आईतबार, चैत १२, २०७९   ०५:०९:३८

द्वन्द्वपीडित भन्छन् : भोट माग्न आएका उम्मेदवारले हाम्रा समस्या समाधान गरिदेलान भन्ने आशै छैन


सेतोखरी   2079-07-23

पुष्कर काफ्ले

गेरुवा(बर्दिया) २३ कार्तिक : प्रतिनिधी सभा र प्रदेश सभा सदस्यका उम्मेदबारहरु भोट माग्न आउने क्रम बढ्दै गए पनि द्वन्द्व पीडित परिवारमा भने चुनाव प्रति कुनै उत्साह छैन । ६० दिनमा बेपत्ताहरुको अवस्था सार्वजनिक गर्छाैं भन्ने लिखित प्रतिबद्धता गरेको १५ वर्षसम्म बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्न नसकेका पार्टी र नेताहरुप्रति द्वन्द्व पीडितहरुको विश्वास हराउँदै गएको छ ।

द्वन्द्वका बेला अङ्गभङ्ग तथा अपाङ्गता बन्न विवस घाईतेहरुले राम्रोसँग औषधी उपचारसम्म पाउन सकेका छैनन । सरकार र तात्कालिन बिद्रोही पार्टी माओबादीको बेवास्ताका कारण मानसिक पीडा र तनाबमा रहेका द्वन्द्व पीडितहरुमा चुनाबी मैदानमा उत्रिएर भोट माग्दै हिँडेका उम्मेदवारले आफुहरुको पीडामा मलम लगाउन सक्छन भन्ने विश्वास नै छैन ।

बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर–५ सुखाडका ७७ वर्षीय गोपाल थारुलाई बेपत्ता पारिएका आफ्ना दुई छोराहरुको अवस्था चुनावी मैदानमा उत्रिएका उम्मेदवार र पार्टीका नेताहरुले पत्ता लगाई देलान भन्ने आशा नै छैन । २१ वर्षदेखि बेपत्ता पारिएकाहरु गणेश र जनकको बाटो कुर्दाकुर्दै उनको अवस्था अस्ताउन लागेको घाम जस्तै भएको छ । थारु भन्छन् –‘छोराहरु फर्कने आशामा कुर्दा कुर्दै मेरी श्रीमति भरथरनिया थरुनीको २०७० सालमा मृत्यु भयो । म पनि श्रीमति जस्तै छोराको न लाश न सास केही देख्न नपाई मर्ने त होला नि ।’

यस्तो अवपस्थामा मेरो घरमा उम्मेदवारहरु के भन्न आउलान जस्तो लागेको छ । तर, लाजै नमानेर उम्मेदवारहरु भोट माग्न आएर पुरानै आश्वासन दो¥होराई रहेका छन् । तर, नेताहरुको कुराहरुमा मलाई कति बिश्वास छैन । ६ महिनामा गर्छु भनेको काम १५ वर्षसम्म नगर्नेहरुलाई के आधारमा बिश्वास गर्ने ।

२१ वर्ष अघिको घटना गोपाल थारुको आँखामा अझै झल्झली रहेको छ । २०५८ साल फागुन २३ गते बिहान ५ बजेतिर ठाकुरद्वारा ब्यारेकबाट आएको करिब २ सय जनाको समुहमा रहेको तत्कालीन शाही नेपाली सेनाले उनको जेठो छोरा गणेशलाई सुतिरहेको अवस्थामा विस्ताराबाट र कान्छो छोरा जनकलाई कोठमा गाईबस्तुको लागि घाँस काटिरहको अवस्थामा सेनाले पक्राउ गरेर लगेको थियो ।

फागुन २५ गते रेडियो नेपालबाट विहान ९ बजेको समाचारमा बर्दियाको सुखाड गाउँमा सुरक्षाकर्मी र आतंककारीको दोहोरो भिडन्तमा आतंककारी मारियो भनेर प्रशारण गरेको गोपालले बताए ।

