नेपालगन्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द, १४ महिनादेखि रकम नपाएको भन्दै बिरङ्गले सेवा रोक्यो


नेपालगन्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द, १४ महिनादेखि रकम नपाएको भन्दै बिरङ्गले सेवा रोक्यो

कोहलपुर १९ भदौ : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएकोछ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

नेपालगन्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिए ।

‘हामीसँग १८ देखि २० जनासम्म डायलाइसिस गर्नुपर्ने बिरामीहरु छन्,’ पन्तले भने, ‘स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको छ । हामी सेवा सुरु गराउन प्रयास गरिरहेका छौं ।’

बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । ‘गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ हामीले पाएका छैनौं,’ शाहले भने, ‘हामीले उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो ।’

Kanti Aarogya Hospital Nepalgunj

उनले बिरामीहरु मर्कामा परेपछि ललितपुरस्थित बिरङ्गको हेड अफिसले एक हप्तालाई पुग्ने सामानको पैसा पठाइदिएको र त्यसैको आधारमा डायलाइसिसलाई आवश्यक पर्ने सामान मगाएको बताए । उनले भने, ‘आजै साँझबाट सेवा सुरु गर्ने प्रयासमा हामी छौं ।’

शाहका अनुसार बिरामीहरुले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ ।

नेपालगन्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ । सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगञ्ज मेडिकल कलेजबाट पाउँछ । तर, आफूहरुले १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजर शाह बताउँछन् ।

शाहका अनुसार नेपालगन्ज मेडिकल कलेजमा सेवा रोकिएपछि बिरामीहरुलाई अरु नै अस्पतालमा पठाउनु परेको छ । डायलाइसिस सेवा भेरी अस्पतालमा भए पनि धेरै मेसिन नभएकाले बिरामीहरुले पालो नै नपाउने समस्या रहेको उनको भनाइ छ ।

‘कतिपय बिरामीको त डायलाइसिस रोकियो, कतिपयलाई भेरीमा र नजिकको क्लिनमा एडजष्ट गर्न कोसिस गर्यौं,’ उनले भने, ‘भेरी सरकारी अस्पताल भए पनि त्यहाँ जम्मा दुईवटा मेसिनमात्र चल्छ रे । त्यसैले धेरैजसो बिरामीहरु त सेवाबाट बन्चित नै हुनुभयो ।’

आफूहरुसँग पाँच वटा मेसिन नेगेटिभमा र दुईवटा पोजेटिभमा रहेको उनले बताए । नेगेटिभका पाँच वटामध्ये एउटा बिग्रिएकाले चारवटा मेसिन चालु अवस्थामा रहेको उनी बताउँछन् ।