दुर्गमको दुर्दान्त : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले


दुर्गमको दुर्दान्त : बाटोमै मृत बच्चा जन्माइन् नर्मताले

बागलुङ २३ भदौ : बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरकी नर्मता विकलाई बुधबार बिहानैदेखि सुत्केरी व्यथाले च्याप्यो। नजिकमा स्वास्थ्य संस्था थिएनन् । व्यथाले च्यापेपछि आफन्तले स्वास्थ्यकर्मीलाई खबर गरे। निसीखोलादेखि स्वास्थ्यकर्मी जान सम्भव थिएन । निसीखोलादेखि विकको घर निसेलढोर पुग्न झण्डै एक दिन लाग्छ ।

आफन्तले ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन सहरी स्वास्थ्य क्लिनिकमा खबर गरे । खबर पाउनासाथ क्लिनिकबाट अनमी सीता बुढा मगर विकको घर पुगिन् । उनको घर पुगेर स्वास्थ्य जाँच गर्दा बच्चाको धड्कन सुनिएको थिएन ।

बच्चाको धड्कन नसुनिएपछि बुढामगरले विकलाई अस्पताल लैजानुपर्ने सुझाइन् । भौगोलिक विकटताका कारण यातायात सेवाको पहुँच छैन । नजिकमा अस्पताल नहुँदा बुढामगरले आफन्तलाई डोकोमा बोकेर विकलाई केही तलसम्म ल्याउन भन्दै आफैं गाडीको व्यवस्थापन गर्न ढोरपाटन फर्किइन् ।

आफन्तले विकलाई डोकोमा बोकेर केही तल के झारेका थिए, उनले बाटोमै मृत बच्चा जन्माइन्। गाडी लिएर अनमी बुढामगर त्यहीँ आइपुगिन् । उनले नर्मताको बाटोमै सामान्य उपचार गरिन् र ढोरपाटन ल्याइन् ।

Kids Festival 2022
kanti aarogya hospital

‘उहाँलाई (नर्मतालाई) बिहानदेखिनै गाह्रो भएको रहेछ । आफन्तले मलाई खबर गरेर घरमा पुग्दा उहाँ निकै छट्पटाउनुभएको थियो । जाँच गर्दा बच्चाको धड्कन सुनिएन’, अनमी बुढामगर भन्छिन्, ‘मैले बुर्तिवाङ अस्पताल लैजान सुझाएँ । मृत बच्चा जन्माउनुभयो। रगत धेरै बगिसकेको थियो । स्लाइन पानी दिएर ढोरपाटन ल्याएँ। अहिले त्यहीँ उपचार भइरहेको छ ।’

नर्मताले ३२ हप्ताको समय नपुगेको बच्चा जन्माएको अनमी बुढामगरले बताइन् । ‘धन्न अस्पताल पुगेकाले बच्चा बचाउन नसके पनि आमाको ज्यान भने जोगियो’, अनमी बुढामगरले भनिन् । नर्मताले गर्भवती भएदेखि नै स्वास्थ्य परीक्षण नगराएको पाइएको उनले बताइन् ।

बागलुङका दूरदराजमा अहिले पनि स्वास्थ्य तथा शिक्षाको सहज पहुँच छैन । त्यसले गर्दा यस्ता नियति दोहोरीरहन्छन् । विगतमा पनि यस्ता धेरै घटना यस क्षेत्रमा हुने गर्थे । ढोरपाटन नगरपालिकाका स्वास्थ्य संयोजक केशव थापा दुर्गममा यातायात सेवा तथा स्वास्थ्य संस्था अभावले यस्ता घटना हुने गरेको बताउँछन् ।

ढोरपाटन नगरपालिकाले दुर्गम गाउँमा स्वास्थ्य संस्था स्थापना गरेर सहज स्वास्थ्य सेवाको व्यवस्था गरे पनि अशिक्षाका कारण महिला स्वास्थ्य परीक्षण गराउन नआउने उनको भनाइ छ ।

ग्रामीण क्षेत्रमा गर्भवतीले स्वास्थ्य परीक्षण गराउने बानी न्यून भएको थापाले बताए । ‘कम्तीमा तीन पटक भिडियो एक्सेर गराउनुपर्ने हुन्छ । नर्मताले एकपटक पनि नगराएको पाइयो’, उनले भने।

समय समयमा बुर्तिवाङमा स्वास्थ्यकर्मी पठाएर निःशुल्क गर्भ परीक्षण गर्ने व्यवस्था मिलाए पनि धेरै नआएको पाइएको थापाले बताए । -डम्मर बुढामगर/रासस