शनिबार, असोज २२, २०७९   ०१:५९:२५

निहारिका प्रकरणका आरोपित युवक भन्छन्, ‘म बलात्कारी होइन, डीएनए टेष्ट गर्न तयार छु’

‘मनिष’को ट्याटुले निम्त्यायो विवाद


सेतोखरी   2079-04-31

नेपालगन्ज ३१ साउन : सोनाली कुमारी सिंह अर्थात् निहारिका राजपुत यतिबेला शिक्षण अस्पताल महाराजगञ्जमा उपचारकै क्रममा छिन् । गत शुक्रबार राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । उनी अहिले पनि महाराजगञ्जमै उपचारकै क्रममा छिन् । आफूलाई ‘बलात्कार’ गरी गर्भवती बनाउने युवकलाई धनुषा जिल्ला अदालतले सफाइ दिएको भन्दै न्यायाधीश र आरोपित युवकलाई सजाय हुनुपर्ने माग गर्दै निहारिका लामो समयदेखि आन्दोलन गरिरहेकी छन् । आफू अन्यायमा परेको भन्दै न्यायको मागसहित उनी विभिन्न समयमा अनसनसमेत बसेकी छन् । उनको प्रमुख माग भनेको आफूलाई ‘बलात्कार’ गर्ने युवक र जायजन्म भएको बालकको डीएनए टेष्ट गराउने नै हो ।

निहारिकाले बारम्बार डीएनए टेष्टको कुरा उठाइरहँदा आरोपित युवकले पनि आफू डीएनए टेष्ट गराउन तयार रहेको र डीएनए म्याचिङ भए हाँसीखुसी निहारिका र बालकलाई अपनाउने बताएका छन् ।

मंगलबार करिब एक घण्टा कुराकानी गर्दै आरोपित युवक शिवराज श्रेष्ठले आफू पीडक नभई पीडित रहेको दाबी गरे । अहिले आफू सबैतिरबाट तिरस्कृत भएको उनको भनाइ छ । जागिर खान जाँदा पनि काम नदिने र काम दिए पनि निहारिकाले बारम्बार अवरोध गर्ने गरेपछि सबैतिरबाट आफू निकालिएको उनले बताए ।

अहिले आफू अन्यको नजरमा बलात्कारी करार भएको र व्यक्तित्व विकास बन्द भएको, मानसिकरुपमा समेत विक्षिप्त बन्दै गएको र खराब मानिसको सङ्गतले आफू सकिएको उनले गुनासो गरे ।

शिवराजको भनाइको सारांश यहाँ प्रस्तुत गरिएको छ–

सोनाली कुमारी सिंहसँगको प्रेमको सुरुवात

करिब ४ वर्ष अगाडिको कुरा हो, म जनकपुरकै एक मोबाइल वितरककोमा काम गर्थेँ । त्यतिबेला चल्तीमै रहेको एक मोबाइलको होलसेलरमा काम गर्दै गर्दा सोनाली कुमारी सिंह (निहारिका)सँग भेट भएको थियो । म काम गर्ने मोबाइल कम्पनीमा धेरै कर्मचारी थिए, त्यसमध्ये सोनालीको एक साथी पनि त्यहीँ काम गर्थिन् । सोनाली तिनै साथीलाई भेट्न आउँथिन् र त्यसैक्रममा मेरो उनीसँग चिनजान भएको हो ।

उनी त्यतिबेला काठमाडौँमा बस्थिन् र बेलाबेलामा जनकपुरमा आउँथिन् । उनको घर जनकपुर नजिकै थियो, तर उनी प्रायः साथीकै कोठामा बस्थिन् । घर किन नगएको भन्दा ‘आमा बितिसक्नुभयो, घरमा बुबाले कान्छी आमा ल्याउनुभएको छ । कान्छी आमाले रिस गर्ने भएकाले घरमा जाँदिनँ’ भन्थिन् । मलाई होला भन्ने लाग्यो ।

