तेजविक्रमले राप्रपा किन छाडे ? यस्ता छन् कारण


तेजविक्रमले राप्रपा किन छाडे ? यस्ता छन् कारण

नेपालगन्ज २६ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रशिक्षण विभाग सदस्य तेजविक्रम शाहले पार्टी परित्याग गरेका छन् । उनले पार्टी अध्यक्षलाई लेखेको राजीनामा पत्र फेसबुकमा सार्वजनिक गर्दै राप्रपा परित्याग गरेको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘पार्टीको सैद्धान्तिक आदर्श र वैचारिक आधारस्तम्भसँग प्रतिकूल हुने गरी कार्यनीति अवलम्बन गरिएकाले अब यो पार्टीबाट राष्ट्रबादी आन्दोलन सफल हुन नसक्ने देखिएकाले आजैको मितिदेखि लागू हुने गरी प्रशिक्षण विभागको केन्द्रिय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको जानकारी गराउँछु ।’

राप्रपा सिद्धान्त र विचारबाट बिमुख हुँदै गएको भन्दै उनले पार्टीको कार्यनीति र रणनीतिमा असहमतिका ६ बुँदा पनि सार्वजनिक गरेका छन् ।

पार्टी परित्याग गर्दै गर्दा शाहले उठाएका ६ असहमति यसप्रकार रहेकाछन् :

Kanti Aarogya Hospital Nepalgunj

१) राष्ट्रघाती नागरिकता विधेयक र एमसीसी जस्ता राष्ट्रविरोधी विधेयक संसदबाट पारित गर्दा पार्टीलाई स्पष्टरुपमा यी विधेयकहरुको विरुद्ध उभ्याउन नसकेको । स्मरण रहोस्, नागरिकता विधयेक पारित भएमा सबभन्दा बढी प्रभावित मधेसमा बसोबास गर्ने नेपालीहरु हुनेछन् ।
२) पार्टीको मूल सिद्धान्त राष्ट्रिय अखण्डता रहेको र यसको विरुद्धमा लादिएको संघीयताको सम्बन्धमा दबेको स्वरमा झिनो विरोध गर्ने तर, त्यही संघीय संरचनामा जानको लागि निर्वाचनमा सहभागि हुन मरिहत्े गर्ने ।
३) पार्टीले लिएका राष्ट्रबादी सिद्धान्त संबैधानिक राजसंस्था, हिन्दू राष्ट्र र राष्ट्रिय अखण्डता प्रतिकुलका गणतन्त्र, धर्म रिपेक्षता तथा संघीयता जस्ता राष्ट्र विखण्डनकारी सिद्धान्त लिएका काँग्रेस, एमाले, माओबादी लगायतका भ्रष्ट दलहरुसंग चुनाव जित्ने नाममा समय समयमा गठबन्धन गरेर जाने र आफ्ना मुद्दाहरुलाई सदाको लागि ओझेलमा पार्ने ।
४) संसद पूर्ण रुपमा समानुपातिक हुनु घातक हुनेछ । नागरिकता विधेयक पास भएमा स्वभाविक रुपमा भारतीयहरुको जनसंख्या बढ्दै गएर भोलीका दिनहरुमा राष्ट्र पराधिन हुन जाने निश्चित छ ।
५) भ्रष्टाचारको सवालमा शून्य सहनीलता भन्दै हिँड्ने तर, देशमा भएका ठूला–ठूला भ्रष्टाचारका काण्डहरु जस्तो एनसेल, वाईडबडी आदीमा खरो रुपले विरोध नगर्ने ।
६) पार्टीको बैचारिक आधारस्तम्भ राजा सहतिको प्रजातन्त्र, हिन्दु राष्ट्र र स्थानीय सुदृढ स्वायत्त शासन प्रणाली रहेको तर, यी एजेण्डा प्राप्तिको लागि राष्ट्रव्यापी आन्दोलनलाई उत्कर्षमा पु¥याउन नसकेको तथा सधैं सधैं पार्टीमा राजाको कट्टर विरोधी, बिदेशी दलाल र गौ हत्याराहरुलाई पार्टीका निर्णायक तहमा स्थापित गराउदै गरेकोछ ।

आफूले उठाएका बुँदाहरुबाट राप्रपा अब पार्टीको आर्दश र बैचारिक दृष्टिकोणबाट पलायन भैसकेको र नेपाल आमाको रगत खाने पार्टीहरुसंग सहकार्य गर्दै दुईचार सिट बढाउन संसदमा बार्गेनिङ गर्ने नीति रहेको उनको आरोप रहेकोछ ।

पार्टीको सैद्धान्तिक आर्दश र बैचारिक आधारस्तम्भ संग प्रतिकुल हुने गरि कार्यनीति अवलम्बन गरिएकोले राष्ट्रबादी आन्दोलन सफल हुन नसक्ने देखिएकोले प्रशिक्षण विभागको केन्द्रिय सदस्य तथा पार्टीको साधारण सदस्य समेत नरहने गरि राप्रपा परित्याग गरेको उनले बताएकाछन् ।

पार्टी परित्याग गर्दै गर्दा तीन दशक भन्दा बढि समय ब्यतित गरेको पार्टी र सहकर्मी साथीहरुसंग सैद्धान्तिक असहमति बाहेक अन्य कुनै पनि प्रकारको असहमति तथा पूर्वाग्रह नभएको उनेल प्रष्टयाए । शाहले पार्टी परित्याग गरेको विषयमा राप्रपाले कुनै औपचारिक सम्बोधन गरेको छैन ।