को हुन् धन्वन्तरी ?


को हुन् धन्वन्तरी ?

नेपालगन्ज ५ कार्तिक : नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिका अर्थात तिहारको चहलपहलले यतिबेला सबैलाई छोएकोछ । विधिवतरुपमा भोली आईतबारदेखि तिहार सुरु हुनेछ । तिहार सुरु हुनु अगावै मनाइने धन्वन्तरी आज धुमधामका साथ मनाइदैछ ।

धार्मिक, साँस्कृतिक, आयुर्वेदका रुपमा धन्वन्तरीलाई विशेषरुपमा लिइने गरिन्छ । धन्वन्तरी हिन्दु धर्ममा देवताका वैद्य मानिन्छन् । उनी महान डाक्टर थिए, जसलाई देवपद प्राप्त भएको थियो ।

हिन्दु धार्मिक मान्यताका अनुसार धन्वन्तरीलाई भगवान विष्णुको अवतार मानिन्छ । धार्मिक मान्यता अनुसार पृथ्वी लोकमा धन्वन्तरीको अवतरण समुद्र मन्थनको समयमा भएको थियो ।

शरद पूर्णिमामा चन्द्रमा, कार्तिक द्वादशीमा कामधेनु गाई, त्रयोदशीमा धन्वन्तरी, चतुर्दशीमा कालीमाता र औंशीका दिन भगवती लक्ष्मीको समुद्रबाट प्रादुर्भाव भएको थियो । दीपावलीको दुई दिनपूर्व धनतेरसमा भगवान धन्वन्तरीको जन्म भएकाले यस दिनलाई धनतेरसको रुपमा पनि मनाइन्छ । यही दिन आयुर्वेदको पनि प्रादुर्भाव भएको थियो । धन्वन्तरीका चार हात छन् । माथिको दुवै हातमा शंख र चक्र धारण गरेका छन्, भने अन्य दुईमध्ये एक हातमा जलुका र औषधि तथा अर्को हातमा अमृत कलश लिएका छन् । धन्वन्तरीको प्रिय धातु पित्तल मानिन्छ। यहीकारण धनतेरसका दिन पित्तलको भाँडा किन्ने चलन छ । धन्वन्तरीलाई आरोग्यका देवता पनि भनिन्छ ।

Kids Festival 2022
kanti aarogya hospital

उनले अमृतमय औषधिको खोजी गरेका थिए । उनको वंशमा दिवोदास जन्मिए, जसले शल्य चिकित्साको पहिलो विश्वविद्यालयय काशीमा स्थापना गरे । उक्त विश्वविद्यालयका पहिलो प्रधानाचार्य सुश्रुत बनाइएका थिए । सुश्रुत दिवोदासका शिष्य र ऋषि विश्वामित्रका पुत्र थिए । उनले नै सुश्रुत संहिता लेखे । सुश्रुत विश्वकै पहिलो शल्यचिकित्सक मानिन्छन् । भगवान शंकरले विषमान गरे र धन्वन्तरीले अमृत दिएको विश्वास गरिन्छ ।

आयुर्वेदको इतिहास पुरातत्वविद्का अनुसार आयुर्वेदको रचना इशापूर्व ३ हजारदेखि ५० हजार वर्षमा भएको हो । सबैभन्दा पहिला ब्रम्हाबाट प्रजापतिले, प्रजापतिबाट अश्विनीकुमारले, अश्विनीकुमारबाट इन्द्रले र इन्द्रबाट भारद्वाजले आयुर्वेदको अध्ययन गरे ।

च्यवन ऋषि र अश्विनीकुमार समकालिक मानिन्छन् । आयुर्वेदको विकासमा च्यवन ऋषिको अति महत्वपूर्ण योगदान छ । त्यसपछि भारद्वाजले आयुर्वेदको प्रभावबाट दीर्घजीवन प्राप्त गरे र अन्य ऋषिमाझ प्रचार गरे । त्यसपछि पुनर्वसु आत्रेयले अग्निवेश, भेल, जतू, पाराशर, हारीत र क्षारपाणीनामक ६ शिष्यलाई आयुर्वेदका उपदेश दिए । ती ६ शिष्यमध्ये सबैभन्दा बढी बुद्धिमान अग्निवेशले सर्वप्रथम एक संहिताको निर्माण गरे, अग्निवेशतन्त्र । जसलाई पछि चरकले ‘चरक संहिता’ नाम राखे, यही नै आयुर्वेदको आधारस्तम्भ मानिन्छ ।

सुश्रुतका अनुसार महर्षीहरुकासाथ सुश्रुत भगवान धन्वन्तरीकहाँ आयुर्वेद अध्ययन गर्न गए । धन्वन्तरिले उनीहरुलाई उपदेश दिदैं भने, ‘ब्रह्माले सृष्टि सिर्जना गर्नुपूर्व नै अथर्ववेदको उपवेदम मानिएको आयुर्वेदको सहस्र अध्याय–शत सहस्र श्लोक प्रकाशित गरे । फेरि मानिसलाई अल्पमेधावी ठानेर आठ भागमा विभाजन गरे । यसरी धन्वन्तरीले आयुर्वेदको प्रकाशन ब्रम्हद्वारा प्रतिपादित भएको मानेका छन् ।