यही बीचमा हामी फेसबुकमा जोडियौँ र कुराकानी हुन थाल्यो । हामीबीच मायाप्रेमको कुरा पनि हुन थाल्यो । मैले उमेर सोध्दा १९ वर्ष लागेँ भन्थिन् । म २० वर्ष लागेको थिएँ । उनी त्यतिबेला काठमाडौँमा बसेर बीएचएमका लागि तयारी गर्दैछु भन्थिन् । उनी बेलाबेलामा जनकपुर आउँथिन् ।

त्यतिबेला हाम्रो भेटघाट हुन्थ्यो, मायाप्रेमको कुरा हुन्थ्यो । उनी साथीको कोठामा बस्छु भन्थिन्, मैले धेरै सोधखोज गरेको थिइनँ । सन् २०१८ को अक्टोबरमा उनी काठमाडौँबाट जनकपुर आइन् । मोबाइलमा अफर पनि रहेका कारण हाम्रो कम्पनीको मोबाइलको बिक्री बढी नै थियो र म व्यस्त नै थिएँ । त्यही समय एक दिन सोनालीले सँगै डिनर खाउँ भनिन् । मैले व्यस्त भएकाले आउन अबेर हुने बताएँ । उनले ‘डिनर बेलुका नै खाने त हो नि’ भनिन् । म बेलुका ८ बजेतिर डिनर खान गएँ । त्यही समयमा आफ्नी प्रेमिका चिनाउँछु भनेर मैले बहिनीलाई पनि बोलाएँ ।

हामीले उक्त दिन सँगै डिनर ग¥यौँ र उनी साथीको कोठामा गइन् । म र बहिनी घर गयौँ । त्यसपछि हामीबीचको प्रेम अझ प्रगाढ भयो र हामी उमेर पुगेपछि विवाह गर्नेसम्मको कुरामा पुगेका थियौँ । यही बीचमा म मोबाइल कम्पनीको कामको सिलसिलामा काठमाडौँ गएको थिएँ । त्यतिबेला पनि उनीसँग भेट भएको थियो । उनी अन्य साथीसँग रुम सेयर गरेर बस्ने रहिछन् । उनले बीएचएमको तयारी गर्दै छु भनेको कुरा पनि गलत रहेछ । मैले त्यो कुरा गर्दा ‘कहाँ भन्नेबित्तिकै हुन्छ र’ भन्ने जवाफ दिइन् । मैले त्यसपछि उनलाई त्यसबारे केही सोधिनँ । उनी काठमाडौँमा बसेर पढ्दैछु, आवश्यक खर्च बुबाले पठाउनुहुन्छ भन्थिन् । तर, मैले त्यसबारे धेरै सोधखोज गरिनँ ।
उनी बेलाबेलामा जनकपुर आइरहन्थिन् । त्यही क्रममा उनी २०१८ को डिसेम्बरमा फेरि जनकपुर आइन् । न्यु इयर र क्रिसमसको समय भएकाले मोबाइलको व्यापार पनि राम्रै थियो र हामीलाई पनि कम्पनीले केही ‘इन्सेन्टिभ’ दिएको थियो । त्यतिबेला मसँग नियमित आम्दानीबाहेक थप रकम पनि थियो । उनलाई जनकपुर आउन मन लाग्यो भने फ्लाइटको टिकट काट्न भन्थिन्, मसँग पैसा भएको समयमा मैले टिकट काटिदिने गरेको थिएँ । उक्त समयमा पनि उनले आउन चाहेको बताएपछि मैले जहाजको टिकट काटेर पठाइदिएँ र उनी जनकपुर आइन् । त्यतिबेला उनीसँग म तीनचार दिनसम्म सँगै बसेको हुँ र त्यतिबेला शारीरिक सम्पर्क पनि भएको हो ।

