बाँकेका ८ वटै पालिका डुवानमा, औपचारिकता निभाउँदै विपद् व्यवस्थापन समिति


बाँकेका ८ वटै पालिका डुवानमा, औपचारिकता निभाउँदै विपद् व्यवस्थापन समिति

डुवानका कारण नरैनापुर गाउँपालिकामा भत्केको घर ।

नेपालगन्ज २२ असोज : अविरल वर्षाका कारण बाँकेको ८ वटै पालिका बाढी र डुवानबाट प्रभावित भएकोछ । बाँकेको ८ वटै पालिकामा डुवान र बाढीले २ सय बढि घर भत्केकाछन् भने ७ सय बढि घरपरिवारका कम्तीमा ३ हजार ६ सय जना विस्थापित भएका छन् । सबैभन्दा बढि राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिका प्रभावित बनेकाछन् ।

राप्ती नदीमा आएको बाढी गएराति(शुक्रबार) राप्तीसोनारी गाउँपालिका २ मा पर्ने टिकुलीपुर बस्तीमा पस्दा ३ सय ५० घरधुरी विस्थापित भएकाछन् । त्यहाँका करिब ३ हजार मानिस विस्थापित भएका छन् ।

बाढीले नदी तटीय क्षेत्रमा व्यापक कटान गरेको प्रहरीले जनाएको छ । सुरक्षाकर्मीहरूले बाढीको चपेटामा परेका एक सय भन्दा बढी बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा राखेको बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले जानकारी दिए । नदीमा आएको बाढी अहिले पनि खतराको सतह भन्दा माथि बगिरहेको छ ।

यस्तै डुडुवा गाउँपालिकाको कृषि चौफेरिका २ सय ५० जना विस्थापित भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ र २० का ४ सय भन्दा बढी बासिन्दा पनि डुबानबाट विस्थापित भएका प्रहरीले जनाएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

बाढीले नरैनापुरका २ सय घर भत्केका छन् । त्यहाँका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी जमेकाले बस्न र खाना पकाउन नसक्ने अवस्था रहेको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले बताए ।

नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहा लगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् ।

राप्ती नदीको बाढीले बाँकेको कुसुमस्थित खोकरी गाउँका करिव १० वटा घर डुबान गरेको छ । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने उक्त गाउँमा शुक्रवार दिउँसो नै बाढी पस्न सुरु गरेको थियो ।

बाढीले गाउँका करिव १० वटा घर डुबान गरेको स्थानीय युवा कृष्ण चौधरीले जानकारी दिए । बाढीले मानवीय क्षति भने नगरेको उनले बताए । राप्ती नदीको बहाव अझै बढिरहेकाले सबैलाई सतर्क रहन चौधरीले आग्रह गरेका छन ।

यता बाढी र डुवानले प्रभावित भएकाहरुका लागि जिल्ला विपद् व्यवस्थापनले आवश्यक पहल गरेको छैन । पछिल्लो ४ दिनदेखि परेको अविरल वर्षाका कारण बाँकेमा कति घरधुरी प्रभावित भएको र कतिजना विस्थापित हुन पुगेको एकिन तथ्यांक समेत जिल्ला विपद् व्यवस्थापन समितिसंगै छैन ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बाढी र डुवानबाट प्रभावितहरुको तत्काल उद्दार, राहत तथा सुरक्षित आश्रयका लागि कुनै पनि पहल नगरेको डुवान प्रभावितहरुको गुनासो रहेकोछ ।

बाँकेको नरैनापुर गाउँपालिकाका अजय श्रीवास्तवले सेतोखरीसंग भने–‘राप्ती नदीको भंगालो गाउँमा पसेर घर डुब्यो, दुई दिनदेखि खान समेत पाइएको छैन ।’ उनले अगाडी थपे–‘हामीलाई खानका लागि केही पनि उपलब्ध गराइएको छैन, पीउने पानीको त्यस्तै समस्या छ । शौचालय अभावको सकस भनि साध्य छैन ।’

समितिको शनिबार बसेको बैठकले विभिन्न ११ बुँदामा निर्णय गर्दै औपचारिकता मात्र पुरा गरेकोछ । समितिको उक्त बैठकमा बाँकेका ८ वटै पालिका प्रमुख, सुरक्षाकर्मी तथा सम्बद्ध सरोकारवालाको उपस्थिती रहेको थियो ।

बैठकले बाढी प्रभावतिको तथ्यांक संकलन गर्ने, तत्कालका लागि सुख्खा खाना उपलब्ध गराउन सम्बन्धित पालिकालाई ब्यवस्थापन गर्न लगाउने र राहत उपलब्ध गराउन राष्ट्रिय, अन्तराष्ट्रिय संस्था, प्रदेश सरकार र विभिन्न सहयोगी दातृ निकायलाई आग्रह गर्ने निर्णय गरेको समितिद्वारा जारी बैठकको निर्णयमा उल्लेखछ ।