ब्रम्हाबाट दक्षप्रजापति, उनीबाट अश्विनीकुमारद्वय तथा अश्विनीकुमारबाट इन्द्रले आयुर्वेदको अध्ययन गरेका हुन् । चरक संहिता तथा सुश्रुत संहितामा वर्णित इतिहास एवम् आयुर्वेदनको अवतरणका क्रममा क्रमशः आत्रेय सम्प्रदाय तथा धन्वन्तर सम्प्रदाय मान्य छ ।

आयुर्वेदका आचार्यका अनुसार शरीर, इन्द्रीय, मन तथा आत्माको संयोगलाई आयु भनिन्छ । यो चार प्रकारको हुन्छ ।

सुखायु : कुनै पनि प्रकारको शारीरिक या मानसिक विकासबाट वञ्चित भएपनि ज्ञान, विज्ञान, बल, पौरुष, यश, परिजनआदिबाट समृद्ध व्यक्तिलाई सुखायु भनिन्छ ।
दुखायु : सबै साधनसम्पन्न भएपनि शारीरिक या मानसिक रोगबाट पीडित अथवा निरोग भएपनि साधनहीन या स्वास्थ्य तथा साधन दुवैबाट हीन व्यक्तिलाई दुखायु भनिन्छ ।
हितायु : व्यक्तिगत रुपमा केही कमी भएपनि जो व्यक्ति विवेक, सदाचार, सुशीलता, उदारता, सत्य, अहिंसा, शान्ति, परोपकार आदि गुणयुक्त छ र समाज तथा लोककल्याणमा व्यस्त रहन्छ भने उसलाई हितायु भनिन्छ ।
अहितायु : जो व्यक्ति अविवेक, दुराचार, क्रुरता, स्वार्थ, दम्भ, अत्याचार आदि दुर्गुणबाट युक्त तथा समाज तथा लोकका लागि अभिशाप हुन्छ भने उसलाई अहितायु भनिन्छ ।
वेद शब्दको सत्ता, लाभ, गति, विचार, प्राप्ति र ज्ञानको साधनको यो अर्थ हुन्छ र आयुको वेदलाई आयुर्वेद भनिन्छ । अर्थात्, जुन शास्त्रमा आयुको स्वरुप, आयुको विविध भेद, आयुका लागि हितकारक र अप्रमाण शरीर, इन्द्रीय, मन, आत्मा, तिनमा सबै या कुनै एकको विकासका साथ हित, सुख र दीर्घायुको प्राप्तिको साधन तथा यसको बाधक विषयको निराकरणको उपायको विवेचना भएको छ भने त्यसलाई आयुर्वेद भनिन्छ ।

कसरी काम गर्छ आयुर्वेदले ?

आयुर्वेद बम्हाण्ड (मानव शरीर) सहित पाँच महान तत्व– पृथ्वी, जल, अग्नी, वायु तथा आकाशमा आधारित छ । यी तत्व या शक्तिको मानिसले तीन दोषमार्फत् प्रतिनिधित्व गरिरहेको छ:

वात : वात हावा र आकाश तत्वसंग संबन्धित छ । यो शारीरिक गतिसंग संबन्धित छ । जस्तै, श्वास, रक्तसञ्चार, मुटुको धड्कन आदि ।
पित्त: पित्त पानीसंगसंबन्धित छ । यो उर्जाले शरीरको तापमान, पाचन, अवशोषणसहित पाचनप्रणाली तथा पोषण नियन्त्रित गर्छ ।
कफ: कफ पानी र पृथ्वी तत्वसंग संबन्धित छ । यो विकास तथा सुरक्षाका लागि जिम्मेवार उर्जा मानिन्छ । यसले शरीरको सबै भागमा पानीको आपूर्ति, छालाको मोस्चराइज र प्रतिरक्षा प्रणालीलाई कायम राख्छ ।
उद्देश्य: आयुर्वेदको उद्देश्य हो– स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गर्नु । यसका लागि शरीर प्रकृतिको अनुकुल देश, काल आदिको विचार गर्नु नियमित आहार–बिहार, चेष्टा, व्यायाम, शौच, स्नान, शयन, जागरण आदि पर्छन् ।

यस्तै, प्रत्येक कार्य विवेकपूर्वक गर्नु, मन तथा इन्द्रियलाई नियन्त्रित राख्नु, देश, काल आदि परिस्थितिको अनुसार आफ्नो–आफ्नो शरीर आदिको शक्ति र अशक्तिको विचार गरी कुनै कार्य गर्नु, मलमूत्र आदि उपस्थित वेगलाई नरोक्नु, इष्र्या, द्वेष, लोभ,अहंकार आदिबाट बच्नु पनि आयुर्वेदको उद्देश्यभित्र पर्छ ।

आयुर्वेदको अर्को उद्देश्य हो, रोगी व्यक्तिको रोग भगाएर उसलाई स्वस्थ बनाउनु । यसका लागि प्रत्येक रोगको कारण, लिंग–रोग परिचायक विषयजस्तै, पूर्वरुप, सम्प्राप्ति (प्याथाजेनिसिस) तथा उपशयानुपशय (थिराप्युटिकटेस्ट्स) औषधिको ज्ञान आवश्यक छ । यी तीन कुरालाई आयुर्वेदको त्रिस्कन्ध (तीन प्रमुख शाखा) मानिन्छ ।

थप समाचार

यमपञ्चक सुरूः धनतेरस आज, काग तिहार भोलि