‘मनिष’ नामको ट्याटु देखेपछि तनाव

हामीबीच शारीरिक सम्पर्क हुने समयसम्म आपसमा मायामा डुबिसकेका थियौँ । माया गरेको मान्छेप्रति स्नेह, ईस्र्या, शंका सबै हुने नै भयो । त्यही क्रममा मैले उनको गर्धनको पछिल्लो भागमा (ढाडको ठीक माथि) ‘मनिष’ नामको ट्याटु देखेँ । ‘लभ मनिष’ लेखेको ट्याटु देखेपछि मलाई साह्रै नरमाइलो लाग्यो र मैले उक्त ट्याटुबारे सोधेँ । उनले मनिष आफ्नो पूर्व प्रेमी रहेको र ऊसँगकै प्रेमका क्रममा उसको नामको ट्याटु बनाएको भएको बताइन् । आफूले पूर्व प्रेमीलाई असाध्यै माया गरेको तर उसले धोका दिएको उनको भनाइ थियो । उनले उक्त ट्याटु मेटाउने र शिवको नामको ट्याटु बनाउने पनि बताइन् ।

उनको विगत हो भनेर मैले त्यस विषयमा थप कुरा केही गरिनँ किनभने उनले नै ट्याटु मेटाउने कुरा गरिसकेपछि मैले अरू कुरा गर्नु ठीक पनि थिएन र गरिनँ । तर त्यसको दुई दिनपछि नै उनकै फेसबुक आइडीबाट केही आपत्तिजनक तस्बिरहरू प्रकाशित भयो । ‘निहारिका राजपुत फिलिङ लभ्ड विथ ....’ भनेर त्यही मनिष नाम गरेका व्यक्तिसँग चुम्बन गरेको तस्बिर प्रकाशन गरिएको थियो ।

पहिले प्रेम भएको तर छुटिसकेको भनिएको व्यक्तिले चुम्बन गरेको फोटो राखिसकेपछि मैले त्यस विषयमा उनीसँग सोधेँ । उनले ‘आई स्टील लभ हिम’ भन्ने जवाफ दिइन् । त्यसपछि उनीसँग प्रेम गरिरहनु ठीक होइन भन्ने मलाई लाग्यो र छुट्टिने कुरा गरेँ । त्यो रातको समय थियो र उनले भोलि बसेर कुरा गर्ने बताइन् ।

भोलिपल्ट हाम्रो भेटघाट भयो र सो विषयमा झगडा पनि प¥यो । उनले अब मनिषसँग कुरा नगर्ने र भेटघाट पनि नगर्ने बताइन् । तर उनले मदिरा सेवन गर्ने गरेको र चुरोट पनि खाने गरेको कुरा थाहा पाएपछि मैले उनीसँग छुट्टिन चाहेको बताएँ । उनी मसँग छुट्टिन पनि चाहन्नथिन् र मनिषसँग पनि उनको सम्बन्ध थियो । उनी दोहोरो सम्बन्धमा रहेको थाहा पाएपछि मैले उनीसँगको सम्बन्ध तोड्न खोजेको थिएँ र त्यही कुरा उनलाई बताएको थिएँ ।

निहारिकाको गर्धनमा ‘लभ मनिष’ लेखेको ट्याटु र आत्महत्याका लागि गंगासागरमा फाल हानेपश्चात पौडिएर आफै बाहिर आएपछि शिवराजले ओढ्याइदिएको ज्याकेट लगाएकी निहारिका ।

... अनि निहारिकाले आत्महत्याको प्रयास गरिन्

उनको बानी व्यहोरामा खराबी र सम्बन्धमा इमानदारिता नपाएपछि मैले उनीसँग सम्बन्ध तोड्छु भनेँ । हामी त्यो बेला साँझको समयमा गंगासागर नजिकै बसेर कुराकानी गरिरहेका थियौँ । जब म अब सम्बन्धमा रहँदिनँ भने, त्यसपछि उनले त्यही गंगासागरमा फाल हानिन् । त्यो ताल गहिरो भएको र मैले आफूले पौडी खेल्न नजानेका कारण उद्धारका लागि म जान सकिनँ । सुरुमा उनले बचाउ–बचाउ भने पनि कोही उनलाई उद्धार गर्न गएन । त्यसपछि उनी आफै पौडिएर तालको बाहिर आइन् । त्यसपछि मैले मेरै ज्याकेट ओढाइदिएँ । उनीसँग त्यतिबेला अरू कुरा गर्न हुँदैन भन्ने लागेर म उनलाई साथीको कोठामा पु¥याएर फर्किएको हुँ । तत्कालीन समयमा थप क्षति हुनबाट रोक्न उनलाई फेरि माया गर्छु भनेकै हो ।

