द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउने कोहलपुरका जनप्रतिनिधिको प्रतिवद्धता


द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउने कोहलपुरका जनप्रतिनिधिको प्रतिवद्धता

नेपालगन्ज १५ मंसिर : कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुले द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन् ।

लैगिक हिंसा बिरुद्धको १६ दिने अभियानका सन्दर्भमा कोहलपुरको ९ नम्बर वडा कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरुले वडा स्तरसम्म पीडित लक्षित कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका हुन् ।

कोहलपुर नगरपालिका ९, १४, १५ नम्बर वडा अध्यक्षहरु क्रमश ओपेन्द्रनाथ योगी, नमबहादुर आले र दीपेन्द्र कुमार चौधरीले द्वन्द्व पीडितकै योगदानबाट देशमा ब्यवस्था परिवर्तन भए पनि उनीहरुको अवस्था परिवर्तन हुन नसकेको उल्लेख गर्दै द्वन्द्व पीडितको बलिदानीको कदर गर्ने खालका कार्यक्रम ल्याउन आफुहरुले पहल गर्ने बताएका थिए ।

कोहलपुर नगरपालिका, वडा नम्बर– ७, ८, ९, १४ र १५ मा एडभोकेसी फोरम नेपाल, टिपिओ नेपाल, द्वन्ण्द्व पीडित महिला राष्ट्रिय सञ्जाल कोहलपुरको संयुक्त आयोजनामा भएको द्वन्द्व पीडित, अधिकारकर्मी र जनप्रतिनिधि बिचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वडाप्रतिनिधिले पालिका देखि वडा स्तरसम्म द्वन्द्व पीडित लक्षित कार्यक्रम ल्याउन पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

आगामी नगर कार्यपालिका बैठकमा द्वन्द्व पीडितको सवाल उठाउने वडा नम्बर १५ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले प्रतिवद्धता जनाए । द्वन्द्व पीडितका गुनासा सुनेपछि उनले भने–‘आगामी दिनमा वडा स्तरसम्म पीडित लक्षित कार्यक्रम ल्याउन म आफ्नो ठाउँबाट पहल गर्छु तपाईहरु पनि आफ्नो ठाउँ लागीरहनुस’ राज्यबाट पाउनु पर्ने सुबिधा । द्वन्द्व पीडितले पाउन नसकेको उल्लेख गर्दै वडा अध्यक्ष योगीले द्वन्द्वका अवशेष अझै बाँकी रहेकाले द्वन्द्व पीडितले राज्यबाट पाउनु पर्ने सुबिधा पाउनु पर्ने बताए ।

कोहलपुर नगरपालिकाका प्रवक्ता समेत रहेका १४ नम्बर वडा अध्यक्ष नमबहादुर आलेले द्वन्द्व पीडितको लागी स्थानीय तहमा नीति बन्न नसक्दा पीडित लक्षित कार्यक्रम ल्याउन नसकिएको भन्दै नीति बनाएर द्वन्द्व पीडितका सवाल सम्बोधनमा आफ्नो पहल रहने बताए ।

द्वन्द्व पीडितका लागी शिक्षा, स्वास्थ, रोजगार लगायतका सीपमुलम कार्यक्रमको औपचारिक माग भएमा जायज माग सम्बोधनमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए । जनप्रतिनिधिका हैसियतले आफुले पाउने सुबिधाबाट द्वन्द्व पीडित/असाहाय बालबच्चा पढाउन खर्चिने गरेको जानकारी गराउदै आलेले शिक्षा पछि स्वास्थ्यलाई आफुले प्राथमिकतामा राखेको जानकारी दिए ।

वडा नम्बर १५ का वडा अध्यक्ष दीपेन्द्र कुमार चौधरीले आफ्नो वडामा ठुलो सख्यामा द्वन्द्व पीडित रहे पनि यकिन तथ्याङ्क नभएको बताए । धेरै पीडितहरु भए पनि राहतको प्रक्रियामा जान नसकेको र गएकाले पनि पाउन नसकेको चौधरीले बताए ।

यातना पीडित दीपक यादवको क्षतिपुर्तिका लागी आफुले धेरै पटक जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा फोन गरेको भए पनि त्यसको सुनुवाई हुन नसकेको अध्यक्ष चौधरीले बताए ।

द्वन्द्व पीडित महिला राष्ट्रिय संजाल कोहलपुर समितिका अध्यक्ष तिलावती खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अलिबहादुर कार्की, कौशिला कार्की, कौशिला चौलागाई, तुलकुमारी राना, राम गोपाल तमोली, झुर्रा थारु लगायतका पीडितहरुले द्वन्द्व सकिएको वर्षौसम्म न्यायको प्रत्याभुति गर्न नसकेको भन्दै स्थानीय सरकारले आफुहरुको पीडा र सवाल सम्बोधन गरिनु पर्नेमा जोड दिए ।

सरकारले उचित ध्यान पु¥याउन नसक्दा द्वन्द्व पीडितहरु स्वास्थ्य, शिक्षा लगायत दैनिक जिवन गुजारा गर्नमा समस्या परेकोले पीडितको आवश्यकता अनुसार पीडित लक्षित कार्यक्रम ल्याउन पीडितहरुले आग्रह गरेका थिए ।

कार्यक्रममा एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतमले सत्य, न्याय र परिपुरण पाउने पीडितको अधिकार भएको बताउँदै स्थानीय सरकारले द्वन्द्व पीडितलाई लक्षित बर्ग मानी उनीहरुको आवश्यकता चाहाना र सन्तुष्टि मिल्ने खालका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए ।

एडभोकेसी फोरमले पीडितको न्यायको लागी द्वन्द्वको सुरुवाती अवस्था देखि नै संक्रमणकालिन न्यायको क्षेत्रमा कार्य गरेको उल्लेख गर्दै सरकार पीडितको न्यायमा संवेदनसिल बन्नु पर्ने गौतमले बताए । द्वन्द्वकालमा लैंगिक हिंशामा परेका पीडितले अन्तरिम राहत समेत नपाएको उल्लेख गर्दै गौतमले हिंशा पीडितको न्यायमा सबैको सहयोगी भुमिका रहनु पर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै टिपिओ नेपालका मनोसामाजिक परामर्शकर्ता कर्णराज रिमालले लैंगिक हिंशाले मनोसामाजिक समस्या पार्ने भएकाले यसको न्यूनिकरणका लागी सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्नु पर्ने बताए । टिपिओ नेपालले द्वन्द्व पीडितका लागी मनोसामाजिक परामर्श सेवा दिदै आएको रिमालले जानकारी गराए ।

मनोसामाजिक कार्यकर्ता तिलावति खड्का र सिमा चौधरीले द्वन्द्वका कारण मनसंगको समस्या भएका पीडितहरुले मनोसामाजिक परामर्श आवश्यक भएमा आफुहरु सेवा दिन तयार रहेका जानकारी गराएका थिए ।