चेलिबेटिसँग सम्बन्ध जोड्ने ‘अट्वारी’, ‘भीम’का नाममा मनाइदैँ


चेलिबेटिसँग सम्बन्ध जोड्ने ‘अट्वारी’, ‘भीम’का नाममा मनाइदैँ

File Photo

नेपालगन्ज १२ भदौः पश्चिम नेपालको तराई र भित्रि मधेसका थारुले आज अट्वारी पर्व धुमधामसँग मनाउँदैछन् । दाजु र बहिनी, भाई र दिदीको सम्बन्ध जोड्ने, बढाउने र सुधार्ने पर्वको रुपमा यो पर्वलाई लिइन्छ । यो पर्वमा दाजुभाईले विवाहित दिदिबहिनीलाई कोसेली दिने चलन छ । यो अनिवार्य जस्तै मानिन्छ ।

सवै पर्वको आ–आफ्नो महत्व हुन्छ । हिन्दु धर्मावलम्बीले मान्ने प्रायःजसो पर्व भगवानसँग जोडिएका छन् । हरेक पर्वको विशेषता, महत्व फरक–फरक छ । त्यसैमा पनि थारु समुदायको आफ्नै परम्परागत चाल चलन छन् ।
आफ्नै संस्कार, आफ्नै मौलिक भेषभुषा, संस्कृति र चालचलन पनि छुट्टै छ । थारु समुदाय प्रकृतिको पूजा गर्छन् । धेरैजसो समय खेतीपातीम ब्यस्त रहने भएकोले थकान मेटाउनका लागि काम सक्ने वित्तिकै माछा, मासु खाने र नाचगान गरि रमाइलो गर्छन् । त्यसैले बाह्रै महिना थारु समुदायको कुनै न कुनै पर्व पर्ने गर्दछ ।

दाङका थारुले कृष्ण जन्माष्टमीपछि अट्वारी मनाउँछन् । यो चलन दाङबाट बसाईसराई गरि बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतमा बसोबास गरिरहेका थारु समुदायमा पनि विद्यमान छ । थारु जाती ‘माघी’ र दशैँपछि ‘अट्वारी’ पर्वलाई तेस्रो ठूलो पर्वको रुपमा मनाउँदै आएका छन् । यो पर्वलाई थारु समुदायले दुई दिनसम मनाउँछन् ।

कृष्ण जन्माष्टमीको दुई हप्ता पछि अर्थात कुशे औँसीको केहि दिन पछि र हरितालिका तीजको अघि पर्ने आईतबारमा मनाइने भएकोले यो पर्वलाई अट्वारी भनिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पश्चिम नेपालका भित्रि मधेस र तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लाका थारु जातीले यो पर्व उल्लासमय वातावरणमा मनाउने गर्दछन् ।

‘अट्वारी’ पर्वमा थारु समुदायका प्रायः पुरुष मात्र ब्रत बस्छन् । पुरुषहरु भालेले डाँको छोड्नु भन्दा पहिले दर खान्छन् । यसलाई थारु समुदायले ‘भिन्स¥या’ भन्दछन् । ब्रत बस्ने पुरुषहरु निराहार ब्रत बस्छन् । र, दिउँसो गन्यारी काठबाट आगो निकालेर देवतालाई चढाउने रोटी पकाउँछन् ।

यो आगो मुखले फुक्न मिल्दैन । मुखले फुके अशुद्ध हुन्छ भन्ने मान्यता छ । ‘गन्यारी काठबाट निकालिएको आगो मुखले फुकेमा अशुद्ध मानिन्छ र फेरि अर्को आगो निकालेर रोटी पकाउनु पर्छ,’ थारु गुर्वा मोहनलाल चौधरीले भने । ‘अट्वारी’ मनइना चलन थारु जाती संगठित भई बस्न थालेदेखि नै मनाउन शुरु भएको मानिन्छ ।

‘अट्वारी’सँग जोडिएको ऐतिहासिक घटनाक्रम

यो पर्वसँग ऐतिहासिक घटना जोडिएको छ । पाँच पाण्डव र द्रोपती सबैजना सुर्खेतको काँक्रेबिहार घुम्न गएको बेला दाङ्गका थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको खबर सुन्ने वित्तिकै तावामा पकाउन राखेको रोटी छोडेर भीम (भ्यावाँ) दंगीशरणको पक्षमा लडाइँ गर्न दाङ आएको र शत्रुलाई पराजित गरेको किवदन्ती छ ।

