नेपालमा पहिलोपटक सञ्चालनमा आयो ‘ह्युमन मिल्क बैंक’


नेपालमा पहिलोपटक सञ्चालनमा आयो ‘ह्युमन मिल्क बैंक’

ह्युमन मिल्क बैंकलाई दूध दान गर्दै आमाहरू ।

नेपालगन्ज ३ भदौ : नेपालमा पहिलो पटक ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आमाको दूध भण्डारण गर्न मिल्ने ‘ह्युमन मिल्क बैंक’ उद्घाटन भएको हो । अस्पतालको ६४ औं वार्षिकोत्सवमा अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार देशकै पहिलो ‘ह्युमन मिल्क बैंक’ ‘अमृत कोष’को उद्घाटन गरेकी हुन् ।

ह्युमन मिल्क बैंक उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले अस्पतालले अमृत कोषको स्थापना गर्नु मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा एक ऐतिहासिक सुरुवात भएको बताइन् ।

नेपाली समाजमा आमाको दुध दान गर्ने कार्य पुरानो अभ्यास भए पनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दुधको संकलन, प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्ने कार्य सुरुवात गरेको भन्दै उनले प्रशंसा गरिन् ।

सुरुमा प्रसूति गृहमै जन्मिएका तर, आमाको दूध नआएर वा अन्य कारणले आमाको दूध पाउन नसक्ने शिशुलाई दूध उपलब्ध गराउने उद्देश्यले अमृत कोषको स्थापना गरिएको अस्पतालका निर्देशक डाक्टर अमिरबाबु श्रेष्ठले बताए । उनका अनुसार अघिल्लो वर्ष ‘ह्युमन मिल्क बैंक’ को स्थापना गर्ने अवधारणा ल्याएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

‘बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्नका लागि समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई आवश्यकता परेको बेलामा अरू आमाहरूको दूध उपलब्ध गराउनेछौं,’ डाक्टर श्रेष्ठले भने, ‘पहिला आमाहरुको दूध नआउँदा बट्टाको दूध प्रयोग गरिन्थो । तर, अब यसलाई हामीले पूर्ण निषेध गरेका छौं ।’ चिकित्सकका अनुसार बट्टाको दूध शिशुहरुको लागि कम स्वस्थ्यकर हुन्छ ।

एक तथ्यांक अनुसार हरेक वर्ष विश्वभर करिब एक करोड ५० लाख शिशुहरू समय नपुगी नै जन्मिने गरेका छन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशुहरू अझ बढी जोखिममा हुन्छन् ।

सन् २०१९ को नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर (जीवनको पहिलो २८ दिनमा प्रति १००० जीवित जन्ममा मृत्यु हुनेको संख्या) १६ छ । त्यस्तै, शिशु मृत्यु दर (प्रति १००० जीवित जन्ममा १ वर्षभन्दा कम उमेरको मृत्यु हुनेको संख्या) २५ र ५ वर्ष मुनिको मृत्यु दर (प्रति १००० जीवित जन्ममा) २८ छ । स्तनपानले बच्चाको पहिलो खोपको रूपमा काम गर्ने र बाल्यकालका सामान्य रोगबाट बचाउने गर्छ ।

‘बच्चाको मृत्युदर र आमाको दूधसँग ठूलो सम्बन्ध छ । जुन शिशुले आमाको दूध खाएको शिशु बिरामी हुने सम्भावना थोरै हुन्छ । विभिन्न खालका संक्रमणबाट बच्चालाई जोगाउन समेत आमाको दूधको धेरै भूमिका हुन्छ,’ डाक्टर श्रेष्ठ बताउँछन् ।

अस्पताललाई सरकारले स्थापनाका लागि गत वर्ष एक करोड ५ लाख बजेट पनि दिएको थियो । यो बैंक स्थापना गर्न प्राविधिक सहयोग युनिसेफले गरेको छ र स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको ‘पाथ’ले स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको छ । मासिक एक हजार जना बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ ले प्रत्यक्ष रुपमा लाभ दिने अस्पतालले आकलन गरेको छ ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा आर्थिक वर्ष २०७८–०७९ मा २४ हजार ३६९ जना सुत्केरी भएका थिए । जसमध्ये ९ हजार ११८ जनाको शल्यक्रिया भएको अस्पताल प्रशासनले जनाएको छ । प्रसूति गृहमा दैनिक ६० देखि ७० जना सुत्केरी हुने र जन्मिएका शिशुमध्ये सीसीयूमा राखिएका ४० प्रतिशत जतिलाई दूधको आवश्यकता पर्ने अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले बताइन् ।

ह्युमन मिल्क बैंकमा दूध कसरी राखिन्छ ?

कतिपय महिलाको दूध धेरै आएर त्यत्तिकै दुहेर फाल्नुपर्ने अवस्था पनि आउने भएकाले त्यस्ता महिलाले दूध दान गरेर मिल्क बैंकमा राख्न सकिने डाक्टर सुवेदी बताउँछिन् ।

उनका अनुसार संकलन गरिएको दूधमा कुनै रोगव्याधी नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइनेछ । ‘पास्चराइजेशन गरेपछि पनि हामीले अन्य कुनै किटाणु छ कि छैन भनेर माइक्रोबाइलोजीको परीक्षण गछौं,’ डाक्टर सुवेदीले भनिन्, ‘पूर्णता स्वच्छ भएको दूधलाई तीनदेखि छ महिनासम्म प्रयोग गर्न सकिन्छ ।’

उनका अनुसार त्यसमा आमाको दूधमा हुने सबै तत्व रहने भएकाले त्यो बट्टाको दूधको तुलनामा पोषिलो हुन्छ ।

उनका अनुसार दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, भेनेरल डिजिज रिसर्च ल्याबोरोटरी टेस्ट (भीडीआरएल), हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट (एचबीएसजी) परीक्षणमा नेगेटिभ आएको तथा दीर्घकालीन रोग नभएका महिलाले मात्रै दूध दान गर्न सक्छिन् । त्यसपछि स्वस्थ्य आमाको दूध इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध माध्यमले आमाको दूध संकलन गरिन्छ ।

दूध खुवाउन नसक्ने वा खान नसक्ने बच्चाका लागि संकलन गरेको दूध २४ घण्टा भित्र खुवाउनुपर्दा रेफ्रिजिरेटरमा २ देखि ८ डिग्री सेल्सियससम्म राख्न सकिने छ । त्यसभन्दा बढी दिनमा राख्नुपरेमा आमाको दूध माइनस २० डिग्रीमा तापक्रममा डिप फ्रिजमा राखिन्छ ।