बाँकेका १५ प्रतिशत घरधुरीमा पाइप प्रणालीको पानी


बाँकेका १५ प्रतिशत घरधुरीमा पाइप प्रणालीको पानी

नेपालगन्ज ३० भदौ : बाँकेमा १५ प्रतिशत घरधुरीका मानिसले पाइप प्रणालीको पानी खाने गरेको पाइएकोछ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका अनुसार, जिल्लाका १४.९० प्रतिशत घरधुरीका मानिसले मात्रै पाइप प्रणालीको पानी खाने गरेका हुन् । बाँकी ८५ प्रतिशत घरधुरीका जनताले ह्याण्ड पम्प, कुवाँ, इनारको पानी पिउने गरेका छन् ।

यसरी पानी खाने जिल्लाका १४ हजार १ सय ३० घरधुरी छन् । सन् २०३० सम्म सबै घरमा स्वच्छ खानेपानी पु¥याउने दीगो विकास लक्ष्य राखिएको छ । बाँकेमा त्यो लक्ष्य समयमा पूरा हुनेमा आशंका बढेको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जले जिल्लामा ७५ वटा खानेपानीका योजनामा काम गरिरहेको जनाएकोछ । गत वर्ष खानेपानीमा २४ करोड खर्च भयो । योजना भने कुनै पनि सम्पन्न भएका छैनन् । एउटा योजना सम्पन्न नहुँदै अर्को योजनामा हात हाल्ने प्रवृत्तिले समयमा काम हुन सकेको छैन ।

Kids Festival 2022
kanti aarogya hospital

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगन्जका प्रमुख तिलक न्यौपानेले मागको आधारमा नभई नेता र सांसदको दबाबमा माथिबाटै योजनाहरु थपिँदा समस्या भएको बताए ।

धेरै वर्षदेखि खानेपानीमा काम गरेपनि बाँकेमा थुप्रै चुनौतीहरु रहेकाले यी आयोजनाहरुले पूर्णता पाउन नसकेको उनले बताए ।

‘वर्षेनी बजेट घट्दो छ तर, माग बढ्दोछ’ डिभिजन प्रमुख न्यौपानेले भने –‘गत वर्षको तुलनमा यो वर्ष ३३ प्रतिशत बजेट घटेर आएकोछ । माग बढ्दो छ । यस्तै अवस्था रह्यो भने २०३० मा सबैका घरमा पानी पु¥याउने लक्ष्य पुरा हुन गाह्रो छ ।’

उनले आफूहरुले नचाहँदा नचाहँदै पनि योजना थपिने गरेको खुलाए । बिहीबार नेपालगन्जमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै डिभिजन प्रमुख न्यौपानेले योजनाको संख्या बढ्दै गर्दा बजेट पनि घटिरहेको जानकारी दिए ।

उनका अनुसार जिल्लामा सबैभन्दा बढि राप्तीसोनारी गाउँपालिका र सबैभन्दा कम नेपालगन्ज उपमहानगरपालिकामा खानेपानीको आयोजना निर्माणाधिन रहेकोछ ।

जिल्लामा निर्माणाधिन यी आयोजनाहरुमध्ये ४–५ वटा आयोजना मात्र आंशिकरुपमा सञ्चालनमा रहेको उनले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले यो वर्षको अन्तिमसम्म कम्तिमा ८–१० वटा खानेपानीको आयोजना सञ्चालनमा ल्याउने गरि काम गरिरहेको बताए ।