घटनापछि परिवार सदरमुकाम गुलरिया ब्यारेकमा आफ्नो परिवारको अवस्थाबारे बुझ्न जाँदा गेट भित्रै छिर्न दिएनन । गेटमा रहेका सेनाले हाम्रो कुरा सुन्नसम्म चाहेनन् । सेनाको ब्यारेकबाट निराश भएर फर्किएका गोपालले मानवअधिकारकर्मी, राजनैतिक दललाई पनि गुहारे तर, छोराहरुको अबस्था पत्तो लागेन । अन्तिम संस्कार (काजक्रिया) नगरेकोले समाजमा हुने विभिन्न सामाजिक, साँस्कृतिक कार्यक्रमहरुमा अझै पनि उनको परिवारलाई सामेल हुन समस्या परि रहेको छ ।

शान्ति प्रक्रिया सुरु भएपछि छोराहरु अवस्था पत्ता लाग्ला भन्ने आशा पलायो । विभिन्न संघ÷संस्थाहरुको पहलमा जिल्ला प्रशासन कार्यालय बर्दियामा न्यायको लागि हारगुहार ग¥र्यांै । नेपाल सरकारले द्वन्द्वकालमा हत्या तथा बेपत्ता भएका परिवारलाई प्रदान गर्ने १० लाख रुपैया आर्थिक सहयोग बाहेक अन्य कुनै पनि किसिमको सहयोग नपएको गुनासो गोपालको छ ।

‘हाम्रो छोरालाई बेपत्ता पार्नेहरुलाई कारबाही नगरी हामीलाई दश लाख दिएर थामथुम पार्न खोज्ने नेताहरुको चाला देखेर दिक्क लाग्छ । हाम्रो छोराहरु बेपत्ता भएकोमा हामी जति चिन्तामा छौ त्यो भन्दा बढी चिन्ता यो देशमा न्याय हराउँदै गएकोमा चिन्ता छ । तर, सबै पार्टी र नेताहरु आफ्नै स्वार्थमा केन्द्रित छन् । जुन जोगी आए पनि कानै चिरेका भने झै मलाई कुनै पार्टी र नेताप्रति बिश्वास नै छैन । म त न्याय नपाएरै मर्ने भए मेरा नाती नातीनाहरुहरुले पनि न्याय पाउदैनन कि भन्ने चिन्ता छ’ गोपालले सुनाए ।

उनी भन्छन् –‘आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न हामी सिधासाधा मेहनत गरेर खाने जनतालाई नेताहरु प्रयोग गरे । ती नै नेताहरुहरु दुई दशकदेखि सत्ता र शक्तिमा छन् । झन्–झन् धनी हुँदै गएका छन् । उनका सन्तानहरुले मोजमस्ती गरि रहेका छन् । तर, हामीहरु निरन्तर गरिब हुदैँ गएका छौँ । त्यसमाथि आफन्त बेपत्ता हुँदाको पीडा त छदैँछ । हाम्रा छोराहरुलाई बेपत्ता पारिएको घटनाको छानबिन गरेर दोषिलाई हदैसम्मको सजाय भई दिए हुन्थ्यो भन्ने चाहाना छ ।’

गोपाल त एउटा प्रतिनिधी पात्र मात्र हुन् । शसस्त्र द्वन्द्वको क्रममा बेपत्ता परिवारको पीडा जस्तै घाईतेहरुको पीडा पनि कम छैन । गेरुवा गाउँपालिका वडा नम्बर–१ बिहानी बजार निवासी सेतीकला थारु तत्कालीन समाजमा व्याप्त रहेको अन्याय, अत्याचार, शोषण, दमन लगायत सामाजिक परिस्थितिलाई परिवर्तन गरि एक न्यायपूर्ण समाज तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादीले सञ्चालन गरेको जनयुद्धबाट मात्र प्राप्त गर्न सकिन्छ भनेर २०५९ साल श्रावण २९ गतेदेखि जनयुद्धमा होमिएका थिइन् । भूमिगत कालमै पार्टीले दिएका विभिन्न जिम्मेवारीहरुलाई एक महिला भएर पनि कुशलतापूर्वक निर्वाह गरिन् ।

