बाँकेमा कसले कहाँ उम्मेदवारी दर्ता गराए


बाँकेमा कसले कहाँ उम्मेदवारी दर्ता गराए

नेपालगन्ज २३ असोज : प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले देशभर उम्मेदवार मनोनयन दाखिला गर्ने समय तालिका अनुसार बाँकेमा पनि दलहरु र स्वतन्त्रले भारी वर्षा र डुवानकाबीच उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकेमा यसपालीको निर्वाचनमा भाग लिन नयाँ पार्टीका रुपमा नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी पनि थपिएका छन् । त्यस्तै स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ । प्रतिनिधिसभा ३ र प्रदेश सभा ६ निर्वाचन क्षेत्र रहेको बाँकेमा क्षेत्र नम्बर–१ को अगैयामा, क्षेत्र नम्बर–२ को नेपालगन्जको पशु तालिम केन्द्र र क्षेत्र नम्बर–३ को कपास विकास समिति खजुरामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर उम्मेदवारी दर्ताको काम अगाडि बढाइएको थियो ।

बाँकेमा संघीय मन्त्री दुईजनाले फरक–फरक निर्वाचन क्षेत्र र प्रदेश मन्त्रीले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर–१ मा काँग्रेस माओवादी गठबन्धनबाट माओवादी नेता तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’, क्षेत्र नम्बर–२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राई र सोही क्षेत्रको ‘ख’ मा लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्रबहादुर हमालले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेश सभा–१ (क) मा लुम्बिनी प्रदेश सभाका निवर्तमान सदस्य समेत रहेकी माओवादी केन्द्रकी कृष्णा केसी ‘नमुना’ र प्रदेश सभा–१ (ख) मा नेपाली काँग्रेसका फुलाराम थारुले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आईपी खरेलले बाँके क्षेत्र नम्बर–३ ‘क’ बाट उम्मेदवार दर्ता गराएका छन् । उनीहरु दुबै काँग्रेस माओवादी गठबन्धनबाट पुरानै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका हुन् भने विजयबहादुर यादवले भने एमालेबाट क्षेत्र नम्बर–२ ‘क’ बाट उम्मेदवारी दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा एमाले राप्रपा गठबन्धनबाट राप्रपा महामन्त्री डाक्टर धवलशम्शेर राणा, क्षेत्र नम्बर–३ बाट नेपाली काँग्रेस माओवादी गठबन्धनबाट किशोरसिंह राठौरले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँके निर्वाचन क्षेत्र–१ बाट एमालेबाट केन्द्रिय सदस्य समेत रहेका सूर्य ढकाल, नेपाली काँग्रेस विपीका तर्फबाट कुन्ति शर्मा, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी बाँकेको क्षेत्र नम्बर–२ मा प्रतिनिधी सभा र प्रदेश सभाका लागि अहिलेसम्म करिव ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, स्वतन्त्र लगायतले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधी सभातर्फ भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राई, राप्रपाका महामन्त्री एवम् नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डाक्टर धवलसम्शेर राणा, नेपाली काँग्रेसका नेता सुदीपनरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरी लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार राणाले दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दर्ता गराएका थिए । उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको सर्मथन छ । सत्तारुढ गठबन्धन मन्त्री राईले जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्तारुढ दलसँग गठबन्धन तोडेपछि जसपा उक्त क्षेत्रमा एक्लै चुनाव लड्न लागेको हो । यस्तै राप्रपाका महामन्त्री डाक्टर राणा नेकपा एमालेको समर्थनमा चुनाव लड्न लागेका छन् । खनाललाई शिवसेना लगायत हिन्दुवादी संघ, संगठनको साथ र समर्थन रहेको छ ।

यसैगरी प्रदेश सभा–२ (क) मा नेपाली काँग्रेसका राजकुमार बर्मा, नेकपा एमालेका विजय यादव, जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल यादव, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा–२ (ख) मा नेपाली काँग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका वन मन्त्री सुरेन्द्रबहादुर हमाल, नेकपा एमालेका निरक गुरुङ, जनता समाजवादी पार्टीबाट आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम, स्वतन्त्र उम्मेदवार डाक्टर विनोद कर्ण लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत धनसिंह महराले आईतबार बेलुका साढे ६ बजेसम्म प्रतिनिधी सभा र प्रदेश सभा गरी ३५ जनाले उम्मेदवारी दर्ता गराइसकेको बताए । ‘उम्मेदवारी दर्ता गर्ने समय बेलुका ५ बजेसम्म थियो, तर अन्तिम समयमा धेरै जना उम्मेदवार आएकाले दर्ता गर्ने क्रम लम्बिएको हो,’ उनले भने ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर–३ मा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौरले उम्मेदवारी दर्ता गराए । मौसम प्रतिकुलताका कारण समयमा पुग्न नसकेपछि उनले निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत लोकबहादुर रावलले जानकारी दिए ।

उम्मेदवारी दर्ता गराइसकेपछि नेता राठौर आईतबार बेलुका बाँके आइपुगेका छन् । बाँके आइपुगे लगत्तै उनी पितृ शोकमा रहेका जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँको घरमा समवेदना ब्यक्त गर्न पुगेका थिए । सोही क्षेत्रमा नेकपा एमालेका तर्फबाट किस्मतकुमार कक्षपति, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट रविन्द्रमान श्रेष्ठ, जसपाका नोयन्द्र धिताल लगायतले पनि उम्मेदवारी दर्ता गराए ।

यस्तै प्रदेश सभा ३(१) मा नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल, नेकपा एमालेका रत्न खत्री, नागरिक उन्मुक्ती पार्टीबाट चन्तराम थारु, जसपाबाट गयासुद्धिन खान, स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश सभा ३(२)बाट नेपाली काँग्रेसका बादशाह कुर्मी, नेकपा एमालेका भिमबहादुर ओली, जसपाका विजयकुमार पाठक, नागरिक उन्मुक्ती पार्टीबाट जाकिर हुसेन लगायतले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा पनि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ, भने सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ ।

बाँकेमा कतै गठबन्धन देखिएको छ भने कतै गठबन्धन दलका नेताहरुले एक्लाएक्लै उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादी केन्द्रले कतै संयुक्त उम्मेदवारी दिएका छन् भने कतै आफ्नो पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले र राप्रपाले भने संयुक्तरुपामा उम्मेदवारी दिएका छन् । केन्द्रमा भएको तालमेल भन्दा बाहिर गएर बाँकेमा जनता समाजवादी एक्लै निर्वाचनमा होमिएको छ । सो पार्टीले बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार खडा गरेको छ ।

अविरल वर्षाका कारण उम्मेदवारी दर्ता कार्यक्रम केही समयसम्म प्रभावित बनेको थियो । उम्मेदवारहरु ढिलो पुगेका कारण राती अबेरसम्म मनोनयन दर्ता प्रक्रिया चलेको छ ।