थाइल्याण्ड वा अस्ट्रेलिया गएर ट्याटु मेटाउन साढे २ लाख माग

त्यसपछि उनी फेरि काठमाडौँ आइन् भने म जनकपुरमै काम गर्न थालेँ । उनले मनिष नामको ट्याटु मेटाउन साढे २ लाख रुपैयाँ माग गरिन् । तर म निम्न मध्यम वर्गको मान्छे, कमाएर खाने व्यक्ति भएका कारण मसँग त्यति धेरै पैसा थिएन । मैले ‘मेरो त्यति धेरै पैसा दिने हैसियत छैन’ भनेँ । उनले उक्त ट्याटु मेटाउन थाइल्याण्ड वा अस्ट्रेलिया नै जानुपर्ने र नेपालमा नहुने भन्दै बारम्बार पैसा मागिरहिन् । मैले हैसियतभन्दा बढी पैसा कहाँबाट दिन सक्थेँ र ! त्यसकारण मैले त्यति धेरै पैसा दिन सक्दिनँ भनेँ ।

उनले बारम्बार पैसा माग्दा पनि मैले पैसा दिन नसकेपछि उनले मेरो आमालाई नै भेटेर तपाईंको छोराले मलाई गर्भवती बनाएको छ, म बुहारी बनेर आउँछु, नभए मलाई ट्याटु मेटाउन साढे २ लाख रुपैयाँ दिनुस् भनिछन् । त्यतिबेला उनले आफ्नो उमेर १७ वर्षमात्रै रहेको बताएकी रहिछन् । त्यसपछि मेरो आमाले अहिले बच्चा जन्माउन मिल्दैन, गर्भपतन गराऊ र ट्याटु मेटाएर आऊ, अनि म बुहारी बनाएर भित्र्याउँछु भन्नुभएको रहेछ । तर उनले त्यो कुरालाई पनि ट्वीष्ट गरेकी छन् । मेरो आमाविरुद्ध समेत केस गरेर उनले केही दिन आमालाई पनि थुनाएकी छन् । खासमा यो विवादको सुरुवात भनेको मनिष नामको ट्याटु, मनिषले चुम्बन गरेको फोटो फेसबुकमा पोष्ट गर्नु र ट्याटु मेटाउन भन्दै साढे २ लाख माग्दा नदिएपछि नै भएको हो । त्यही कारण यतिबेला दुई परिवार तनावमा छ, तीन जनाको भविष्य अन्धकार भइरहेको छ ।

अनि गरिन् गर्भवती बनेको कुरा

हाम्रो झगडा परेको करिब एक महिनापछि होला, उनले काठमाडौँबाटै फोन गरिन् र आफू गर्भवती भएको कुरा बताइन् । ‘म तिम्रो बच्चाको आमा बन्दै छु, मलाई लिन आऊ’ भनिन् । त्यो कुरा २०७६ माघ १० गतेको कुरा हो । म आफै काठमाडौँ गएर किष्ट अस्पतालमा प्रेग्नेन्सी टेष्ट गराएँ । त्यतिबेला ९ हप्ताको गर्भ रहेको रिपोर्ट आयो । त्यसपछि मलाई झनै तनाव भयो । हामीले विवाहसमेत नगरेको कारण बच्चा जन्माउने कुरा सामाजिक दृष्टिकोणले पनि सम्भव थिएन । त्यसैले मैले गर्भपतन गराऊँ, पछि विवाह गरौँ भनेको थिएँ । तर उनले मानिनन् र कुमारी आमा बनेरै भए पनि बच्चा जन्माउने जिद्दी गरिन् ।

