नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो


नेपालगन्ज बसपार्क क्षेत्रका एकजनामा डेंगु देखियो

नेपालगन्ज १९ भदौ : नेपालगन्ज उपमहानगरपालिकाभित्र स्थानीय ब्यक्तिमा पनि डेंगु रोगको संक्रमण देखिएको छ । नेपालगन्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेंगु देखिएको हो ।

स्थानीयमा डेंगु देखिएपछि अन्य ब्यक्तिमा सर्न नदिनका लागि डेंगु सार्ने लामखुट्टे नष्ट पार्ने कार्यक्रम सञ्चालन गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्द, स्वास्थ्य कार्यालय बाँकेका दुर्गा गौतम सहितको सहभागितामा वडा नम्बर–४ को कार्यालयमा आईतबार स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक सहितको सर्वपक्षीय बैठकले सोमबारदेखि लामखुट्टे नष्ट पार्ने तथा जनचेतनामुलक कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

वडा नम्बर–४ का अध्यक्ष गोपाल पुनले डंगुबाट नगरबासीलाई जोगाउन सचेतना जगाउन आवश्यक भएको बताए ।

२५ सय बढीमा डेंगु पुष्टि

Kids Festival 2022
kanti aarogya hospital
add

बर्खायाम लागेसँगै गएको दुई महिनाको अवधिमा देशभर २१ सय ९२ जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार त्यसअघिका छ महिनाको अवधिमा ४ सय डेंगु केस भेटिएको थियो । अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो ।

नेपालमा अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका केस पुष्टि हुने गर्छ । डेंगु जलवायु परिवर्तन भएसँगै डेंगु तराईबाट उक्लिएर पहाड र हिमाल पनि देखिन थालेको छ । तराईका साथै हिमाली जिल्ला मुगु, कालिकोट, बैतडी लगायतका जिल्लाहरूसमेत डेंगुका केस भेटिएका छन् ।

तराई–मधेसमा बढी देखिने डेंगु २०१८ पछि पोखरा, काठमाडौँ जस्ता पहाडी सहरमा पनि देखापरेको थियो । सन् २०१९ मा नेपालमा डेंगुको प्रकोप देखिएको थियो । ०६७ मा डेंगुले प्रकोपको रूप लिँदा १० हजार ८०८ केस पुष्टि भएको थियो । जसमध्ये छ जनाको मृत्यु भएको थियो ।

डेंगुका लक्षण

डेंगु एडीस एजिप्टी र एडिस एल्बोपिक्टस् प्रजातिका लामखुट्टेको टोकाइबाट सर्छ । एक्कासि ज्वरो आउने, टाउको मांसपेशी तथा जोर्नी दुख्ने थकान महसुस हुने, वाकवाकी लाग्ने वा बान्ता हुने,आफ्नो दैनिकी खानपानमा रुचि नलाग्ने हुन्छ ।

पूरा बाहुला भएको लुगा लगाउने, झुल भित्र मात्र सुत्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने,घर कार्यालय विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने, खाल्डाखुल्डी पर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, गमला प्लेट, फूल दानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने र पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्न चिकित्सकहरूको सुझाव छ ।

नेपालमा विशेषतः मनसुन सिजनको अन्त्यतिर कतै न कतै प्रकोपको रूपमा डेंगु देखिने गरेको छ । दशैँ–तिहारतिर डेंगु बढी देखिने गर्दछ । तर, सन् २०१९ मा भने मनसुन सिजन सुरु हुनु पूर्व नै डेंगुले आफ्नो प्रभाव देखाउन सुरु गरिसकेको थियो । त्यो वर्ष डेंगु महामारी नेपालको इतिहासमा नै सबैभन्दा लामो अवधि रहेको र हजारौँलाई सङ्क्रमण गरेको वर्षको रूपमा रह्यो ।

डेंगु भाइरस एडीस जातको लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ । धेरैमा राति सुत्ने बेला झुल लगाएर सुत्ने गरेकोले सङ्क्रमण नहुनु पर्ने धारणा भएको देखिन्छ । तर, धेरैलाई यो जानकारी नहुन पनि सक्दछ कि एडीस जातको लामखुट्टे विशेषत सूर्योदय पछि र सूर्यास्त हुनु पूर्व बढी सक्रिय हुने र टोक्ने गर्दछ । यसै कारणले पनि सम्भवतः धेरै मानिस एकै समय र ठाउँमा सङ्क्रमित हुने गर्दछ । किनभने यसै समयमा (दिनमा) धेरै मानिसहरू आ–आफ्नो कार्य थलोमा व्यस्त हुने र सो समयमा कार्य व्यस्तताको कारणले टोकेको समेत थाहा नहुने गर्दछ । तसर्थ धेरैलाई आफू बस्ने घरबाटभन्दा पनि कार्य थलोबाट बढी डेंगु सङ्क्रमण हुने गरेको लेखकको अनुभव छ ।

सङ्क्रमित सबैमा डेंगुको कडा लक्षण देखिँदैन । अधिकांशले घरमा नै बसेर स्वास्थ्य लाभ गर्न सक्दछन् । तर, कतिपयलाई भने डेंगुको कडा लक्षण देखिने गर्दछ । यो अवस्थालाई ‘चेतावनीको सङ्केत’ अर्थात् ‘वार्निङ साइन’ को रूपमा लिने गरिन्छ । डेंगु भएर बसिरहेको अवस्थामा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, अलश्य हुने, रक्तश्राव हुने (गिजा, नाक आदिबाट रगत बग्ने), कलेजो सुन्निने र प्रयोगशाला परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटोकृत उकालो लाग्ने गरेको हुन्छ । यस्तो अवस्थामा संक्रमितले जति सक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्दछ ।

डेंगुको हाल विशेष औषधी र खोप छैन । तसर्थ लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य उपाय हो । लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे वृद्धि विकास हुने वातावरण नै सिर्जना हुन नदिनु हो । पानी सङ्कलन हुने ठाउँहरूले नै लामखुट्टे वृद्धि विकास गराउन सघाउने गर्दछ । तसर्थ घर÷टोल वरिपरि पानी सङ्कलन हुने ठाउँहरू हुनु दिनुहुँदैन। आफ्नो घर÷टोलमा मात्र नभई आफ्नो कार्यस्थल वरिपरि पनि पानी सङ्कलन हुने ठाउँहरू हुन दिनु हुँदैन । डेंगुले प्रकोपको रूप लिई सकेपछि ‘लामखुट्टे, खोज र नष्ट गर’ अभियान गर्नुभन्दा पहिले नै लामखुट्टे वृद्धि विकास हुने स्थिति सिर्जना हुन नदिए धेरैलाई सङ्क्रमित हुनबाट बच्न र बचाउन सकिनेछ ।