यी हुन् निर्वाचनमा हारेका मन्त्रीहरु, जसले राजीनामा दिएनन्


यी हुन् निर्वाचनमा हारेका मन्त्रीहरु, जसले राजीनामा दिएनन्

नेपालगन्ज १० मंसिर : प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुग्दैछ । मतगणनाको अन्तिम चरणमा पुग्दै गर्दा थुप्रै चिरपरिचित अनुहार मात्र नभएर हेविवेट उम्मेदवार समेतले फराकिलो मतान्तरमा हार ब्यहोर्नु परेकोछ ।

यसपटकको आम निर्वाचनबाट नयाँ तथा युवा अनुहारले राम्रो मतान्तमार निर्वाचित हुने अवसर पाएकाछन् । तर, निर्वाचनमा केही बहालवाला मन्त्रीहरुले लज्जास्पद हार ब्यहोर्नु परेकोछ ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ बाँके क्षेत्र नम्बर–१ बाट एमालेका सूर्य ढकालसँग पराजित भए । ७ मंसिरमा सो क्षेत्रको निर्वाचन परिणाम आउँदा पराजित हुने उनी पहिलो मन्त्री थिए ।

त्यसको भोलिपल्टै ८ मंसिरमा उर्जामन्त्री पम्फा भुसाल राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीसँग ललितपुर–३ मा पराजित भइन् ।

Kids Festival 2022
kanti aarogya hospital

राष्ट्रिय स्वतन्त्र पार्टीकै विराजभक्त श्रेष्ठसँग पर्यटनमन्त्री जीवनराम श्रेष्ठ पनि त्यसैदिन काठमाडौँ–८ मा पराजित भए ।

अर्काेदिन अर्थात् ९ मंसिरमा खानेपानीमन्त्री उमाकान्त चौधरी पनि बारा–१ बाट पराजित भए ।

चौधरीपछि पराजित हुने पालो रह्यो– गृहमन्त्री बालकृष्ण खाणको । शनिबार मात्र उनी राप्रपा नेता दीपक बोहोरासँग रुपन्देही–३ मा पराजित भइसकेका छन् ।

निर्वाचनमा पराजित भएपछि तत्काल पदबाट राजीनामा दिनु सामान्य राजनीतिक नैतिकताभित्र पर्ने कुरा हो ।

अथक पराजित भएको ४ दिन बितिसकेको छ भने भुसाल र श्रेष्ठले उस्तै परिणाम भोगेको ३ दिन भइसकेको छ । पराजित मन्त्रीले व्यक्तिगत रुपमा पनि राजीनामाको निर्णय लिन सक्छन् । पराजित भइसकेकाले उनीहरु लामो समय मन्त्री पदमा रहन नसक्ने हुँदा यसका लागि पार्टीको स्वीकृति लिइरहनु पनि पर्दैन ।

तर, पराजित भएको ३–४ दिन बितिसक्दा पनि कुनै मन्त्रीले नैतिक आधारमा राजीनामा दिनु आवश्यक सम्झेका छैनन् ।

कुनै मन्त्री पराजित हुनु भनेको उनीहरुको कामबाट जनता सन्तुष्ट रहेनछन् भन्ने कुराको सन्देश हो । निर्वाचनमार्फत् जनताले प्रष्ट सन्देश दिँदापनि मन्त्रीहरुले राजीनामाको नैतिक दायित्व सम्झेका छैनन् ।