आफूलाई तत्कालै विवाह गरेर लैजान उनले दबाब दिए पनि म उनलाई तत्काल विवाह गरेर लैजान सक्ने अवस्थामा थिइनँ ।

उनले बच्चा जन्माउँछु भनेपछि मेरो केही लागेन र म जनकपुर फर्किएँ । त्यसपछि उनी जनकपुर आएर मेरो आमालाई भेटेर साढे दुई लाख रकम मागेर घरमा भित्र्याउन दबाब दिएकी हुन् ।

जागिरबाट समेत निकाल्दिए

जब उनी गर्भवती बनिन्, त्यसपछि उनले प्रत्येक दिन मसँग झगडा गर्न थालिन् । श्रीमती बनाएर घरमा लैजान दबाब दिन थालिन् । मैले घर लैजान सक्दिनँ, बरु बच्चा मेरो होइन, डीएनए टेष्ट गरौँ भनेँ । उनले त्यतिबेला गर्भको डीएनए टेष्ट गराउन मानिनन् । बरु म काम गर्ने संस्थामा आएर प्रत्येक दिन झगडा गर्न थालिन् । मेरो कम्पनीले मलाई कामबाट पनि निकालिदियो । अनि म बेरोजगार बनेँ ।

जिल्ला प्रहरीमा छलफल, नक्कली ‘दाइ’ बनाएर स्थानीय युवालाई ल्याइन्

यही बीचमा उनले जिल्ला प्रहरी कार्यालय धनुषामा म र आमाविरुद्ध उजुरी गरिन् । नारी अस्मिताको रक्षा गरी जीवन रक्षा गरिपाऊँ भन्दै उनले निवेदन दिएपछि प्रहरीले हामीलाई बोलायो । उनको परिवारका सदस्यलाई पनि छलफलमा बोलायो । प्रहरीले बुबा, आमा, काका, मामा को–को छन् बोलाउनुस् भन्दा उनले बजारकै एक केटालाई ‘दाइ’ भन्दै बोलाएकी रहिछन् । प्रहरीले त्यो केटा र निहारिकालाई गाली गर्दै फिर्ता पठाएर अर्को साता परिवारसहित आउन भन्यो ।

त्यसपछि अर्को पटकको छलफलमा उनले आफ्नो बुबालाई ल्याउने भनेकी थिइन् । तर बुबा आउन नमानेपछि प्रहरी आफै गएर उनको बुबालाई ल्याएको थियो । त्यसपछि उनको बुबाले ‘यसको कारणले हाम्रो साह्रै बेइज्जत भयो, पटकपटक यस्तै कुराले चौकी आउनुपर्छ’ भन्दै अब कुनै चासो र चिन्ता नरहेको बताए । त्यतिबेला रमेश बस्नेत एसपी हुनुहुन्थ्यो जस्तो लागेको छ । अनि उनले आमाको मृत्यु भइसकेको र बुबाले कान्छी श्रीमती ल्याएको भनेको कुरा पनि झुटो रहेको थाहा भयो । उनको आमाको मृत्यु भएको रहेनछ । काठमाडौंमा पढ्न पठाएको र बुबाले खर्च दिइरहको कुरा पनि झुटो रहेछ । उनी पहिलेदेखि नै घर छाडेर हिँड्ने र कहिलेकाहीँ मात्रै घरमा आउने गरेकी रहिछन् । उनकै बुबाले प्रहरी कार्यालयमा भनेपछि मात्रै हामीलाई त्यो कुरा थाहा भयो ।

