राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोट
नेपालगन्ज ३१ भदौ : शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रपती शैक्षिक सुधार कार्यक्रमका लागि बाँकेका २३ वटा विद्यालय छनोटमा परेका छन् ।
युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नम्बर–१ का सांसद महेश्वर गहतराज (अथक) को पहलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बाँकेका १५ वटा विद्यालयमा पक्की भवन निर्माण तथा ८ विद्यालयमा सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागि छनोट गरेको हो ।
छनोट भएका विद्यालयमध्ये १० वटा विद्यालयमा चार कोठे पक्की भवन निर्माण हुनेछ भने ५ वटा विद्यालयमा २ कोठे पक्की भवन निर्माण गरीने छ ।
चारकोठे भवन निर्माणका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, चन्नहवा, जनज्योती आधारभूत विद्यालय, झण्डहवा र राम मावि, हवल्दारपुर छनोट भएका छन्, भने बैजनाथको सुर्योदय माविमा समेत चार कोठे पक्की भवन निर्माण हुने भएको छ ।
त्यसैगरी राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि, गुलरी, जनशक्ती मावि, बालापुर, भुवरभवानी मावि, बिनौना तथा नेपाल राष्ट्रिय मावि, कोदरबेटवा छनोट भएका छन् ।
यस्तै दुई कोठे पक्कि भवनका लागि कोहलपुरको नेपाल राष्ट्रिय आधारभूत विद्यालय, लखनवार, बैजनाथको वागेश्वरी मावि, राप्तीसोनारीको नेपाल राष्ट्रिय मावि, अगैया, बालशान्ती आधारभूत विद्यालय, भेलुनिया र नरैनापुरको नेपाल राष्ट्रिय आधारभूत विद्यलाय, शंकरनगरकोटीया छनोटमा परेका छन् ।
छनोट परेका विद्यालयहरुले चार कोठा पक्की भवनकालागि प्रति विद्यालय ४५ लाख र दुई कोठे भवन निर्माणकालागि २२ लाख ५० हजार दरले बजेट प्राप्त गर्ने छन् ।
कार्यक्रम अन्तर्गत कृष्ण मावि, कोहलपुर, जन ज्ञानज्योती मावि, कोहलपुर, जनजागरण आधारभूत विद्यालय, बैजनाथ, जनसहयोगी आधारभूत विद्यालय, बैजनाथ, गणेश आधारभूत विद्यालय, ढकेरी, शिवशक्ती मावि, पेरानी, जनशक्ती मावि, बैजापुर र नेपाल राष्ट्रिय आधारभूत विद्यालय, नरैनापुर सूचना तथा प्राविधि प्रयोगशाला स्थापनाका लागी छनोट भएका छन् ।
छनोट भएका विद्यालयहरुमा आईसीटी (सूचना तथा प्राविधि प्रयोगशाला) निर्माणका लागि प्रति विद्यालय ६ लाख ५० हजारका दरले बजेट बिनियोजन गरीएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्री अथककै पहलमा यसअघि बाँकेमा एक सयभन्दा बढि पक्की कक्षा कोठा निर्माण भईसकेका छन् । विद्यालयबाट टिनको छाना बिस्थापित गर्ने अभियान अन्तर्गत मन्त्री अथकको पहलमा चालु आर्थिक वर्षमा थप १५ वटा विद्यालयमा ५० वटा पक्की कक्षा कोठा निर्माणका लागि बजेट विनियोजन भएको हो ।