‘प्रेम गीत–३’ को हिन्दी भर्सनले पायो नेपाली फिल्मको मान्यता

असोज ७ गतेदेखि विश्वभर प्रर्दशन हुदैँ


‘प्रेम गीत–३’ को हिन्दी भर्सनले पायो नेपाली फिल्मको मान्यता

नेपालगन्ज ६ असोज : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी संस्करणलाई नेपाली फिल्म नै भएको ठहर गरेको छ । मन्त्रालयको यस्तो निर्णयपछि ‘प्रेमगीत–३’को हिन्दी संस्करणले पनि नेपाली फिल्मको सेवासुविधा सरह प्रदर्शनको मौका पाएको छ । साथै, १५ प्रतिशत विकास शुल्क पनि तिर्नुपर्ने छैन ।

सञ्चार मन्त्रालयका प्रवक्ता तथा सेन्सर बोर्डका अध्यक्ष सेवन्तक पोखरेलले ‘प्रेमगीत ३’ लाई नेपाली चलचित्र नै भन्ने निर्णय भएको बताए । ‘नेपाली कलाकार र नेपाली प्राविधिकले काम गरेका छन् भने नेपाली कम्पनीले निर्माण गरेकाले विदेशी फिल्म भन्ने आधार देखिएन । नेपाली फिल्म नै भन्ने निष्कर्षमा हामी पुग्यौं,’ पोखरेलको भनाईछ ।

बोर्डले हिन्दी प्रेमगीत–३ लाई १५ प्रतिशत शूल्क तिर्ने गरी विदेशी फिल्म सरहको सेन्सर सिफारिस गरेपछि मन्त्रालयले स्पष्टीकरणको लागि अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

मन्त्रालयका प्रवक्ता पोखरेलले सेन्सर विवाद र घटनाक्रमबारे अध्यक्ष केसीसँग सोधपुछ गरेको थियो । ‘हाम्रो कुरापछि उहाँ (भुवन केसी) कन्भिन्स पनि हुनुभयो,’ पोखरेलले भने, ‘अब सोहीअनुसार फिल्म रिलिज हुनेछ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

बोर्डले विदेशी फिल्म करार गरेपछि वितरकले मन्त्रालयमा निवेदन दिएका थिए । यो निवेदन लगत्तै मन्त्रालयले बोर्ड अध्यक्ष केसीलाई छलफलमा बोलाएको थियो ।

मन्त्रालयको निर्णयपछि अब ‘प्रेमगीत ३’ को हिन्दी सेन्सर हुने बाटो खुलेको छ भने भोलि प्रदर्शन हुने पक्का भएको छ । मन्त्रालयको यो निर्णयपछि अब अन्य भाषामा स्वरांकन भएर रिलिज हुने फिल्मका लागि पनि एउटा नजीर बस्नेछ ।

‘प्रेम गीत–३’ निर्माण तथा वितरकले सञ्चार मन्त्रालयमा ‘प्रेम गीत–३’ हिन्दी भर्सनलाई विकास बोर्डले कसरी हिन्दी चलचित्र भनेको हो स्पष्ट पारिदिन भन्दै निवेदन दिएको थियो । उक्त निवेदन परेपछि मन्त्रालयले आज बोर्ड अध्यक्ष भुवन केसीलाई बोलाएको थियो ।

बोर्डले हिजो (बुधबार)‘प्रेम गीत–३’ हिन्दी भर्सनलाई हिन्दी चलचित्र भन्दै सेन्सर पासका लागि सिफारिस गरेको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई बोलाएर गरेको छलफलमा मन्त्रालयले ‘प्रेम गीत–३’ हिन्दी भाषामा स्वरांकन गर्दैमा नेपाली चलचित्रलाई हिन्दी भन्न नमिल्ने बताएको हो ।

निर्माण पक्षले नेपाली चलचित्र सरहको सेवा सुविधा दिन माग गर्दै बोर्डमा निवदेन दिएपछि बोर्डले हिन्दीमा स्वरांकन भएको चलचित्र नेपाली हुन नसक्ने बताउँदै विदेशी चलचित्र सरह सेन्सरका लागि आउन आग्रह गरेको थियो ।

यता ‘प्रेम गीत–३’ निर्माता तथा निर्देशक सन्तोष सेनले आफ्नो माग पूरा भएको बताए । ‘हाम्रो माग प्रेम गीत–३ लाई हिन्दी करार नगरियोस् भन्ने थियो । मन्त्रालयको निर्णयले हामी उत्साही छौँ,’ हाल भारतको मुम्बईमा रहेका सन्तोषले, ‘१५ प्रतिशत करभन्दा पनि नेपाली फिल्मलाई विदेशी नभनियोस् भन्ने थियो ।’

नेपाली चलचित्र उद्योगमा ठूलो राजनीति रहेको भन्दै यसबाट चलचित्र क्षेत्रलाई मुक्त गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।