प्रहरी कार्यालयमै उनले ओरेक भन्ने संस्थाकी कर्मचारी, महिला आयोगको कर्मचारी पनि लिएर आएकी थिइन् । त्यतिबेला पनि मैले डीएनए टेष्टको कुरा निकालेको थिएँ । तर महिला अधिकारवादीले ‘किन चाहियो डीएनए टेष्ट ?’ भन्दै मेरो प्रस्ताव अस्वीकार गरे । अहिले उनले डीएनए टेष्टको कुरा गर्नुको पछाडिको कारण नै मैले बुझेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा उनको बुबाले नै उनलाई गाली गरेपछि हामी सबै आ–आफ्नै बाटो लाग्यौँ । त्यसको १०–१५ दिनपछि उनले फेरि हक अधिकारको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइछन् । त्यसपछि पनि छलफल भयो र विवादको टुङ्गो लाग्न सकेन । त्यसपछि उनले मविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन् ।

जबरजस्ती करणीको जाहेरीपछि फरार, उपस्थित भएपछि पुर्पक्षका लागि थुनामा

जब निहारिकाले मविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन्, त्यसपछि म भाग्न बाध्य भएँ । अदालतमा मुद्दा चलेपछि म फर्किएर अदालतमा उपस्थित भएँ । अदालतले मलाई पुर्पक्षका लागि थुनामा पठायो ।

म बलात्कारी होइन

उनले मविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएपछि अदालतले मलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो, जबकि त्यो जबरजस्ती करणी थिएन । यौनसम्बन्ध स्थापित गर्नका लागि हामी दुवैको उमेर पुगेको थियो र हामीबीच आपसी सहमतिमै यौनसम्बन्ध स्थापित भएको थियो । यतिसम्म कि पहिलोपटक यौनसम्बन्ध राख्ने समयमा अपिलसमेत उनले नै गरेकी थिइन् र मैले कुनै जोर जबरजस्ती गरेको थिइनँ ।

अहिले त उनले म तथा मेरा परिवारविरुद्ध अनेक कुरा बोलिरहेकी छन् । म आजको दिनसम्म पनि चुप थिएँ, अब बोल्नैपर्ने अवस्था आएर बोल्न थालेको छु । बिचरी मेरी बहिनीमाथि पनि उनले अनेक आरोप लगाएकी छन् । मेरी बहिनी र उनी साथी नै होइनन् । मेरो उमेरभन्दा उनको उमेर बढी छ भने म र मेरी बहिनीको उमेरमा ४ वर्षको अन्तर छ । अनि मेरी बहिनी कसरी उनको साथी बनिन् ? बरु मैले नै मेरी ‘गर्लफ्रेण्ड’ भनेर बहिनीलाई चिनाएको हुँ ।

उनले नशालु पदार्थ खुवाएर बलात्कार गरेको दाबी गर्न थालेकी छन्, यो नयाँ फण्डा हो । पहिलो कुरा त हामी प्रेममा रहेको कुरा दुवै जनाले स्वीकार गरिसकेका छौँ । जिल्ला अदालतमा मैले बयान दिँदा पनि मैले जबरजस्ती करणी गरेको छैन भनेको हो र मैले उनलाई कहिल्यै जबरजस्ती करणी गरेको पनि छैन । प्रेम सम्बन्धमा हुँदा आपसी सहमतिमै भएको शारीरिक सम्पर्क कुन कानुनका आधारमा जबरजस्ती करणी भयो, मलाई पनि बुझाइदिनुप¥यो । अहिले अन्य बाटो बन्द हुन थालेपछि उनले नशालु पदार्थ खुवाएर बलात्कार गरी गर्भवती बनाएको आरोप लगाएकी छन् । अनि केही अभियन्ताहरु आफैले देखेको झैँ गरी समर्थन गरिरहेका छन् । कमसे कम उनीहरूले मसँग भेटेर वा कुरा गरेर क्रस भेरिफाई पनि त गर्न सक्थे । तर सबै पक्ष उनको बनावटी कुरा सुनेर मेरोविरुद्ध लागिपरेका छन् ।