त्यसैले भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा एकतर्फ मात्र पकाएको रोटी भीमलाई पूजा गर्दछन् । यहि मान्यतालाई विश्वास गरि थारु समुदायले भीम जस्तो बलियो हुन पाउँ भनि ‘अट्वारी’ पर्व मनाउन थालेको थारु संस्कृतिका अन्वेषक अशोश चौधरी बताउँछन् ।

थारु राजा दंगीशरणको राज्यमा शत्रुले आक्रमण गरेको बेला भीमको सहयोगमा आईतवारका दिन विजय प्राप्त गरेको मान्यता अनुसार थारु समुदायले भीमका नाममा आईतवारका दिन ‘अट्वारी’ पर्व मनाउन थालेको उनले बताए ।

सधैँ काममा ब्यस्त रहने परिश्रमी थारु समुदायका पुरुषहरु भीम जस्तै बलियो हुन पाउँ भनि अट्वारीमा भीमको नाममा निराहार ब्रत बस्ने र पूजा गर्छन्,’ उनले भने ।

अट्वारीमा के–के गरिन्छ ?

अट्वारीको अघिल्लो रात भालेले डाँको छोड्नु भन्दा पहिले दर खाइन्छ । दर खाएका पुरुष दिनभर निराहार ब्रत बस्छन् । र, दिउँसो नुहाएर बैठक कोठा लिपपोत गरि काठबाट निकालिएको आगोमा रोटी पकाउँछन् ।

सबैभन्दा पहिले भीमका लागि एकतर्फ पकाइन्छ । उक्त रोटीलाई ‘भेवाँ’ के रोटी भनिन्छ । भीमको लागि रोटी पकाई सकेपछि मात्र अरु रोटी पकाउने चलन छ । थारु सँस्कृतिमा दख्खल दिने नेपालगन्जका पत्रकार विश्वराज पछल्डग्ङयाले बताए । उनले भने–‘एकतर्फ मात्र पकाएको रोटी भीमलाई चढाइन्छ भने अरु रोटी अन्य देवीदेवता र आफ्ना चेलीबेटीलाई उपहार स्वरुप दिइन्छ ।’

‘दिनभर निराहार ब्रत बसेका पुरुष बेलुकी पख भीम र अन्य देवीदेवतालाई रोटी, फलफुल चढाउँछन् । एउटा टपरीमा रहेको रोटी र फलफुल एक–एक, दुई–दुई वटा अर्को टपरीमा राखिन्छ । र, रोटी, फलफूल आगोलाई पनि चढाइन्छ । यसलाई थारु भाषामा ‘अग्रासन कहर्ना’ भनिन्छ । त्यसपछि देवतालाई पानी चढाउने गरिन्छ ।’ थारु पत्रकार पछल्डङग्याले अगाडी थपे–‘यसलाई पानी पर्छना भनिन्छ । यी सवै कर्म गरिसकेपछि घरका सबैजना एक ठाउँमा बसेर खाने चलन छ ।’

बाँकेका दुई पालिकामा सार्वजनिक विदा

थारु समुदायले मनाउने बड्का अटवारी पर्वका अवसरमा दुई दिन सार्वजनिक विदा दिइएकोछ । थारु बाहुल्यता भएको बाँकेको राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले बड्का अटवारी पर्वका अवसरमा सार्वजनिक विदा दिएको हो ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाले दुई दिन १२ र १३ गते सार्वजनकि विदा दिएकोछ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले स्थानीय सार्वजनिक विदा गरिएका पालिका कार्यालय र मातहतका सम्पूर्ण कार्यलयहरु बन्द रहने जानकारी दिए ।

यस्तै बाँकेकै बैजनाथ गाउँपालिकाले एक सूचना जारी गर्दै भदौ १२ गते आईतबार एक दिनका लागि सार्वजनिक विदा दिएको हो । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ वटा गाउँपालिका रहेकोछ ।

बाँकेको ८ वटै पालिकामा थारु समुदायको बसोबास भएपनि संख्यात्मकरुपमा सबैभन्दा बढि राप्तीसोनारी त्यसपछि बैजनाथ गाउँपालिकामा रहेकाछन् । भने क्रमश कोहलपुर नगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, खजुरा गाउँपालिका, डुडुवा, नरैनापुर र जानकी गाउँपालिकामा थारु समुदायको बसोबास रहेकोछ ।