कालिकोट जिल्लाको पिली, बर्दिया जिल्लाको गणेशपुर, बर्दियाकै रम्भापुर र कैलाली लगायतका विभिन्न जिल्लाहरुका युद्धहरुमा आफु अग्रपंक्तिमा रहि लडिन् । कैलाली जिल्लाको साविक उर्मा गाविस घोरही भन्ने गाउँको एक घरमा बसी आगामी योजनाहरु बनाउने क्रममा २०६० पुष ३ गते साथीहरुले राखेको बम विस्फोटन हुँदा उनी लगायत उनीहरुसँगै रहेका साथीहरु कोही पूर्ण रुपमा कोही आंशिक रुपमा घाईते भए ।

सो घटनाबाट सेतीकलाको शरीरका विभिन्न ठाउँहरुमा ७ वटा बमका छर्राहरु लागे र शरीरका अन्य भाग जलेर शारीरिक रुपमा अशक्त भइन् । एउटा हातका ३ वटा औला अर्को हातको एउटा औँला गुमे । शारीरिक रुपमा कमजोर र आर्थिक अवस्था कमजोर रहेका कारण सेतीकलाले नियमित रुपमा औषधी खान र थप उपचार गराउनसम्म सकेकी छैनन । देशमा शान्तिप्रक्रियापछि साताँै डिभिजन अन्र्तगत क्यान्टनमेन्टमा रही केही समय विताएपछि बर्हिगमित भई घर फर्केकी सेतिकलाले सामान्य आर्थिक सहयोग बाहेक पार्टी र सरकारबाट कुनै सहयोग पाएकी छैनिन् ।

सेतिकला भन्छिन्–‘ठुलो वलिदानी स्वरुप देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना, संविधानसभा मार्फत नयाँ संविधानको निर्माण लगायतका कार्यहरु सफल भए तर, आफु जस्तै गरिब र बिपन्न जनताको जीवनमा कुनै पनि सुधार आएको छैन ।’

‘द्वन्दकालमा घाइते भएकाहरुको परिवारको लालनपालन र उनीहरुका सन्तानको शिक्षादिक्षामा सरकारले सहयोग गरि रोजगारीको ब्यबस्था मिलाई दिनु पर्ने दात्यिब माओबादी पार्टी र सरकारको हो तर, माहोबादी र सरकार दुबैबाट हामी घाईते, अपाङ्ग, सहिद परिवार तथा बेपत्ता परिवारका सदस्यहरु उपेक्षित भएका छौ’ सेतिकलाले भनिन् ।

सेतिकला पनि चुनाबका बेला भोट माग्न आउने उम्मेदवारले आफु र आफु जस्तै पीडामा रहेकाहरुको समस्या समाधान गरि देलान भन्ने बिश्वास हराउँदै गएको छ । उनी भन्छिन्–‘धेरै आशा त छैन तै पनि नयाँ उम्मेदबारले जिते भने केहि गरि हाल्छन् कि ।’

शहीद तथा बेपत्ता परिवार समाज गेरुवा गाउँपालिकाकी सचिव जानकी कुमारी थारु भन्छिन्–‘पछिल्लो समय सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका र हत्या गरिएको परिवारलाई न्याय दिन गठन भएका सत्य निरूपण तथा मेल मिलाप आयोग र बेपत्ता खोजबिन आयोग निष्क्रिय हुँदा पीडितहरू झनै निराश बनेका छन् ।’ उनले अगाडी थपिन्–‘बेपत्ताको अवस्था सार्वजनिक गरेर पीडकमाथि कारबाहीको प्रकृया सुरु गर्न चुनाबमा भोट माग्न आएका नेताहरुले पहल गर्नुपर्छ ।’

गेरुवा गाउँपालिकामा शसस्त्र द्वन्द्वको क्रममा ३२ जना बेपत्ता भएका छन्, भने ५३ जनाले ज्यान गुमाएको नेकपा माओवादी केन्द्र गेरुवाका अध्यक्ष दशीराम थारुले बताए ।