कुनै महिला रोइदियो भने उनले भनेको सबै कुरा साँचो हुने र पुरुष पुरै खराब, बदमास र बलात्कारी नै हुने हो त ? सडकमा तमासा देखाएर, आँसु बिकाएर उनले भनेको ‘न्याय’ खोजिएको हो भने मलाई भन्नु केही छैन । मलाई बलात्कारी ठहर गरे मात्रै उनले न्याय पाउने भनेको के हो ? उनले न्याय पाउन मलाई अदालतले जबरजस्ती बलात्कारी बनाइदिनुपर्ने ? म जेल गएपछि उनले न्याय पाउने हुन् ? म जेल जाँदा उनले भनेको न्याय पाउने आधार के हो ? प्रेममा हुँदा भएको सहमतिको सम्बन्धलाई बलात्कार ठहर गर्न थाल्ने हो भने पुरुषहरू त जेलमै थन्किने भए अनि महिलाहरूले जति अपराध गरे पनि आँसु बगाएपछि पीडित बन्ने यो कस्तो कानुन हो, यो कस्तो समाज हो ?

त्यसकारण बुझ्नुपर्ने कुरा के हो भने उनीसँग प्रेम सम्बन्धमा हुँदा यौनसम्बन्ध रहेको कुरालाई म अस्वीकार गर्दिनँ । मैले कुनै धाकधम्की दिएर यौनसम्बन्ध बनाएको होइन । जतिबेला म उनीसँग प्रेम सम्बन्धमा थिएँ, म डेडिकेटेड भएरै प्रेम गरेको थिएँ, बरु उनले नै एक पटक आफैलाई हेर्ने कि– के गरेँ, के गरिनँ भनेर ?

त्यसकारण उनी आफैले अपिल गरेर बनाएको यौनसम्बन्ध पनि बलात्कार हो भने मलाई थप भन्नु केही छैन । यदि होइन भने मैले उनीमाथि बलात्कार गरेको छैन, म बलात्कारी होइन ।

डीएनए टेष्टका लागि तयार छु, म्याचिङ भए हाँसीखुसी स्वीकार गर्छु

अहिले उनले सडकबाट डीएनए टेष्टको कुरा गरिरहँदा मलाई अचम्म लागेको छ । यो कुरा त मैले सुरुवात मै भनेको हुँ । मैले डीएनए टेष्टको माग गरेकै हुँ, तर त्यतिबेला महिला अधिकारवादी र उनले नै मेरो प्रस्ताव अस्वीकार गरेकी हुन् । उनले डीएनए टेष्ट चाहन्छिन् भने म त्यसका लागि तयार छु । डीएनए टेष्टमा म्याचिङ भएमा म उनी र उनीबाट जायजन्म भएको बच्चालाई स्वीकार्न हरदम तयार छु । तर यदि डीएनए म्याचिङ भएन भने त्यसपछि के हुन्छ भन्ने निर्क्योल पनि पहिले नै हुनुपर्छ । म जीवनभर पीडामा रहन चाहँदिनँ । मेरो पनि बाँच्ने अधिकार छ, हिँडडुल गर्ने अधिकार छ । तर म बाहिर निस्कन सकेको छैन । दुनियाँका नजरमा मलाई जबरजस्तरुपमा बलात्कारी बनाइएको छ । यो मेरो सामाजिक क्षतिको भरपाई कसले गर्छ ?

अहिले उनको अवस्था देख्दा कहिलेकाहीँ म आफैलाई दुःख लाग्छ । उनले पाएको दुःख देख्दा कहिलेकाहीँ माया पनि लाग्छ । तर उनले दिएको दुःख, मलाई दिएको हैरानी, बलात्कारी ठहर गराउन दिइएको दबाब देख्दा फेरि दुःख लाग्छ । अहिले त म मेरै परिवारबाट पनि तिरस्कृत भएको छु । कहिलेकाहीँ त म आत्महत्या गर्न मन लाग्छ । तर आफूलाई बलात्कारी होइन भनेर प्रमाणित गर्न पनि म बाँच्नैपर्ने दबाबमा छु । म पलपल मरेको छु, यो कुरा कसैले देखेको छैन । बरु उनलाई बोकेर हिँड्नेहरूले के कति उद्देश्यले मविरुद्ध यति धेरै गलत प्रचार गरिरहेका छन्, त्यो बुझ्न सकिरहेको छैन ।

