश्चात जिल्लामा पुस्तकालयको संरक्षण र समन्वय गर्नका लागि जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा जिल्ला पुस्तकालय व्यवस्थापन समिति रह्यो । जसमा जिल्ला प्रशासनदेखि सरोकारवाला सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि एवं सरोकारवाला व्यक्तिहरु सदस्य रहे ।

त्यसपछि महेन्द्र पुस्ककालयको अवस्थाबारे छानबिन गर्न व्यवसायी अजय टण्डनको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । पुस्तकालयमा साढे दुई दशकदेखि व्यवस्थापन समिति नरहेको, पुस्तकालय लामो समयदेखि बन्द रहेको, पुस्तक र आर्थिक हरहिसाब दुरुस्त नभएको एवं पुस्तकाअध्यक्ष सच्चिदान्नद चौवेकोे राजीनाका विषय लगायत छानबिन गर्न समिति गठन गरिएको थियो ।

उक्त छानविन समितिले निकालेको प्रतिवेदनमा आर्थिक अनियमितता एवम् पुस्तकको हिसाव दुरुस्त नभएको निस्कर्ष निकाल्यो ।

पछि २०७८ चैत २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयका पुस्तकालय निर्देशिका अनुसार गठन भएको जिल्ला पुस्तकालय व्यवस्थापन समितिका अध्यक्षको हस्तक्षेपबाट आजीवन सदस्यहरुको भेलाबसी आजीवन सदस्यबाट १२ जनालाई तदर्थ समिति गठन गरिएको थियो ।

उक्त समितिले पुस्तकालयलाई व्यवस्थित गर्दै समायानुकुल विधान गरिमार्जन गरी नयाँ कार्यसमिति गठन गर्ने जिम्मेवादी दिइएको थियो । तर, विभिन्न कारणवस तीन महिनामा तदर्थ समितिले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेपछि पुनः २०७९ असार २९ गते भदौ मसान्तसम्म काम सम्पन्न गर्ने म्याद थप गरियो ।

आगामी भदौ ३ गते हुने महेन्द्र पुस्तकालयको ‘अमृत महोत्वस’ र भदौ २८ गते निर्वाचन सम्पन्न गर्ने लक्ष्य लिएको छ । तर्दथ समितिका अध्यक्ष यादवले भदौ मसान्तसम्म निर्वाचन सम्पन्न गराई नयाँ कार्यसमितिलाई पुस्तकालयको कार्यभार सुम्पने बताउँछन् ।