उनलाई सडकमा अनसन बस्न उचाल्नेहरुले बरु उनका लागि मनोपरामर्श सेवा र आर्थिक उपार्जनमा सहयोग गरिदिए उत्तम हुन्थ्यो होला । त्यो सानो बालक र उनको अवस्था झन्झन् नाजुक बन्दै छ । अहिले त करिश्मा मानन्धरले पनि जिम्मेवारी नलिने भन्दै छाडिदिनुभयो भन्ने सुनेको छु । अन्तिममा अन्य अभियन्ताले पनि छाडिदिन्छन् र उनको अवस्था झनै नाजुक बन्छ । त्यसकारण उनको राम्रो भविष्यको म कामना गर्छु ।

.........

अदालतले बलात्कारको मुद्दामा दिएको थियो सफाइ

सोनाली कुमारी सिंहले २०७६ फागुन १९ गतेको मिति राखेर २०७६ चैत २ गते जिल्ला प्रहरी कार्यालय धनुषामा जबरजस्ती करणीको जाहेरी दिइन् । जाहेरीमा उनले आफूलाई शिवराज श्रेष्ठले डर धम्की दिई, ललाइफकाइ पटकपटक करणी गरेको र करणीबाट आफू गर्भवती भएकाले जबरजस्ती करणीको कसुरमा सजाय गरिपाउन माग गरेकी थिइन् ।

प्रहरीमा २०७६ चैत २ गते उक्त जाहेरी दर्ता भए पनि प्रतिवादी फरार रही अनुसन्धान गर्न नपाएपछि उक्त मुद्दालाई केही समय तामेलीमा राखियो । र, २०७७ असोज २८ गते धनुषा जिल्ला अदालतमा जबरजस्ती करणी कसुरमा शिवराज श्रेष्ठलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरियो । त्यसपछि पहिलो पटक २०७७ चैत २२ गते पेसीमा चढ्यो । पहिले फरार रहेका प्रतिवादी श्रेष्ठ पनि सो समयमा अदालतमा उपस्थित भएर बकपत्र गरे । सोही दिन अदालतले शिवराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दियो । अनि सोही दिन अर्थात् २०७८ असोज ११ गतेको पेसीमा साक्षी बुझ्ने आदेश पनि भयो ।

उक्त मुद्दामा २०७८ कात्तिक २९ गतेको पेसी वादी पक्षबाट स्थगित गरियो भने पुस ६ र पुस २० गतेको पेसी न्यायाधीश बिदामा बस्दा स्थगित भयो । २०७८ माघ ३ गतेको पेसी सूची इजलास नबसी स्थगित भयो भने २०७८ माघ २४ गते आएर उक्त मुद्दामा फैसला भई अभियोग दाबी नपुग्ने ठहर गरियो । अनि बलात्कारी बनाइएका शिवराज श्रेष्ठले बलात्कारको कसुरबाट सफाइ पाए ।

नियमित पेसीमा चढेको मुद्दामा २०७८ माघ २४ गते जिल्ला न्यायाधीश परशुराम भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गरेका थिए । फैसलामा उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयम् वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदनसमेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको उक्त फैसलामा उल्लेख छ । फैसलामा ‘जाहेरवाली र प्रतिवादीको सम्बन्धको विषयमा र जाहेरवालीबाट जन्म भएको बच्चाको हकमा छुट्टै कानुनी उपचारबाट सम्बोधन हुने नै हुँदा यस मुद्दाको रोहबाट बोलिरहनु परेन’ भनी नाता कायमतिर भन्दा पनि जबरजस्ती करणी भएको हो कि होइन भन्ने सम्बन्धमा मात्रै विश्लेषण गरिएको छ । अभियोग पत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको छ र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको छ । -रातोपाटीबाट